थप समाचारशुक्रबार, बैशाख १८, २०७२
सपना अधुरै रह्यो
२० चैत बिहान झापाबाट काठमाडौंतर्फ लागेका रेवती गौली वैदेशिक रोजगारीको तयारीमा थिए ।
काठमाडौंस्थित म्यानपावर कम्पनीमा पासपोर्ट बुझाउन झापा शिवसतासीबाट काठमाडौं आएका ३८ वर्षीय रेवती गौलीको मोबाइलमा १२ वैशाख मध्यान्हपछि फोन लागेन ।
त्यतीबेलासम्म काठमाडौंमा समेत ध्वंस गर्ने भूकम्प गइसकेको थियो । विहान ८ बजेमात्रै बालाजुबाट फोन गरेका गौलीको फोन नलागेपछि परिवारमा चिन्ता बढ्न थाल्यो ।
…………………………..
पछिल्लो १४ वर्षमा रेवतीले पश्चिम एशियाली मुलुकमा काम गरेर विताए । केही वर्षको अन्तरमा घर आउने उनले विदेशबाट पठाउने रकमले यता घरको खर्च टथ्र्यो, परिवारले दुई छाक राम्रै खान पाउँथ्यो । पर्वको खाँचो टारिन्थ्यो । अब त छोरीहरु पनि हुर्कंदै थिए ।
घर आएका बेला सबै आफन्तसँग भेटेर सम्बन्ध नविकरण गर्ने बानी थियो रेवतीको । सबैलाई भेटेथे, क्षमकुशल सोध्थे केही दिन घरमा बसेपछि फेरफारे कपडा र पासपोर्टको पन्तुरो बोकेर खाडी फर्किन्थे । ६ र २ वर्षका छोरीहरुको नाम क्रमशः स्नेहा र अनुष्का उनैले राखिदिएका थिए ।
गत असोजमा रेवती कम्बोडिया पुगे अलि धेरै कमाउने आशामा । तर, दलालको फन्दामा परेका उनी नोम्पेन्ह विमानस्थलबाट काठमाडौं फर्काइए ।
३४ वर्षीया श्रीमती निर्मला भन्छिन, “त्यो बेला डुबेको पैसा उठाँउछु र अन्त जाने चाँजो मिलाँउछु भन्नुहुन्थ्यो ।”
………………………………………..
भूकम्प जानु केही घण्टाअघि घरमा फोन गरेका उनले म्यानपावर कम्पनीमा अन्तरवार्ताका लागि जाँदै गरेको बताएका थिए ।
१२ बैशाखदेखि एकाएक हराएका रेवतीको १७ वैशाख विहानसम्म अत्तोपत्तो थिएन । तर, त्यसै दिन दिउँसो प्रहरीको उद्धार टोलीले बालाजुको धौलागिरी गेष्ट हाउसको भग्नाबशेषबाट उनलाई मृत निकाल्यो ।
प्रहरीको फोनले मात्रै थाहा पाए आफन्तजनले, मिठो सपना देखाएर विदेश जान हिंडेका रेवतीलाई भूकम्पले कहिल्यै नफर्किने गरी लगिसके छ ।
१८ बैशाख बिहान ५ बजे झापा ल्याइएको रेवतीको शव स्थानीय कनकाई घाटमा अन्त्येष्टी गरियो ।
“बाह्रवर्ष देश–विदेश घुम्दा केही नभएको छोरो काठमाडौंबाटै बाकसमा फर्कियो,” ७० वर्षीय बाबु पर्शुराम गौलीले भने, “म अभागी, यो उमेरमा छोरालाई मट्टी दिनु परेको छ ।”
गोपाल गडतौला, झापा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
