ब्लगशनिबार, बैशाख १९, २०७२

महाभूकम्प, पुनर्जीवन र धरहरा

अनुशील

ब्लग

‘संकट पर्दछ मान्छेलाई ढुङ्गालाई के पर्छ ?
असिना आई फूलबारीकै फूलहरू पहिले झर्छ
जसको छाती जति विशाल त्यत्ति नै संकट उसैलाई
बढुवा नलले रोज्दछ सागर, खोंच र खोला रोज्दैन…’

पहिले पहिले कुनै पीडा र दुःखका क्षणहरूमा आफैंलाई सान्त्वना दिने कवि सिद्धिचरण श्रेष्ठका यी हरफ अहिले सम्झँदा लाग्छ, संकटको पनि एउटा हद हुन्छ नि ! तर, थाहा छ संकटको कुनै सीमा छैन ।

१२ वैशाख मध्यान्हपछि ज–जसले पुनर्जीवन पायौं मलाई लाग्छ सबै जना देशको यो बर्वादीमा हरेक पल मरेर बाँचिरहेको महसूस गरिरहेका होलान् । महाभूकम्पपछिको त्रासदीपूर्ण यी दिनहरूमा साँच्चै हामी मृत्युलाई नजिकैबाट आत्मसात् गरिरहेका छौं । आँखा अगाडि मृत्युको श्रृंखला देखिरहेका छौं, तरपनि राष्ट्रिय संकटलाई जितेर अघि बढ्ने यत्न गरिरहेका छौं ।

Dharaharara_

शनिबारको त्यो पल जतिबेला पृथ्वीसँगै मन र मुटु काँप्यो हरेक मान्छेले आफ्नो धरातल देख्यो हैसियत बुझ्यो । एकपछि अर्को धक्काले अग्ला महल र भव्य बंगलामा बस्ने धनाढ्य र खोला किनाराको झुपडीमा बस्ने गरीब सबैलाई एकै ठाउँ उभ्याइदियो । महल हुनेहरू महलमा बस्न डराउने दिन आयो । घर हुनेहरू सडकमा खुल्ला आकाशमुनि रात कटाउने दिन आयो । साँच्चै मैले आजसम्म यति धेरै मान्छेका आँखामा एकसाथ यति विघ्न डर यसअघि कहिल्यै देखेकै थिएन ।

जसलाई अरुको पर्वाह हुँदैन, जो अरूका पीडा र दुःखलाई महसूस गर्न सक्दैन र जसलाई आफ्नो स्वार्थ र खुशी बाहेक अरू कुराको मतलब हुँदैन । ढुंगाका मुटु भएकाहरूका लागि यो पीडाले कुनै फरक नपार्ला तर लाग्छ हामी नेपालीहरूले भोगिरहेको यो अकल्पनीय प्रकोपमा ढुंगा पनि रसाइरहेको छ ।

१ माघ २०६७ मा हिमाल खबरपत्रिकाको आवरणमा धरहराको सग्लो तस्वीरलाई कम्प्युटरमा फोटोशप मोन्टाज गरेर तीन टुक्रा भएर ढल्दै गरेको बनाएका थियौं ।

१ माघ २०६७ मा हिमाल खबरपत्रिकाको आवरणमा धरहराको सग्लो तस्वीरलाई कम्प्युटरमा फोटोशप मोन्टाज गरेर तीन टुक्रा भएर ढल्दै गरेको बनाएका थियौं ।

बाल्यकालमै ५ भदौ २०४५ सालको भूकम्पको धक्का मज्जैले बेहोरेको मेरा लागि यो कुनै रहस्य र अनुभव नगरेको कुरा थिएन । त्योभन्दा ठूलो २ माघ १९९० को भूकम्पको कम्पन थेगेका मेरा वृद्ध बुबाबाट यति धेरै त्यो विपतको कथा र व्यथा सुन्दै हुर्किएकाले पनि भूकम्प नयाँ कुरा थिएन । पत्रकारिता गर्दाका करीब दुई दशकमा हरेक २ माघ र ५ भदौमा भूकम्पको कथा, पीडितका भोगाइ र सचेतनताका कुरा नलेखेको शायदै कुनै वर्ष होला ।

२०४५ सालको भूकम्पले तहसनहस भएको धरानबाटै पत्रकारिता शुरु गरेकाले पनि यो प्रकोपसँगको दूरी कहिल्यै टाढा भएन । त्यसैले पनि राजधानी आएर हिमाल खबरपत्रिकामा काम गर्दा पनि सम्भावित भूकम्प र यसबारे कसरी बच्ने, बचाउने बारेका रिपोर्टिङहरू लेखी नै रहे । थाहा छैन, लेखेका ती कुराहरूले जनमानसमा कतिको सचेतनता ल्यायो र यसपालिको महाभूकम्पमा त्यसले कतिलाई बचाउन सक्यो । शहरका बीच बीचमा खुला स्थानहरूको अभाव, भूकम्प प्रतिरोधक घरहरू बनाउनमा मानिसहरूको अरुचि र बिल्डिङ कोड लागू गर्न स्थानीय निकायहरूले गरेको उदासीनतादेखि कुनै बेला “जथाभावी कमसल कंक्रिटका जंगल खडा गरेर हामीले घर हैन चिहानघारी बनाइरहेका छौं” भन्नेसम्म लेखेको अहिले सम्झिरहेछु ।

९० सालको जस्तै महाभूकम्प आउँदा सबैभन्दा पहिले काठमाडौंको भीमसेन स्तम्भ धरहरा नै ढल्ने ठहर हामीले गरेका थियौं । त्यसैले पनि १ माघ २०६७ मा हिमाल खबरपत्रिकाको आवरणमा धरहराको सग्लो तस्वीरलाई कम्प्युटरमा फोटोशप मोन्टाज गरेर तीन टुक्रा भएर ढल्दै गरेको बनाएका थियौं । डिजाइनर भानु भट्टराईसँग बसेर त्यो आवरण बनाउँदा हामीले मानिसहरूलाई यसरी नतर्साई नचेत्ने ठानेका थियौं । कुनै पनि बेला आउने भूकम्पबाट जोगिन चेतना सञ्चार गर्न लड्दै गरेको धरहराको यो मोन्टाज तस्वीर प्रभावशाली थियो ।

पत्रिका बजारमा गएपछि कतिले ‘यो के गरेको ?’ भन्दै आलोचना समेत गरेका थिए । अहिलेको ७.८ म्याग्निच्यूडको धक्काले शुरुमै धरहरा ढलेको सुन्दा यो असत्य भइदिए पनि हुन्थ्यो भन्ने लागिरह्यो । भूकम्प लगत्तै भीड छिचोल्दै गएर चिहान बनिसकेको धरहरा हेर्दा आँखाबाट आँशु थाम्न सकिनँ ।

भूकम्प चेत, धरहराको उमेर र यसको अवस्थाका कारण मैले कहिल्यै चढिनँ । धेरै पटक धेरै जनाको धरहरा चढ्ने अनुरोध मैले नकारेको थिएँ । ५० देखि १०० वर्षमा पक्की पुल र सडकको आयु त सकिन्छ भत्काएर नयाँ बनाउनुपर्छ भन्ने विश्वव्यापी मान्यता रहे पनि हामी किन १०० वर्ष पुग्न लागेको धराप धरहरामा मान्छे चढाइरहेका छौं ? म जहिले सोचिरहन्थें ।

Uk dharahara

धरहराको साटो बरु बेलायत गएको समयमा ७ महीनाअघि धरहरा भन्दा २०० वर्ष पुरानो लण्डनको मोनुमेण्ट स्मारक चढें । त्यसबेला ६२ मीटर माथिबाट लण्डन हेरेर धरहरा सम्झिएँ । लाग्यो यसरी नै मजबूत बनाउँदै संरक्षण गरिएको भए म पनि धरहराको ९ तला माथि चढेर काठमाडौं उपत्यका हेर्न उत्साहित हुन्थें होला । लण्डनको ‘धरहरा’ चढ्न म जति उत्साहित र विश्वस्त थिएँ किन किन आफ्नै देशको यो धरहरा चढ्न कहिल्यै उत्साहित हुनै सकिनँ । मैले जस्तै सबैले धरहरा चढ्ने मोह नबनाएको भए आज धेरैको ज्यान जोगिनेथियो ।

Jogiyeko Jyan_

धरहरा आज छैन भनेर सम्झँदै यी हरफ लेखिरहँदा पनि मनमा कता कता खिन्नता महसूस भइरहेको छ । धरानका कमल तिगेला दाइका धरहरामा ज्यान गुमाएका आफन्तको हाँसिरहेको तस्वीर फेसबुकमा हेर्दा होस् या बिहेगरेलगत्तै खुशी साट्न धरहरा चढेका नव दम्पतीको भग्नावशेषमा अंकमाल गरिरहेको शवका तस्वीर ! कठै, सम्झेर अत्यास लाग्छ । यो सबै सपना भइदिए कति जाती हुनेथियो ।

साँच्चै हामीले प्रकृतिको चेतावनी र हरेक ८० देखि १०० वर्षको अन्तरालमा आइरहेको महाभूकम्प र वैज्ञानिकहरूको चेतावनीलाई नजरअन्दाज गरेको सजाय अहिले भोगिरहेका छौं । पहिले नै हामी सचेत भएका भए, सरकार जागेको भए, बनाइएका नीति नियमहरूलाई फाइलमै सीमित नगरिएका भए आज हामीले यत्रो संकट बेहोर्नुपर्ने थिएन होला । लाग्छ जानी जानी हामीले ठूलो पोखरी खनिरहेका थियौं, त्यो पानीको हैन आँशुको पोखरी रहेछ जसमा आज सबै डुबिरहेका छौं ।

Punarjiwan_

मान्छे जन्मेपछि एक दिन मर्नै पर्छ । जीवनको यो सत्यता नै यो विपतमा चित्त बुझाउने एउटा माध्यम बन्न सक्छ । यत्रो संकट बेहोरेर पनि जब १२८ घण्टापछि भग्नावशेषबाट कृष्णादेवी खड्का, ८२ घण्टापछि ऋषि खनाल र २२ घण्टापछि ४ महीनाको बालक सोनित अवाले जिउँदै निकालिन्छन् तब सारा पीडा बिर्सेर मुहारमा मुस्कान आउने रहेछ । जीवनप्रतिको आशा जग्मगाउने रहेछ ।

आखिर सिद्धिचरण श्रेष्ठले लेखेका र रामेश श्रेष्ठले गाएका यी हरफ जस्तै दुःख, कष्ट नझेल्ने मान्छे के मान्छे हुन्छ र ?!
‘डुब्ला मर्ला अरु के होला, यत्ति नै हो त्रास तँलाई
लाखा डुब्छन् लाखा मर्छन्, जगको रीति चलाउनलाई
मानिस तैंले उठ्नैपर्छ, दुःख कष्ट झेल्नै पर्छ
दुःख सु्ख भोगे पो त, मानिस सच्चा मानिस बन्छ…’

-१८ बैशाख २०७२ , facebook.com/Anushilst, anushilkakura.blogspot.com/

तस्बीरहरुः विक्रम राई, अमुल थापा, देवकी विष्ट, गोपेन राई र डम्बरकृष्ण श्रेष्ठ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>