अन्तर्वार्ता/विचारआइतबार, बैशाख २०, २०७२
जनताले थेगे, अब राज्यको पालो
जे–जति सहयोग आएको छ, राज्यले जे–जति सक्छ त्यसलाई युद्धस्तरमा परिचालन गरेर पीडितमाझ् पु¥याउनुपर्छ, भूकम्पले ध्वस्त पारेको उपत्यका, हिमाल, पहाड सबैतिर एकसाथ पुनःनिर्माण थाल्नुपर्छ ।
हजुरआमाको काखमा बसेर हजुरबुबाको मुखबाट १९९० सालको भुईंचालोबारे अनेकौं पटक सुनेको मैले २०७२ सालमा झ्ण्डै त्यत्रै भुईंचालोको प्रत्यक्ष अनुभव गरें । यस्तो अनुभव भावी पुस्ताले गर्न नपरे हुन्थ्यो । के हामी त्यस्तो नेपाल बनाउन समर्थ हुनेछौं ? अब सम्पूर्ण नेपालीको ध्यान र प्रयत्न त्यतातिर केन्द्रित हुनुपर्छ ।
प्रकृतिको वरदान र श्राप मान्छे हेरेर लाग्दैन । उसका प्रकोप र प्रलयले सबैलाई पीडित बनाउँदा रहेछन्, साधन र सुन्दरता सबैका लागि भए जस्तै । त्यसैले पृथ्वी र प्रकृतिको सुरक्षा सबैको साझ दायित्व बन्दोरहेछ ।
पृथ्वीलाई सुरक्षित राखेर त्यसमा व्यवस्थित ढंगले बस्न सके, प्रकृतिको सम्मान गर्न सके जीवन बढी सुरक्षित–व्यवस्थित बन्दो रहेछ । यसपल्टको भूकम्पले सिकाएको यो पाठ जीवनमा कार्यान्वयन गर्न सकौंला त ? आ–आफ्नो ठाउँबाट यसका लागि प्रयत्नशील हुनैपर्छ ।
ठाउँको अभाव
सानातिना भूकम्पले अनेकौं पटक हल्लाउँदा एकछिन घर बाहिर निस्केर आफ्नो नियमित कामकाजमा लाग्ने बानी परेको मैले यसपल्ट भने त्यसो गर्न सकिनँ । १२ गते भूकम्प थामिएपछि मात्र बाहिर निस्कन सकें ।
दुइटी छोरी, साली र भेट्न आएका दुई साथी सबै विना चोटपटक बाहिर निस्कन सक्दा मैले सबभन्दा पहिले दिवंगत पितालाई सम्झ्एिँ । २०४३ सालमा यो घर बनिरहँदा म पञ्चायती सरकारको जेलमा थिएँ । बुबा र माइलो भाइको रेखदेखमा बनेको घर बलियै रहेछ । जुनसुकै बेला आउनसक्ने भुईंचालोलाई ध्यानमा राखेर घर बनाउनु पर्दोरहेछ ।
भूकम्पको झ्ट्काबाट सामान्य अवस्थामा आएपछि छिमेकीहरूको खोजखबरतिर लागियो । वरपर केही घर भत्के पनि कोही हताहत भएका थिएनन् । त्यसपछि आउन थालेका समाचार भने अत्यन्त दुःखद् थिए । सम्पदाको भण्डारका रूपमा रहेका उपत्यकाका तीनवटै दरबार परिसर, बुङ्मती, खोकना लगायत देशका अनेक सम्पदा क्षेत्र ध्वस्त भएको खबरले मन थाम्नै सकिएन ।
काठमाडौं र ललितपुरका भूकम्प प्रभावित क्षेत्रहरू हेरेर आवश्यक सल्लाह गर्न भनी १३ गते खाना खाएर निस्कँदा विष्णुमती नदीको दुवै किनारामा मानिसहरू प्लास्टिकको ओतमुनि कोचाकोच बसिरहेका थिए । त्रसित मानिसहरू जताततैका स–साना खाली ठाउँमा अत्यन्त अप्ठ्यारो सहेर ज्यान जोगाइरहेका थिए ।
हाम्रो टोली सैंबु भैंसेपाटीहुँदै बुङ्मती पुग्यो । यही वर्ष मत्स्येन्द्रनाथको १२ वर्षे मेला लाग्नेथियो ।
त्यसैले रथ बुङ्मतीमै बनाएर अलिपरसम्म तानेर राखिएको थियो, शिखर शैलीको मत्स्येन्द्रनाथको मन्दिर थिएन । सँगैको भैरव मन्दिर पनि भत्केछ । पुरानो नेवार वस्ती बुङ्मती नै ध्वस्त थियो । ठाडा रहेका अधिकांश घर चर्केका थिए । मानिसहरू चोक–चउरमा प्लास्टिकको ओतमुनि थिए ।
रातो मत्स्येन्द्रनाथको घर मानिने सुन्दर मत्स्येन्द्रबहाललाई महाभूकम्पले क्षतविक्षत बनाएछ । भूकम्पको विनाश लीलाले मन रन्थनिएको थियो । त्यही बेला वरिपरिका घरहरूलाई पीङ झैं मच्चाउँदै, ढाल्दै भूकम्प आयो । धन्न कसैलाई केही भएन । हामी खोकना जाने कार्यक्रम रद्द गरेर पुल्चोक फर्कियौं ।
उपत्यकामा खुला ठाउँ र पार्कहरूको अभाव यसपालि धेरै खट्कियो । उपत्यकामा थप २०/२५ टुँडिखेल र थुप्रै पार्क बनाउनु जरूरी छ । सरकारले यस्ता खुला मैदान र पार्कहरू बढाउनैपर्छ । अर्कोपल्ट यस्तै भुईंचालो आयो भने खुला ठाउँ नभएरै हजारौं मान्छे मर्न सक्छन् ।
राष्ट्रिय संकल्प
मर्नेहरू त मरेर गैगए, आफन्तजनहरू ठूलो पीडामा छन् । त्यो पीडामा कसरी मलम लगाउने, कसरी जनजीवनलाई छिटोभन्दा छिटो सामान्य–सहज बनाउने भन्नेमा सबैको प्रयत्न केन्द्रित हुनुपर्छ अब । महाभूकम्पले उपत्यकाका सर्वाधिक महŒवपूर्ण सांस्कृतिक केन्द्र र सम्पदाहरू पनि ध्वस्त पारेको छ ।
पहिलेको मौलिक स्वरुपमा अझ् बलियो गरी तिनीहरूको पुनःनिर्माण गर्ने, वरपरका स्थानलाई पहिलेको भन्दा फराकिलो पार्नेे काम तदारुकताका साथ थाल्नुपर्छ ।
भत्केका सम्पदाहरूको पुनःनिर्माण र चर्केका सम्पदाहरूको मर्मत–संरक्षणको कार्य राष्ट्रिय चुनौतीका रूपमा खडा छ । यो काम गर्न सकिएन भने उपत्यकाले पर्यटकहरूको आकर्षण गुमाउनेछ । पर्यटकहरूको अर्को आकर्षण क्षेत्र हिमाली भूभागका गाउँहरूलाई पनि महाभूकम्पले ध्वस्त पारेको छ । थुप्रै पर्यटक भूकम्पको चपेटामा परेका छन् । ती क्षेत्रको पुनःनिर्माणमा समेत तत्काल ध्यान जानुपर्छ ।
सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, काभ्रे र गोरखाका साथसाथै उपत्यकाका पीडितहरूले यथेष्ट आर्थिक, भौतिक सहायता पाउनुपर्छ । जनताको नाममा जम्मा भएको पैसा प्रधानमन्त्री कोषमा थन्क्याएर यही लोसो पाराले चल्ने हो भने हामी आर्थिक–सामाजिक रूपमा वर्षौं पछिपर्नेछौं ।
सरकारले पुग्दो आर्थिक सहायताका साथसाथै भूकम्प पीडितहरूलाई घर पुनःनिर्माणका लागि नाममात्रको व्याजदरमा वा निव्र्याजी रूपमा दीर्घकालीन ऋण दिन थाल्नुपर्छ ।
नेपाल र नेपालीलाई आइलागेको यो चुनौतीको सामना एकताबद्ध भएर गर्नुपर्दछ । सानातिना स्वार्थ र लोभहरूले हामीलाई कमजोर नबनाओस्, हाम्रो स्वाभिमान निर्बल नहोस् । हामीले यो संकटबाट छिटै पार पाउँछौं भनेर अठोटका साथ अघि बढ्ने बेला हो, यो । चुनौती र अप्ठ्याराहरूलाई पराजित गर्दै सबै मिलेर पुनःनिर्माणका लागि राष्ट्रिय संकल्प गर्नुपर्दछ ।
अवसरमा परिणत गरौं
संकटलाई अवसरमा रूपान्तरण गरेका देश विश्वमा थुप्रै छन् । चीन र जापानले यस्ता प्राकृतिक संकटहरूको सामना गर्दै आफूलाई संसारमा शक्तिशाली राष्ट्रका रूपमा उभ्याएका छन् । नेपालले पनि १९९० र त्योभन्दा पहिलेका भुईंचालोहरू सामना गर्दै आफ्नो पुनःनिर्माण गरेको हो ।
अहिले त हामीले विश्वभरिबाट सहयोग र सद्भावना पाएका छौं । आफ्नै स्रोत, साधन, क्षमता र योग्यतामा मुख्य रूपले भर पर्दै विदेशी सहयोगको समेत ठीक ढंगले उपयोग गर्न सक्यौं भने हामी अहिलेको संकटलाई पुनःनिर्माणको अवसर बनाउन सक्छौं ।
जस्तोसुकै संकटको बेला पनि एउटा स्वतन्त्र देशले आफ्नो स्वाभिमान र राष्ट्रिय अस्मितामा हस्तक्षेप गर्न दिंदैन, सहयोगको नाममा थिचोमिचो सहँदैन । हाम्रो यो संकटमा सहयोग गर्ने नाममा अनावश्यक मानिस प्रवेश गराउने र आफूले गरेको सहयोगलाई अतिरञ्जित रूपमा प्रचार गर्ने दक्षिणी छिमेकीका केही मानिसहरूका गलत प्रवृत्तिको आलोचना गर्दै अनावश्यक हस्तक्षेप रोक्नुपर्छ ।
दक्षिणबाट जे पनि आउन दिने तर उत्तरतर्फको आवश्यक सहयोग लिन हिच्किचाउने सरकारी प्रवृत्ति स्वतन्त्र देशलाई सुहाउने व्यवहार होइन ।
यतिबेला हामीलाई सबै मित्रराष्ट्रको सहयोग–सद्भाव आवश्यक छ । हाम्रो पुनःनिर्माण कार्यको लागि निकट छिमेकीहरूको सहयोग त अझ् बढी आवश्यक छ । त्यसको लागि योजनाबद्ध रूपमा अघि बढ्नुपर्छ ।
सबभन्दा बढी धन्यवादका भागीदार नेपाली जनता हुन्, जसले एउटै मैदान, चोक र त्रिपालमुनि तराई, पहाड र हिमालका धनी, गरीब सँगै बसेर संकटको सामना गरे । उनीहरूले बेमौसममा परेको पानी एकसाथ झेले, एउटै आकाश ओढे, आफूसँग भएको बाँडेर खाए अनि एकअर्कालाई सघाए । एउटाको दुःखमा अर्को रोयो, अर्कोको आफन्त बाँचेको समाचारमा आँसु पुछेर हाँस्यो । नेपाली जनताले आफूबीचको यो युगौं पुरानो मेल, भाइचारा र सद्भावको शक्तिले यसपालिको भुईंचालोले ल्याएको संकटको सामना गरे ।
अब पालो राज्य र राजनीतिक दलहरूले आफ्नो उपस्थितिको औचित्य सावित गर्नुपर्छ । मुख्य रूपले सरकार चलाउने प्रधानमन्त्री र मन्त्रीहरू संकटको गाम्भीर्य बुझन समर्थ हुनुपर्छ ।