थप समाचारआइतबार, बैशाख २०, २०७२
दुई महादेशका तीन पात्र
-श्रीभक्त खनाल
तिब्बतबाट भागेर नेपाल आइपुग्दा सोनाम साङ्पो ९ वर्षका थिए ।

तिब्बती शरणार्थी सोनाम साङ्पो अहिले भूकम्प पीडितको सेवा गरिरहेका छन् ।
सम्पत्तिको नाउँमा एक हुल भेडा धपाउँदै परिवारसँगै उपल्लो मुस्ताङको लोमन्थाङ आइपुगेका सोनामले अनेकौं हण्डर खाए । नेपालमै बाबु गुमाए, अर्कोको घरमा गोठालो बसे, जीवन निर्वाह गर्ने क्रममा आफूसँग भएका भेडा बेचे ।
लोमन्थाङको ओढारलाई घर सम्झिए । न नेपाली भाषा जानेको छ, न हातमा सम्पत्ति छ ।
दन्त्य कथाका पात्र जस्ता अनेक अनुभव संगालेका सोनाम मुस्ताङबाट पोखरा झरे । यो ७० को दशकको कुरा थियो ।
उनी स्कूलमा भर्ना भए । नेपाली सिके । भिन्न संस्कृति, हावापानी र भाषाका बीच उनले आफ्नो पहिचान बनाए ।

गोरखाको लाप्राक । यो सुन्दर गाउँ भूकम्पले ध्वस्त भएको छ ।
मीठो लवजमा प्रष्ट नेपाली बोल्ने सोनामको छोरेपाटन स्थित टासिलिङ तिब्बती शरणार्थी क्याम्प भित्र सानो घर छ तर, उनी घरमा उति भेटिन्नन् । यिनको आधा समय समाजसेवामै बित्छ ।
तिब्बतबाट भेडा चराउँदै महिनौं लगाएर नेपाल आएका सोनामले सायद सोचेका पनि थिएनन होला कि कुनै दिन नेपालीलाई उद्दार गर्न दुर्गम गाउँ जानुपर्छ । केही दिन अघि मात्र उनी गोर्खाको दुर्गम क्षेत्र मारबाङमा राहत वितरण गरेर फर्केका छन् ।
नेपाली सेनाको हेलिकोप्टरमा राहत सामग्री लिएर त्यहाँ पुगेका सोनामले १० प्रतिशत घर मात्रै सुरक्षित रहेको जनाएका छन् ।
त्यहाँको जनजीवन अत्यन्त त्रासमय र विकराल रहको बताउँदै सोनामले भने, “अनेकौं दबाब बीच नेपालले हामीलाई शरण दिएको छ । नेपालीसित हामी एउटै समाजमा मिलीजुली बसेका छौं । नेपाली दाजुभाइलाई परेको बिपत्ति हाम्रो विपत्ति हो ।”
लायन्स क्लब अफ पोखरा अन्नपूर्णसँग आवद्ध सोनाम चर्चामा आउन नचाहने समाजसेवी हुन् । कहिले उनी पोखराका जीर्ण विद्यालयलाई सहयोग जुटाईरहेका हुन्छन् भने कहिले चिल्ड्रेन पार्कका लागि सहयोगको याचना गर्दै कुदिरहेका हुन्छन् ।
समाजसेवा गरे वापत दर्जनौ संघ संस्थाबाट पुरस्कृत भैसकेका सोनाम पोखरेली नेपाली र तिब्बती समुदाय बीच चर्चित नाम हो ।
……………………..

पोर्चुगलका राफेल आन्तुनेस पाटनमा (खैरो ज्याकेटमा)
एशियाका सोनामलाई छाडेर अब पोर्चुगलका राफेल आन्तुनेसको कुरा गरौ ।
पेशाले फोटोग्राफर आन्तुनेस सन् २०१० मा नेपाल गएका थिए केही हप्तालाई ।
काठमाडौं, पाटन, नगरकोट आदि ठाउँ घुमेका आन्तुनेसलाई सबैभन्दा राम्रो ठाउँ पाटन लाग्यो रे ।
एशिया र युरोपका थुप्रै देश घुमिसकेका उनलाई संसारमै सबैभन्दा मन परेको ठाउँ थियो पाटन । पाटनमा उनले आफू सहितको फोटो खिचाए ।
भूकम्पले पाटनका ऐतिहासिक सम्पदामा क्षति गरेको सुनेपछि रेडियो र टिभी नै हेर्न छाडिदिए ।
पोर्चुगलका प्रतिष्ठित पत्रिका र म्यागजिनमा काम गरिसक्का आन्तुनेसलाई फेरि नेपाल गएर फोटोग्राफी गर्न मन थियो तर भन्छन, “अब त्यो उत्साह रहेन । नेपालीलाई आपत पर्दा र ऐतिहासिक महत्वका क्षेत्रहरु ध्वस्त हुँदा मलाई ज्यादै दुख लागेको छ ।”
नेपालको खबर सुनेदेखि नै उनी आफूले खिचेका फोटोका अल्बम पानाहरु पल्टाईरहेका छन् ।
पाटनको एउटा फोटो देखाउँदै भने, “यसको अवस्था कस्तो छ ?”
…………………………….

फ्रान्सका सेबास्तियन प्रादेरेस । १६ वर्ष अघि उनी गोर्खाको लाप्राक र बारपाक घुम्न गएका थिए ।
आन्तुनेस जस्तै नेपाल घुमेका अर्का ब्यक्ति छन दक्षिणी फ्रान्सका सेबास्तियन प्रादेरेस ।
१६ वर्ष अघि उनी गोर्खाको लाप्राक र बारपाक घुम्न गएका थिए । हाल पोर्चुगलको एउटा स्कूलमा लाइब्रेरीयनको काम गर्ने सेबास्तियनले एक पटक सोधेका थिए, “मलाई गोर्खाका गाउँहरु असाध्यै मन पर्यो । मानिसहरुको जीवन त्यहाँ दुखपूर्ण छ तर मानिसहरु किन त्यति खुशी ?”
उदाहरण दिदै उनले भने मैले बारपाकमा कोदो काटिरहेका केही महिलालाई देखे जो एक आपसमा जिस्किदै काम गरिरहेका थिए । उनीहरुको त्यो हँसिलो मुहार म कहिल्यै बिर्सन्न । उनको अनुभवमा फ्रेञ्च भन्दा नेपालीको ह्याप्पी इन्डेक्स माथि छ ।
उतिबेला खिचेका बारपाक र लाप्राकका रंगीन र श्यामस्वेत फोटोहरुको संग्रह देखाउँदै उनले भने, “यी गाउँहरुमा भूकम्पले उत्पात मच्चायो भन्दा मलाई असाध्यै दुःख लाग्यो ।”

लाप्राकका घर भएका यी गाइडको अवस्थाबारे फ्रान्सका सेवास्तियन चिन्तामा छन् ।
आफ्नो साथीले चिनेको नेपाली गाइड मार्फत सेवास्तियन नेपाल आएका थिए । लाप्राकका घर भएका गाइडको नाम सेवास्तियनको संम्झनामा छैन तर फोटो छ । उनको चिन्ता छ गाइड कस्तो अवस्थामा होलान ?
लाप्राकै एक बालकको तस्वीर छ उनको हातमा । १६वर्ष अघि खिचिएको सो तस्वीरका बालक कत्रा भए होलान ? कहाँ होलान् ? लाप्राकमै भए कुन हालतमा होलान ? अनेकौं जिज्ञासा छन् उनीसँग ।
नेपाली कागज बनाउन कच्चा पदार्थ सुकाउँदै गरेकी बारपाककी महिला पनि उनको संझनामा छिन् । उनको अवस्था थाहा पाउन उनी आतुर छन् ।
गत साल अष्ट्रेलिया घुमेर फर्केपछि उनले मसँग भनेका थिए – नेपालका गाउँघर जत्तिको सुन्दर ठाउँ अन्त लागेन । उनको दिमागमा रहेका ती सुन्दर ठाउँहरु अहिले भग्नावेशमा पुरिएका छन् ।
shreebhakta@gmail.com
हाल पोर्चुगलमा बस्ने खनाल पूर्वपत्रकार हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
