टिप्पणीसोमबार, बैशाख २१, २०७२
‘९० सालले नेपाललाई उसिना चामल, जस्तापाता र सिमेन्ट दियो’
नेपालमा १८९० पछि एकैचोटि १९९० सालमा भूकम्प आएको थियो । ९० सालका मान्छेका लागि भूकम्प नयाँ कुरा थियो ।
पृथ्वीमाता डगमगाइन् भने कम्पन आउँछ भन्थे, अनुभव कसैलाई थिएन । १९९० माघ २ गते नवग्रहमध्ये सात वटा एउटै कोठामा परेकाले केही अनिष्ट होला भन्ने भविष्यवाणी गरिएको थियो । नभन्दै, भूकम्प आयो ।
त्यो बेला भूकम्प पीडितलाई नेवारहरूको गुठीले राहत वितरण र उद्धारमा अगुवाइ गरेका थिए । महांकाल मन्दिरको माथिल्लो तलामा शेषराज दली र सिद्धिचरण श्रेष्ठको समूहले खोलेको ‘भूकम्प पीडित उद्धार संघ अड्डा’ ले पनि निकै सहयोग पुर्यायो ।
त्यो बेलाको टुँडिखेल एशियाकै ठूलो परेड ग्राउन्ड भनेर चिनिन्थ्यो । काठमाडौंका सारा मान्छेलाई यसैले शरण दिएको थियो । त्यहाँ मान्छे कोरा कपडा टाँगेर बसेका थिए, पाल त छँदै थिएन । वरिपरि झडी भएकाले दिसा–पिसाब गर्न सजिलो थियो । खाना र पानीको पनि सुविस्तै थियो ।
भूकम्प श्री ३ जुद्धशमशेर शिकारका लागि नयाँ मुलुक (पश्चिम तराई) गएको बेला आएको थियो । यहाँबाट गएका सूचकले सात दिनमा खबर पुर्याएपछि उनी दिवंगत आत्माको चिरशान्तिका लागि एक हजार कैली गाई दान गरेर भारतको बाटोहुँदै फर्किए ।
त्यो बेला सरकारले तत्कालै अड्डा खडा गरेर पीडितहरूलाई खाँडी कपडा र चामल बाँडेको थियो । कसको घर कति चर्किएको, भत्किएको छ, मर्मतका लागि मोटामोटी कति रकम लाग्छ भनेर अड्डाका कारिन्दाहरूले टिपेर लगेका थिए ।
त्यसकै आधारमा सरकारले निव्र्याजी ऋण उपलब्ध गरायो, जुन जुद्धशमशेरले राजकाज छोड्ने बेला मिनाहा गरिदिए । उनले सबभन्दा बढी रु.३ लाख चन्दा पनि दिएका थिए । अरू भाइहरूको समेत जोड्दा राणा परिवारबाट रु.५० लाखजति चन्दा संकलन भएको थियो ।
उसिना चामल, जस्तापाता र सिमेन्ट ९० सालको भूकम्पपछि नेपाल भित्रिएको हो । उसिना चामल बर्मा, जस्तापाता बेल्जियम र सिमेन्ट बेलायतबाट झ्किाइएको थियो । त्यसअघि हामीले यी चिजबिज देखेका थिएनौं ।
त्यसपछि काठमाडौंमा टाउन प्लानिङ आयो । टुँडिखेलको मूल ढोकादेखि जुद्धशमशेरको सालिकसम्मको बाटो फराकिलो पारेर ‘नयाँसडक’ भनियो । त्यसको दायाँ–बायाँ दुई–तीन तले घरहरू बने । त्यसअघि काठमाडौंमा त्यति अग्ला घरहरू थिएनन् ।
९० सालमा भत्किएको पाटनको तलेजु भवानी यसपालि जोगियो । त्यो बेला बचेका कृष्ण मन्दिर आसपासका चार नारायण, भीमेसन, हरिशंकर मन्दिर भने यसपालि भत्किए । घर, मठ–मन्दिरलाई बेला–बेलामा मर्मत–सम्भार नगर्दा यस्तो भयो ।
९० सालपछि बनाएको मेरो घरमा बाहिरबाट पक्की ईंटा र भित्र कच्ची माटो प्रयोग गरिएको छ । अहिले चर्किएर बस्न डरमर्दो भएको छ । धरहरामा कच्ची माटोको सट्टा बज्र प्रयोग गरिएको थियो । ८० वर्षसम्म ठिङ्ग उभिएको त्यो संरचना बाहिरबाट सद्दे देखिए पनि भित्र निकै कमजोर भएकाले ढल्यो ।
पहिले सरकारप्रति गुनासो गर्ने साहस जनतामा थिएन । ‘नल बोक्नेले दरबारको चिन्ता गरेर हुन्छ ?’ भन्ने भनाइ प्रचलित थियो । अहिले सरकार र सरोकारवाला निकायसँग मजाले आफ्ना कुरा राख्ने वातावरण छ ।
हामीले भूकम्पबाट क्षति पुगेका विश्व सम्पदा पुनःनिर्माण वा जीर्णोद्धारका लागि युनेस्कोलाई झकझक्याउनुपर्छ । यसमा ऊ आफैं पनि गम्भीर होला । त्यसो भइदिए झन् सजिलो हुन्छ ।
जापानमा भूकम्प आइरहन्छ, तैपनि जापानीहरूले आफ्नो देश बनाएकै छन् । यो विपत्मा हाम्रो सरकारले पनि सक्दो गरिरहेकै छ भन्नुपर्छ । सरकारलाई काम गर्ने वातावरण बनाइदिनुपर्छ ।
भूकम्पले भत्काएको हाम्रो देशलाई सबै मिलेर टाल्ने हो । नेताहरूले अब चार अक्षरको ‘सहमति’ गरिदिनुपर्छ, किनभने देश बनाउनैपर्ने बेला आइसक्यो ।
९६ वर्षीय संस्कृतिविद् जोशीसँगको कुराकानीबाट