रिपोर्टसोमबार, बैशाख २१, २०७२
कत्रो कम्पन, कत्रो ऊर्जा !
-किरण नेपाल
सगरमाथा क्षेत्र हुनुको गर्व लिएसँगै यो भूखण्डका लागि महाभूकम्प एउटा नियमित आकस्मिकता बनेको छ ।
दूई ठूला टेक्टोकि प्लेट इन्डो–अष्ट्रेलियन प्लेट र यूरो–एशियन प्लेटको टकराव नै नेपाल र यस क्षेत्रमा आउने भूकम्पको स्रोत बन्दै आएको छ, लाखौं वर्षदेखि । यो टेक्टोनिक टकरावकै परिणाम हो, विशवकै उच्चतम् भूभाग यो क्षेत्रमा हुनु– जसलाई हामी सगर्व सगरमाथा भन्छौं ।
काठमाडौंबाट पश्चिम नेपालमा केन्द्रबिन्दु भएको ठूलो भूकम्प नगएको ३०० वर्षभन्दा बढी भइसकेकाले निरन्तर घर्षणको अवस्थामा रहेका दुई शक्तिशाली प्लेटमा जम्मा भइरहेको ऊर्जा जुनसुकै बेला निस्किने वैज्ञानिकहरूको अनुमान थियो । त्यही ऊर्जाले १२ वैशाखमा निकास लियो, तर अनुमान भन्दा अलि फरक पूर्वतर्फ र अलि सानो शक्तिको भूकम्पको रूपमा ।
घर्षणको परिणाम
सात करोड वर्ष पहिले अफ्रिकाबाट छुट्टिएर आएको इन्डो–अष्ट्रेलियन प्लेट लाखौं वर्षदेखि वर्षेनि ४–५ सेन्टिमीटर (हाम्रो नङ बढ्ने गतिमा) उत्तरतर्फ घुस्रिंदै आएको छ भने यूरो–एशियन प्लेटले रोक्दै आएको छ ।
इन्डो–अष्ट्रेलियन प्लेटको अघि बढ्ने चाहना यूरो–एशियनले पूरा नगरिदिंदाको टकरावबाट उत्पन्न हुने ऊर्जा निष्कासन नै यस क्षेत्रमा आइरहने भूकम्प हो । यी दुई प्लेटको निरन्तरको घर्षणको कारण भूगर्भमा रहेका चट्टानहरूमा असंख्य चिरा (फल्टलाइन) बनिरहेका छन्, जो त्यहाँ उत्पन्न हुने ऊर्जा प्रवाहका माध्यम हुन् ।
यिनै ‘फल्टलाइन’ माथि अवस्थित नेपाल र भारतका बिहार तथा उत्तरप्रदेश दुई वटा प्लेटको घर्षणका कारण उत्पन्न हुने कम्पनबाट अत्यधिक प्रभावित हुने भूकम्पीय जोखिम क्षेत्र हुन् । करीब २४ सय किलोमीटर लामो यो भूकम्पीय जोखिम क्षेत्रको एकतिहाइ नेपालमा पर्छ ।
दुइटा प्लेटको निरन्तरको घर्षणका कारण वर्षौंदेखि जम्मा भइरहेको ऊर्जा भूसतहमा आउने साइत यस पटक १२ वैशाखको बिहान ११ बजेर ५६ मिनेटमा जुर्यो ।
त्यसक्रममा सतहभन्दा करीब १५ किलोमीटर तल ५४ अर्ब किलोग्राम विस्फोटक पदार्थ पड्के बराबरको शक्तिको कम्पनले जनकपुर पश्चिम चितवन र तनहुँको सीमासम्म; चितवन र तनहुँदेखि उत्तरी गोर्खासम्म; गोर्खा भएर तिब्बतका केही भाग छोएर रसुवा–सिन्धुपाल्चोकहुँदै मध्य दोलखा र त्यहाँबाट दक्षिणतर्फ पश्चिमी रामेछापदेखि सिन्धुलीसम्मका करीब ९० माइल (१४५ किलोमीटर) तथा ५५ माइल अर्थात् ९० किलोमीटर चौडाइको ईंटाकार क्षेत्र (हे.नक्शा) लाई हल्लाइदियो । परिणाम, यो क्षेत्रभित्र जनधनको ठूलो नोक्सानी भयो भने यसभन्दा बाहिरी भाग पनि प्रभावित भयो– सामान्य क्षति सहित ।
दुई वटा प्लेटबीचको निरन्तर ठेलमठेलबाट उत्पन्न भइरहने कम्पन यो क्षेत्रको नियति नै हो । युरो–एशियन प्लेटलाई उत्तर धकेल्न नसकेपछि त्यसैको मुन्तिर घुस्दै जानु इन्डो–अष्ट्रेलियन प्लेटको नियति हो । यसक्रममा आएको पछिल्लो महाकम्पनबाट माथि उल्लिखित ईंटाकार क्षेत्र करीब ३.४ मीटर दक्षिण सरेको अनुमान छ ।
यो क्षेत्रमा दिनहुँजसो २–३ म्याग्निच्यूडका कम्पनहरू आइरहने पछिल्लो तीन दशकको तथ्यांकले देखाउँछ । मानिसलाई महसूसै नहुने त्यस्ता कम्पन भइरहने यो भूखण्डले निश्चित कालखण्डमा भने विनाशकारी महाभूकम्प बेहोर्दै आएको छ ।
काठमाडौंको बुङ्मतीस्थित रातो मत्स्येन्द्रनाथ मन्दिरका पञ्जु (पुजारी) हरूले करीब ८०० वर्षदेखि राख्दै आएको भूकम्पको अभिलेखले ८० देखि १०० वर्षको अन्तरालमा महाभूकम्प आउने गरेको देखाउँछ ।
१२ वैशाखको महाभूकम्प १९९० सालपछिको ८१ वर्षमा आएको थियो । भूगर्भवेत्ताहरूले एउटा ठूलो भूकम्पको संभावना व्यक्त गरिरहेको सन्दर्भमा यो अपेक्षित नै थियो ।
महाभूकम्प नै हो
१२ वैशाख २०७२ मा आएको भूकम्प नै ९० सालपछिको महाभूकम्प हो त ? ७.८ म्याग्निच्यूडको मुख्य कम्पनपछि क्रमशः न्यून हुँदै निस्किएको अनेक पराकम्पन (आफ्टर शक) को प्रवृत्तिले यो नै ८१ वर्षयताको अर्को महाभूकम्प भएको मान्ने आधार दिएको छ ।
मुख्य कम्पनपछि ६ म्याग्निच्यूड माथिका दुई र ५ म्याग्निच्यूड भन्दा ठूला २१ वटा भूकम्प गइसकेकाले अब अर्को ठूलो भूकम्पका लागि शक्ति जम्मा हुन लामै समय लाग्ने देखिन्छ ।
त्यसबाहेक, भूकम्पले पार्ने क्षतिको परिमाणका आधारमा मापन हुने ‘मर्केली इन्टेन्सिटी’ को १२मध्ये ९औं अवस्थाले पनि यसलाई महाभूकम्प मानिएको छ ।
यो ‘फल्टलाइन’ मा नेपाललाई असर पार्ने गरी आएका भूकम्पहरूको ८०–१०० वर्षे चक्रले समेत यसलाई महाभूकम्प मान्न थप बल दिएको छ । भूकम्प जाने समय, स्थान र त्यसको शक्तिको पूर्व अनुमान गर्न भने विज्ञान असमर्थ छ ।
यो नै महाभूकम्प हो कि होइन भनेर बताउन पनि असमर्थ नै छ, विज्ञान ।
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
