थप समाचारसोमबार, बैशाख २१, २०७२
खण्डहर बन्यो नमुना गाउँ सिम्जुङ
घरघरै बिजुली, फोहोर फाल्ने वेग्लै ठाउँ, जलाउने चिम्नी, गाउँको साझा चौतारो र सामुदायिक भवन, सफा सिनित्त आँगन, घरघरै सफा शौचालय गाउँले मिलेर नमुना बनाएको गोरखा, सिम्जुङको पोखराटार गाउँ १२ वैशाखको महाभूकम्पले ध्वस्त भएको छ ।
गाउँमा विजुली पुर्याएको ढोडेनीमाथिको भित्तामा रहेको विद्युत् गृह पनि नामोनिसान नै नरहने गरी सुख्खा पहिरोले पुरिदिएको छ ।
गोरखाको बारपाकबाट १३ किलोमिटर दक्षिणतर्फ अवस्थित यो गाउँ अन्य पहाडी गाउँघर झैं माटोको जोडाइमा ढुँगाले बनेको थियो । अधिकांश घरका छाना ढुङ्गा र जस्तापाताकै थिए । १२ वैशाख ११:५६ बजेको पहिलो झट्कामै सिंगो गाउँ भग्नावशेषमा परिणत भएको थियो ।
ढोडेनीबाट ठाडो उकालो आधा घण्टा हिँडेपछि पुगिने दक्षिणतर्फ फर्किएको यो टार निकै उब्जाउ छ । मगर समुदायको बाहुल्य रहेको यो गाउँका वासिन्दालाई उद्धार र राहतको चिन्ता छैन । किनभने अहिलेसम्म सरकारी टोली त्यहाँ पुगेकै छैन ।
“अब यो गाउँलाई पहिलेकै अवस्थामा पुर्याउन त ५० वर्ष लाग्ला,” निकै निराश देखिएका स्थानीय हिमबहादुर रानामगरले भने । भूकम्पमा परी हिमबहादुरकी पाँच वर्षीया छोरी विपिसा रानामगरसहित १२ जनाको मृत्यु भएको छ।
१५ वर्षीया ठूली छोरी विनिता बोल्न नसक्ने अवस्थामा छिन् भने विपिसाकी आमा होस हराएझैं टोलाइरहेकी छन् ।
टारको पुछारमा बनाइएको अस्थायी पालमा अहिले ४० परिवारले आश्रय लिइरहेका छन् ।
भूकम्पपछि राहत, चिकित्सक र औषधिसहितको टोली लिएर पोखरेली युवाको टोली त्यहाँ पुगेको थियो । उनीहरुले घाइतेहरुको उपचारका साथै केही पाल दिएका थिए ।
गोरखाको आँबुखैरेनी–गोरखा सडकखण्डको १२ किलो भन्ने स्थानबाट झण्डै ३ घण्टा मोटरमा दरौंदी नदीको किनारैकिनार करिब ३९ किमी कच्ची सडक पार गरी पुग्न सकिने सिम्जुङ र यस आसपासका ९० प्रतिशतभन्दा बढी घरगोठ भूकम्पका कारण नष्ट भएका छन् । यही मार्ग हुँदै एक घण्टाजति उत्तरतिर लाग्दा ऐतिहासिक तथा पर्यटकीय गाउँ बारपाक र लाप्राक पुग्न सकिन्छ ।
जिल्ला दैवीप्रकोप उद्धार समितिका अनुसार गोरखा जिल्लामा वैशाख २० गतेसम्म ४१२ जनाको मृत्यु भइसकेको छ भने एक हजार एक सयभन्दा बढी घाइते भएका छन् । घाइतेहरुको हाल गोरखा, पोखरा, चितवन र काठमाडौँका अस्पतालहरुमा उपचार भइरहेको छ ।
विनासकारी भूकम्पका कारण गोरखा जिल्लाका उत्तरी भेगका बारपाक, लाप्राक, सौरपानी, गुम्दा, मान्बु, करौंजा, सिम्जुङ क्षेत्रका ढुङ्गा माटोले बनेका पुराना घरटहरा पूरै ध्वस्त भएका छन् भने धनजनको ठूलो क्षति भएको छ ।
साथै, गोरखा नगरपालिका सहित गोरखाको दक्षिणी क्षेत्रका पुराना संरचनामा ठूलो क्षति पुगेको छ ।
समितिको पछिल्लो विवरणअनुसार गोरखाका कुल ६५ हजार १३५ घरधुरीमध्ये ४५ हजार ६०८ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने २ हजार ७६७ घरमा आंशिक क्षति पुगेको छ ।
सोमनाथ लामिछाने, रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
