ब्लगबिहीबार, बैशाख २४, २०७२

फिलिली हुन खोज्दा त्रिपाल मुनी बास

Neha Sharma

स्कुल विदा भएदेखि नै छोराले फिल्म हेर्ने जिद्दि गर्न थालेको थियो । म भने शनिबार जाउँला भन्दै टारिरहेकी थिएँ । एउटा शनिबार त गैसकेको थियो । १२ वैशाखको शनिबार टार्न मसँग थप बहाना थिएन । विदामा घर बसेको छोरालाई मनोरञ्जनका लागि कहीं त लैजानै पर्थ्यो । छोराकै आग्रहमा ‘रेशम फिलिली’ हेर्ने निधो भयो ।

बिहानको खानापछि म, बहिनी मन्जु र बाबु सुन्धारा नजिकैको सिभिल मल गयौं । छोरो यसै उफ्रिरहेको थियो । उसको खुशीमा म पनि रमाइरहेकी थिएँ । १२ः१० बजेको शोका लागि टिकट किनेर मलको सातौं तलामा पुग्यौं । टिकट चेकिङ्ग हँुदै गर्दा फिल्म शुरु हुन अझै १०–१५ मिनट बाँकी थियो ।

कोही हलभित्र हाँस्दै थिए, कोही बाहिर टहलिंदै थिए । त्यहीबेला बाबुले बाथरुम जान्छु भन्यो । उसलाइ शौचालयकोे ढोकासम्म पुर्‍याएर बाहिर पर्खिरहेकी थिएँ, एक्कासी त्यो अग्लो घर हल्लिन थाल्यो । मान्छेहरुको कोलाहलसंगै भागाभाग शुरु भयो । झ्यालका शिशाहरु झर्याम झुरुम झरे ।

म चिच्याउदै ‘पुरुष’ लेखिएको शौचालयभित्र पस्न खोजें । ढोकामा ठेलमठेल थियो । त्यसबेला छोरा भन्दा अरु केही थिएन मेरो दिमागमा । बाबु ढोका नजिकै आइपुगेको रहेछ । उसको टाउकोमा सिसाका टुक्राले लागेछ । उसलाई अंगालोमा बेरेर भर्‍याङतिर कुदें ।

त्यतीञ्जेलसम्ममा भूकम्पको धक्का रोकिएछ । फुटेका शिशाहरु छिचोल्दै तल झरियो । हामी तल्लो तलामा पुग्दा चर्किएको भित्ता गर्लम्म ढल्यो । त्यसको एउटा छेउले मेरो खुट्टा छोयो । भुइँचालोको त्रास र छोराको चिन्ताका बीच मलाई दुखेको अनुभव भएन । सिभिलमलको भित्रिभाग पुरै क्षतिग्रस्त थियो ।

भुइमा आइपुग्दा पनि भागदौड मच्चिईरहेको थियो । कसैको खुट्टामा एउटामात्रै जुत्ता थियो, कसैका दुईवटै रित्तै । आमाबाबुहरु आफ्ना बालबच्चा खोजिरहेका थिए । जोडिहरु हात समातेर रुँदै दौडिरहेका ।

हामी पनि दौडदै मल अगाडि सैनिक मुख्यालयको चौरमा पुग्यौं । त्यहाँ पुगेपछि थाह पाएँ, बहिनी छुटिछन् । मोबाइलमा सम्पर्क हुनै सकेन । केही बेरमै त्यो चौर मान्छे नै मान्छेले भरियो । सबैको अनुहारमा सन्त्रास थिथो । ४० मिनेटपछि बहिनी भेटिइन् । हामी त्यही चौरमै एक अर्कालाई खोजिरहेका रहेछौं ।

हाम्रो होस कतिसम्म गुम थियो भने, छेउकै धरहरा लडेको पनि धेरै पछि मात्र थाह पायौं । त्यस लगत्तै भिडबाट कसैले भने, “वसन्तपुर पनि पूरै ध्वस्त भयो अरे ।”

त्यसपछि थाह हुन थाल्यो, भूकम्पले गरेको क्षतिको अनुमान । म आफैं पनि धरहरा चढ्ने विचारमा थिएँ । शनिबारको दिन छोरालाई लिएर धरहरा जाउँजस्तो पनि लागेकै हो, तर कसोकसो फिल्मतिर लागियो र बचियो । अब यसलाई चाँडै उठाएर चढ्ने हो ।

घर पुग्दासम्म हजारौं हताहति भएको समाचार बाक्लिसकेका थिए । कम्पन भइरहेकाले कोही घरभित्र पस्न सकिरहेका थिएनन् । हाम्रा घरबेटीले नजिकैको खाली जमिनमा त्रिपाल हालेर ‘घर जान सकिंदैन, यही आउनुस्’ भन्नुभयो । छोराले भन्यो, “फिलिलि हुन खोज्दा त्रिपाल पो ओढ्नु पर्‍यो ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>