थप समाचारशुक्रबार, बैशाख २५, २०७२

ढल्यो ‘सरकारको घर’

हिमालखबर

भिरालो जग्गा । सुन्दर बस्ती । राजधानी प्रवेश गर्ने पृथ्वी राजमार्ग नजिकै छ गाउँ ।

गाेरखाकाे यी चेपाङ गाउँमा भोकमरीको समस्या बाह्रै महिना पर्छ । आफ्नो बारी छैन उनीहरुको । भए पनि भिरालो छ । लहरेबाली खेतीमा एक/दुई पाथी बोडी उत्पादन हुन्छ । त्यसले एक महिनाजति मुस्किलले खान पुग्छ । एघार महिना भोकभोकै बस्नुपर्छ ।

बिहान सबेरै उठेर कमाउन जान्छन् घरमूली । घरका अरु सदस्य गिठ्ठा, भ्याकुर खोज्न जङ्गलतिर पस्छन् । गिठ्ठा पनि भनेका बेला पाइँदैन । दिनभर पसिना चुहाएर कमाएको थोरबहुत पैसाले खानेकुरा किन्छन् अनि घरतर्फ लाग्छन् गोरखाको मकैसिङ गाविस–१ सिम्लेका ४२ वर्षे मनबहादुर चेपाङ ।

दुःखजिलो गरेर ११ जनाको उनको परिवार बाँचेकै थियो । सरकारले जनता आवास कार्यक्रममार्फत नयाँ घर बनाइदिएको थियो । झुप्रो घर छाडेर उनीहरु नयाँ घर सरेको एक वर्षमात्रै भयो ।

गत वैशाख १२ गते गएको महाभूकम्पले त्यो घर गल्र्यामगुर्लुम ढल्यो । मनबहादुरले सुस्केरा हाल्दै भने, “सरकारको घर ढल्यो ।” महाभूकम्पले गोरखाको पाँच वटा गाविसका चेपाङ बस्तीमा क्षति पु¥याएको छ । मकैसिङ गाविसमा रहेको १४७ घरधुरीमध्ये ९० घर पूर्ण रुपमा भत्केर ध्वस्त भएको छ । बाँकी घर चर्केकाले मान्छे बस्न नहुने भएको छ ।

ताङ्लीचोक गाविस–९ स्थित भलायडाँडामा रहेको १५७ घरधुरीमध्ये ५० घर भत्केर ध्वस्त भएको चेपाङ अगुवा मकैसिङका बिल चेपाङले बताए । मकैसिङ गाविसको रातमाटा, ताक्लुङ, भूम्लिचोक, घ्याल्चोक गाविसका चेपाङबस्ती अहिले खण्डहरमा परिणत भएको छ ।

‘धेरैजसो घर भत्कियो’ मकैसिङ गाविस–१ शिखरडाँडाका बुद्धि चेपाङले गुनासो गर्नुभयो, “मेरो घर चर्कियो । घरको चिम्नी भत्क्यो । यस्तो घरमा म कसरी बस्ने । नबसे परिवारलाई कहाँ लगेर पाल्ने ?” भिरालो जग्गा खारेर सरकारले चेपाङहरुलाई घर बनाइदिएको थियो ।

बर्सेनि ५० वटा घर बनाउँदै आएको सरकारले यस वर्ष पनि ५० नयाँ घर बनाउने तयारी गरेको थियो । निर्माण भइसकेका घर ड्याम्मै ढलेपछि ढुङ्गामाटोको ठूलो घरमा बस्ने चाहना हराएको छ चेपाङहरुको ।

“सिठाले बारेको । सिरुले छाएको घरले नै ज्यान जोगाउने रहेछ,” भूकम्पको झट्काले आत्तिएकी बज्ररेकी कल्पना चेपाङले भने, “घरले परिवारलाई सोत्तर बनाउँला जस्तो छ ।” उनको घर पनि सरकारले जनता आवासअन्तर्गत बनाइदिएको थियो । तर, ती घर चर्केर फाटेको छ ।

चेपाङहरुलाई सरकारले घर, शौचालय र भाडा माझ्ने रछ्यान बनाइदिएको थियो । अधिकांश घर भत्केर खण्डहर भएको छ । केही घर बस्न नहुने गरी चर्केका छन् । शौचालयहरु भने भत्केका छैनन् ।

“चर्पी भत्केन” बज्ररेका सोमबहादुर चेपाङले भने, “सिमेन्टले भुइँ पोतेर चर्पीमा प्यान राखेका थियौँ ।” सिमेन्टको प्रयोग गरिएका संरचनाहरु भूकम्पपछि यथावत् रहेको चेपाङहरु बताउँछन् ।

सरकारले बनाएका घर जगैदेखि भत्केको छ । पाँच वटा गाविसमा रहेका ६०० घरधुरीमध्ये भूकम्पले ४५० घरधुरी पूर्ण रुपमा क्षति पु¥याएको छ । अन्य घर आंशिक रुपमा क्षति भएको छ ।

“चोखो भन्ने एउटै घर छैन,” बिल चेपाङले भने, “पुनःनिर्माण गर्ने तागत चेपाङसँग छैन ।” हातमुख जोर्न समस्या रहेको उल्लेख गर्दै उनले चेपाङहरुको घर निर्माण गरिदिन सरकार समक्ष माग गरेका छन् । “त्रिपाल पाएको छैन । बारीको पाटामा बस्नुपरेको छ,” उनले गुनासो गरे, “विभिन्न ठाउँबाट खाद्यान्न सामग्री ल्याएर दिनुभएको छ । खान पाएका छौँ ।”

भोकमरी समस्याले अनिधो रहने चेपाङहरुले राहत सामग्री गाउँमा पुगेपछि थप राहतको महसुस गरेका छन् । तर, त्रिपाल नपाएकाले बारीको पाटोमा बस्नुपर्दा चिसोले गर्दा उनीहरुमा सामान्य रुघाखोकी, ज्वरोजस्ता रोगका लक्षण देखा परेका छन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>