थप समाचारशुक्रबार, बैशाख २५, २०७२
खण्डहरबाट उठ्दै
“अर्को वर्ष पनि आउनुहोला, हामीले यो गाउँ ठड्याइसकेका हुनेछौं”
-अनुराग आचार्य
विनाशकारी भूकम्प आएको दुई हप्ता बितिसक्दा सिन्धुपाल्चोकका बालसुन्दर कार्की र उनका बाबु रामजी कार्की भत्केको घरको थुप्रोबाट कामलाग्ने सामान छान्दै थिए ।
नेपाल प्रहरीका जागिरे बालसुन्दर १२ वैशाखमा भुइँचालो आउने बेला काठमाडौंमा ड्युटीमा थिए । “म उद्धारको काममा खटिएको थिएँ, त्यसैबेला श्रीमतीको फोन आयो– हाम्रो दुई वर्षको छोरो घरमै पुरिएछ”, बालसुन्दरले भने ।
बालसुन्दर घर पुग्दा अँध्यारो भइसकेको थियो । घर, छोरा र वस्तुभाउ केही थिएनन् ।
खत्रीथोककी २८ वर्षीया ज्ञानु सापकोटा भुइँचालो जाँदा आँगनमा थिइन्, सानो छोरो घरभित्र । उनी छोरो लिन भित्र दौडिइन् त्यसैबेला आमा–छोरा पुरिए । होश नगुमाएकी उनले छोरोलाई सजिलो पारेर छोप्न भ्याएकी थिइन् । पछि दुवैको गाउँलेले उद्धार गरे ।
गोरे सार्की भने ज्ञानु जस्तो भाग्यमानी ठहरिएनन् । केही समयअघि श्रीमतीले छोडेकी गोरेकी चार वर्षीया छोरी घरमै पुरिइन् । चारवर्षे भावनाको सद्गत गर्दा उनको छेउमा उभिइदिने कोही भएन ।
म मटिचौर पुग्दा कमल, सुमन र विष्णु खड्का आफ्ना बाबुको मृत्युको शोकमा थिए । भुइँचालो जाँदा उनीहरू बारीमा मकै रोप्दै रहेछन्, बुवा खाजा खान घर हिंडेका । दोहोरै घर भएको गल्लीमा हिंडिरहेका बाबुलाई घरको भित्ता खसेर पुरेछ ।
छरछिमेकको सहयोगमा २४ घण्टासम्म भग्नावशेष उधिन्दा पनि उनी भेटिएनन् । अर्को दिन आफन्त खोज्दै आएका चार जना सैनिकले पनि खोजिदिन सकेनन् । “हामी आउँछौं भनेर गएका सैनिक फेरि फर्किएनन्,” कमलले भने ।
खत्रीथोकको स्कूलमा ‘टिच फर नेपाल’ ले वितरण गर्न लागेको खाना लिन सयौं गाउँले लाइन लागेका थिए ।
सिन्धुपाल्चोकमै पढाउने ‘टिच फर नेपाल’ कि शिक्षिका सुजिता चौधरीको पनि भूकम्पमा परी मृत्यु भयो । उनी भीमसेन माविमा विज्ञान पढाउँथिन् ।
“हाम्रा लागि यो निकै संवेदनशील क्षण हो, हाम्री साथीलाई गुमाएकै ठाउँमा छौं अहिले हामी”, ‘टिच फर नेपाल’ का स्वयंसेवक सिरिहाङ राईले भने ।
खत्रीथोकमा कम्तीमा पनि १२ जनाको मृत्यु भएको छ, बस्तुभाउ कति पुरिए गणनै छैन । १२६ घर पूर्ण ध्वस्त भएका छन् । कार्कीटारमा ११, माझीगाउँमा ६०, मुरेमा ६ र सुकुटेमा चार जनाको मृत्यु भएको छ ।
भूकम्पको त्रास र पीडाका बीच पनि यहाँका गाउँले मिलेर मृतकको परम्परानुसार सद्गत गरेका छन्, मरेका बस्तुभाउलाई खाल्डोमा पुरेका छन् । सिन्धुपाल्चोककै केही ठाउँमा सहयोग गर्ने कोही नहुँदा शवहरू खोलामा बगाइएको र मरेका बस्तुभाउ त्यसै छाडिएको समेत खबर आयो ।
अँध्यारो हुन थालेपछि घरको भग्नावशेष नजिकै टर्पोलिनको पालमुनि बसेका गाउँलेले मलाई पनि एउटा कुनो छुट्याइदिए । ६ परिवार बसेको पालमा म पनि घुस्रिएँ ।
राति हुरीबताससहित पानी पर्न थाल्यो । दुईथान टर्पोलिन जोडेर बनाइएको पालको बीच र छेउबाट पानी रसाउन थाले पनि बचेको अनाज राम्रोसँग छोपिएकाले भिज्न पाएन । बाँचेका चौपाया तर्सेर यताउति दौडिरहेका थिए । निदाउन सक्ने अवस्था थिएन ।
यता पालमुनि बसेका गाउँले भने दुःखका बीच पनि हास्यरसलाई जीवित राख्दै दुःखै माथि भए पनि चुट्किला सुनाइरहे ।
अर्को दिन दिउँसो म बिदावारी हुन लाग्दा गाउँका वरिष्ठ सदस्य रामकुमार केसीले हात मिलाउँदै भने, “यो पहरामा आफ्नै पाखुराले मोटरबाटो खन्यौं, स्कूल बनायौं, विजुली ल्यायौं । अहिले भुइँचालोले सबै तहसनहस पारेको छ । अर्को वर्ष फेरि आउनुहोला, हामीले यो गाउँ फेरि ठड्याइसकेका हुनेछौं– मेरो वाचा हो यो ।”
@AnuragAcharya
———————————————————————————–
आफन्त
उदयपुरकी सुजिता चौधरीले गत वर्ष मात्रै ‘टिच फर नेपाल’ मा स्वयंसेवा थालेकी थिइन् ।
माइक्रोबायोलोजीमा स्नातकोत्तर गरेकी सुजिता सिन्धुपाल्चोकको खत्रीथोकस्थित भीमसेन माध्यमिक विद्यालयमा विज्ञान पढाउँथिन् । १२ वैशाखको भुइँचालोमा बसेको घर भत्कँदा सुजिता त्यहीं पुरिइन् ।
१३ वैशाखमा सुजिताकी साथी एवम् सहकर्मी बविता कुशवाह सहित ११ जना ‘टिच फर नेपाल’ का स्वयंसेवीहरू खत्रीथोक पुगेर उनको शव निकाले । त्यसैदिन उदयपुरमा उनको सद्गत गरियो ।
नजिकैको नवलपुर गाउँका आफ्ना विद्यार्थी गुमाएकी बविता भन्छिन्, “सुजिता छैनन् भन्ने पत्याउन अझै पनि गाह्रो भइरहेको छ, हामी खत्रीथोकमा सुजिताले थालेको सत्कार्यलाई निरन्तरता दिन प्रतिबद्ध छौं ।”
खत्रीथोकमै पढाइरहेकी अर्की स्वयंसेवी शिक्षिका दृश्य गुरुङको भने गाउँलेले उद्धार गर्न सके । उनी अहिले चितवनस्थित घरमा स्वास्थ्यलाभ गरिरहेकी छन् ।