थप समाचारआइतबार, बैशाख २७, २०७२

विपत‍्मा पनि धैर्य र मुस्कान

dewaki

तस्वीर: देवकी बिष्ट

तस्वीर: देवकी बिष्ट

दोलखाको सदरमुकामकै बस्ती बहिर र नक्छे टोलका भूकम्प पीडितले राहत नपाएको, बालबालिका बिरामी पर्न थालेको खबर पाएका हामी सात जना साथीको समूह केही सामान लिएर त्यसतर्फ गयौं ।

दिनभरको झरीसँगै लागेको तुवाँलोले गाडीको तिव्रता सीमित बनायो, दोलखाबजार पुग्दा रातको ११ बजिसकेको थियो । साथीहरूले आफ्नै खर्चले ४० थान पाल, प्राथमिक उपचारका केही औषधी, चिउरा, महिनावारी हुँदा प्रयोग गर्नेे कपडा लगायतका सामान जुटाएका थिए ।

दोलखबजारकै आदर्श प्रधान पनि सँगै थिए । भूकम्पले भत्काएको उनको घर छेउमा टांगिएको पालमुनि बास भयो हाम्रो पनि । धर्तीमा आइरहेका स–सना कम्पन र आकाशको गडयाङगुडुङले रातभर तर्साइरह्योे ।

विहान देख्यौं, दोलखा बजार नजिकका बस्तीमा एउटै घर ठडिएका थिएनन् । बहिर र नक्छे टोल ध्वस्त थिए । त्यही विहान भेट भएका जिल्ला रेडक्रस सोसाइटीका सभापति टीकानारायण प्रधानले भने, “सदरमुकामकै जनताले राहत पाएका छैनन, दूरदराजमा के अवस्था होला ?”

तस्वीर: देवकी बिष्ट

तस्वीर: देवकी बिष्ट

सानो हेलिकप्टरमा पर्याप्त सामग्री नअटेपछि राहत ओसार्न प्रयोग गरिएको अमेरिकी सेनाको भी–२ ओस्प्रे ‘ल्याण्ड’ गर्न लाग्दा जिल्ला प्रशासन कार्यालयको आगँनमा थुपारिएका सबै जस्ता पाता उडाइदिएछ । त्यही जस्ता ठोकिएर कार्यालयको सिसा फुटेछ ।ओस्प्रे फर्किएपछि अर्को पटक आएन ।

करीब ५० हजार घर रहेको दोलखाका अधिकांश घर बस्न नमिल्ने अवस्थामा छन् । धेरैजसो भत्केका छन्, ठडिएकामा पनि बस्न नमिल्ने गरी क्षति पुगेको छ । जिल्लाभर जम्मा चार हजार मात्र पाल बाँडिएको छ ।

“राहत पनि टाठाबाठाले मात्रै पाए, हामीले पाएनौं, अब समूह बनाएर लुट्नुपर्छ”, बिहानै चियापसलमा अधवैंशे र बुढापाकाबीच यस्तो संवाद सुनेका थियौं, दुई दिन पहिले एक समूह खुकुरी लिएर राहत सामग्री लुट्न आएका रहेछन् । यत्रो विपत्तिका बेला एकअर्कालाई सहयोग गर्नुपर्ने बेला पाएसम्म आफैं खाने र नपाए लुट्ने प्रवृत्ति देख्दा मन खिन्न भयो ।

सरकारी र गैरसरकारी तबरबाट गएको राहत पीडितहरूमाझ समानुपातिक रूपमा वितरण नहुँदा यस्तो अवस्था आए होला भन्ने अनुमान गर्‍यौं । तर, कतिपय ठाउँमा भने जम्मा गरेर राख्ने प्रवृत्ति पनि देखियोे ।

बाटोमा देवलक्ष्मी श्रेष्ठ (७५) भेटिइन् । भनिन् “न सोध नानी, अहिले पनि डर लाग्छ । घर पूरै भत्कियो । अन्न, लत्ताकपडा, भाँडाकुँडा सबै पुरिएका छन् । भित्र छिर्न पाइएको छैन । यहाँ खुला आकाशमा बस्नु परेको छ ।”

काठमाडौंबाट आउने इञ्जिनियर नातिनीको प्रतिक्षामा रहिछन् उनि । आफ्नो ध्वस्त घर देखाउँदै भनिन्, “ऊ त्यही हो गर्लम्मै ढल्यो, सबै पुरियो, सँधै यस्तै त रहँदैन ।” हाँस्दै थपिन “अब नातिनीले बनाको राम्रो घरमा बस्ने हो ।” हामीलाई पूरै गाउँ घुम्न हतार भएकाले उनले गरेको चियाको अनुरोध भने स्वीकार्न सकेनौं ।

भुइँचालोको पहिलो धक्का आएको १५ दिनपछि पनि १७ परिवारका ४० जना एउटै पालमुनि बसेका थिए । कहिले वर्षा हुने कहिले घाम चर्कने मौषमले पनि धेरै बालबालिका र किशोरकिशोरी बिरामी परे जस्ता ।

तस्वीर: देवकी बिष्ट

तस्वीर: देवकी बिष्ट

धेरैले ज्वरो आउने र टाउको दुख्ने समस्या सुनाए । किशोरीहरूमा अझ फरक खालका समस्या थिए । “पैसा घरभित्र पुरएिको छ, हामी नछुने हुँदा प्याडसमेत किन्न पाएका छैनौं”, निकिता भन्दै थिइन् । ४०–५० परिवार रहेका बहिर र नक्छे टोलमा सबैका घरमा अन्न पुरिएको थियो । खानेकुराको अभाव थियो ।

टाठाबाठा एकै परिवारकाले राहत बाँड्नेबाट ३/४ वटा पाल लिएका थिए । अधिकांश खुल्ला आकाशमुनि थिए । हाम्रो टोली पूरै गाउँ घुमेर राहत नभई नहुने अवस्थामा रहेका परिवारलाई पखाली बजारको छेउमा रहेको सिंग वन नजिक बोलाएर बाँड्यौं ।

राहतमा केही ठूलो चिज थिएन । तर सबै गुमाएका पीडितलाई थोरै राहतले पनि खुशी र ढाढस दिंदो रहेछ । लुट्ने र बढी लिने जस्ता केही अपवादलाई छोड्ने हो भने हामी विपत्मा पनि धैर्य नगुमाई मुस्कुराउन सक्दा रहेछौं भन्ने पनि देखियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...