थप समाचारमंगलबार, बैशाख २९, २०७२
आजको भूकम्पबाट रामेछापमा १६, दोलखामा १९ सहित ४७ जनाको मृत्यु (अपडेट)
आज २९ वैशाखमा गएको भूकम्पबाट रामेछापमा १६ जनाको मृत्यु भएको स्थानीय पत्रकार युनिक विफा घिसिङले जानकारी दिएका छन् । त्यसैगरी दोलखा सदरमुकाम चरीकोटमा १९ जनाको मृत्यु भएको पत्रकार दीलबहादुर केसीले बताए । केसीका अनुसार गाउँ गाउँमा भएको क्षतिको खबर अझै पुगेको छैन ।
रामेछापमा गम्भीर घाइते आठ जनालाई नेपाली सेनाको हेलिकप्टरले उपचारका लागि काठमाडौँ लगेको बर्दबहादुर गणका सेनानी राजन दाहालले जानकारी दिए ।
सदरमुकाम चरीकोटका २५ भन्दा बढी पक्की घर भत्किएको उनले बताए ।
सिन्धुपाल्चोकमा ४ जनाको मृत्यु भएको चौताराका स्थानीय निर्मलकुमारले जानकारी दिएका छन् ।
काठमाडौंको टेकु, मातातिर्थ र सामाखुशीमा एक-एकजनाको मृत्यु भएको छ भने ललितपुरको लेलेमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिन्धुलीको मझुवामा १ र नेत्रकालिकामा १ जनाको मृत्यु भएको छ ।
सर्लाहीको हरिवन १० सखेपोखरीमा सुखेपोखरी उच्चमावीको पर्खाल भत्किदा स्थानीय सुकमाया मगरको मृत्यु भएको छ। घरबाट भाग्दै गर्दा स्कुलको पर्खालले च्यापिएर उनका छोरा रमेश मगर घाइते भएका छन् ।
इटहरीमा पनि एकजनाको मृत्यु भएको खबर प्राप्त भएको छ ।
प्रहरीको प्रारम्भिक रिपोर्ट अनुसार भूकम्पले गर्दा काठमाडौंमा ७३ ललितपुरमा ७३ र भक्तपुरमा ३२ जना घाइते भएका छन्। सिन्धुपाल्चोकमा १०० जना भन्दा बढी घाइते भएका छन्।
त्यस्तै सीतापाईलास्थित एउटा चार तले घर पूरै ध्वस्त भएको थाहा भएको छ भने काठमाडौंको साँखु क्षेत्रमा धेरै घरहरु भत्किएको जानकारी आएको छ । नयाँ बजारमा पनि ४ तले घर लडेको छ । उक्त घरले मोटरसाइकलमा सवार एक व्यक्ति र केही बटुवाहरुलाई पुरेको र स्थानीयको अनुमान छ । त्यहाँ सेना र प्रहरी उद्धारमा खटिइसकेका छन् ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी झकनाथ ढकालका अनुसार सोलुखम्बुमा पनि ठूलो संख्यामा घरहरु भत्किएका छन् । “सदरमुकाम सल्लेरीका धेरै घरहरु ढलेको हामीले देखिराखेका छौं, क्षतिको विवरण भने आएको छैन,” ढकालले भने ।
दोलखाको बोच गाविसमा रहेकी अनेरास्ववियुकी केन्द्रिय सचिव भक्तकुमारी लामाका अनुसार चारै तिर धुलो उडिरहेको छ, तुवाँलो लागेजस्तो छ । रामेछापमा ठूलो पहिरो गएको देखिएको पनि उनले बताइन् ।
भूकम्प र त्यसपछिका पराकम्पनबाट त्रसित मानिसहरु काठमाडौंका सडक र खुल्ला स्थानमा जम्मा भएका देखिन्छन् । भूकम्पबाट दोलखा, रामेछाप, सोलुखुम्बु र सिन्धुपाल्चोकमा धेरै क्षति भएको अनुमान गरिएको छ ।