समाचारशनिबार, जेठ २, २०७२
माेबाइलबाटै भूकम्पबारे जानकारी लिन सकिने
नेपाल अर्थक्वेक अपडेट नामक मोबाइल एप्स सफ्टवेयरबाट भूकम्प गएपछि कति रिक्टर र कुन क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको भनी विस्तृत जानकारी लिन सकिने भएकाे छ ।
यसबाट भूकम्पको पराकम्पन गएको अघिल्लो दिन र पछिका महिना तथा एक वर्षसम्मका जानकारी लिन सकिन्छ । भूकम्प गएपछि सकेसम्म जनतालाई चाँडो जानकारी दिलाउने उद्देश्यले नेपाल अर्थक्वेक अपडेट एप्स निर्माण गरिएको उक्त एप्सका डिभलपर मनोहरलाल श्रेष्ठले बताए ।
यो एप्स १.१ एमबीको मात्र क्षमता भएकाले चाडो खुल्छ । यसमा चार रिक्टर स्केल माथिका मात्र भूकम्प र यसका पराकम्पन राखिनेछन् ।
राष्ट्रिय भूकम्पमापन केन्द्रले दिएको विवरणपछि मात्र एप्समा राखिने हुनाले भूकम्प गएपछि कम्तीमा पाँच मिनेटमा जानकारी लिन सकिने एप्स डिजाइनर सुरेश श्रेष्ठले बताए । एन्ड्रोइड मोबाइलमा गुगल प्लसबाट डाउनलोड गरी निःशुल्क प्रयोग गर्न सकिने यो एप्समा अरु सुविधा थप्दै जाने र यसलाई विश्वभरबाट प्रयोग गर्न सकिनेछ ।
खानी तथा भूगर्भ विभागको सहयोगमा श्रेष्ठद्वयले भूकम्पसम्बन्धी जानकारी दिने मोबाइल एप्स बनाएका हुन् ।
यस्तै, भूकम्पबारे जनतालाई सहजरुपमा जानकारी दिलाउनका लागि राष्ट्रिय भूकम्पमापन केन्द्रले नेपाल टेलिकमसँगको सहकार्यमा पैसा नलाग्ने (टोलफ्रि नम्बर) सेवा आजैदेखि सुरु गरेको छ । १६१८०१४४१०१४१ नम्बरमा डाइल गरेपछि तत्कालै गएको भूकम्प र केन्द्रबिन्दुबारे जानकारी लिनसकिने केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।
भूकम्पसम्बन्धी जानकारी दिने मोबाइल एप्स र टोलफ्रि नम्बरको खानी तथा भूगर्भ विभागमा आयोजित एक कार्यक्रमकाबीच उद्योगमन्त्री महेश बस्नेतले सुरु गरे । उक्त अवसरमा मन्त्री बस्नेतले भूकम्पबारे सर्वसाधारणलाई जानकारी दिन मोबाइल एप्स उपयोगी हुने भन्दै नेपाल सूचना प्रविधिमा पछि छैन भन्ने दरिलो उदाहरण यस्ता सूचना प्रणालीको विकासले प्रस्तुत गरेको उल्लेख गरे ।
उनले भूकम्प प्रभावित क्षेत्रको जमिन चिरा परेको र कतिपय स्थानमा बस्ती बसाल्ने अवस्था नरहेकाले प्रभावित क्षेत्रमा खानी विभागका विज्ञहरुलाई अनुसन्धानमा खटाई कुन क्षेत्रमा बस्न योग्य हुन्छ भनी पहिचान गर्न विभाग सक्रिय ढङ्गले लागेको बताए ।
अब भूकम्पका पराकम्पनबाट डराउनुपर्दैन
भूकम्पबारे विभिन्न अड्कलबाजी तथा टीकाटिप्पणी भइरहेको सन्दर्भमा भूगर्भविद्हरुले भूकम्पपछिका ससाना पराकम्पनबाट नअत्तालिन सर्वसाधारणलाई सुझाएका छन् ।
खानी तथा भूगर्भ विभागका उपनिर्देशक एवम् भूकम्पविद् डा सोमनाथ सापकोटाले ठूलो भूकम्पपछि आउने सानातिना पराकम्पनबाट त्रसित नहुन र यसबारे सतर्क रहन आग्रह गरे ।
“अहिले भूकम्पको मापनबारे बजारमा अनेक हल्ला आएका छन्, यसको कुनै तुक छैन, हाम्रो एमएल म्याग्निच्युडको स्केल नबुझेर अस्पष्ट भएको हो । अहिले हिमालय क्षेत्रमा आएको भूकम्प नौलो हैन र यही ठाउँमा फेरि ७.६ रिक्टरको भूकम्प आउने शक्ति छैन, त्यसैले अत्तालिनुपर्दैन,” उनले भने । रासस