समाचारआइतबार, जेठ ३, २०७२
‘राहत भनेकै दुई पाथी चामल’
काठमाडौ शङ्खरापुर नगरपालिका–७ सुनचावेली पालबारी टोलकी ८२ वर्षीया पम्फा परियारको ४५ जनाको परिवार एउटै पालमुनि बस्न बाध्य छ ।
विनाशकारी भूकम्पका कारण भएको झुपडी बस्न नमिल्ने गरी भत्किएपछि पाँच भाइ छोरा, नातिनातिना एउटै पालमुनि बस्दै आएको छ ।
“राहतको नाममा सरकारले अहिलेसम्म यही एउटा पाल दिएको छ, खान त बरु जेनतेन खोलेफाँडो भए पनि खान हुन्थयो, तर बर्खाको समयमा बासकै समस्या भयो”, परियारले गुनासो गरे ।
उनले अब राहतका नाममा चामल मात्रै वितरण गर्नुभन्दा पनि बर्सात्को समय भएको हुँदा कम्तीमा पनि ओत लाग्ने एउटा जस्तापाताको टहरो भए पनि बनाइदिन सरकारसँग आग्रह गरे । भूकम्प आएको समय यही वैशाख १२ गते घरभित्र सुतिरहेकी ८२ वर्षीया परियारलाई नातिले घरबाहिर निकालेर बचाएका थिए ।
सोही स्थानका भूकम्पपीडित गणेश परियारले भूकम्प गएपछि पालबारीका धेरै दलित समुदाय खुला आकाशमुनि बस्न बाध्य भएको हुँदा सरकारले जति सक्दो चाँडो पहिला बासको व्यवस्था गर्नुपर्ने बताए ।
बस्ने झुपडीबाहेक आफ्नो कुनै जमिन नभएका पालबारी टोलका दलित समुदाय भूकम्पपछि छिमेकी गैरदलितको बारीको कान्लामा बस्दै आएका छन् ।
स्थानीय भूकम्पपीडित विकास परियारले भने, “कुनै कुनै सङ्घसंस्थाले एक/दुई पाथी चामलबाहेक हामीलाई अहिलेसम्म सरकारले केही दिएको छैन, दुई छाक खानका लागि समस्या हुँदै आएको छ, भएको अलिकति अन्न पनि सबै भित्रै पुरियो, अब कसरी यी बालबच्चालाई बचाउने ।”
सरकार र अन्य सङ्घसंस्थाले समेत अन्य गाउँमा राहत वितरण गर्दा आफूहरू बसिरहेको दलित बस्तीमा कोही फर्केर नआएको स्थानीय दलित समुदायको गुनासो छ । करिब १५ घरधुरी दलित सुमदाय रहेको सो पालबारी टोलमा करिब ३०० दलित छन् । विनाशकारी भूकम्पबाट सो टोलका ९५ प्रतिशत घर बस्न नमिल्ने गरी क्षतिग्रस्त भएका छन् । मानवीय क्षति भने भएको छैन ।