समाचारसोमबार, जेठ ४, २०७२
भूकम्पपीडितलाई इलामकाे चिया बगानले घर बनाउन जग्गा दिने
इलाम नगरपालिकास्थित पुवामाई चिया बगान प्रालिले भूकम्पपीडितलाई १८ रोपनी जग्गा निःशुल्क उपलब्ध गराउने भएको छ ।
बगान सञ्चालक समितिको बैठकले भूकम्पपीडितलाई बसोबास गराउनका लागि प्रालिको नाममा इलाम नगरपालिकामा १८ रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको प्रालिका अध्यक्ष धर्मप्रसाद उप्रेतीले बताए ।
भूकम्पपीडितलाई प्रालिले राहतस्वरुप तत्कालका लागि बसोबास गराउन जग्गा उपलब्ध गराएको हो । प्रालिले भूकम्पपीडितलाई रु १० हजार प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ ।
यसैबीच, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा इलामले इलाम चोकबजारमा राखेको दानपेटिकाबाट ५० हजार ४२० रुपैयाँ राहत सङ्कलन गरेको छ । रेडक्रसले भूकम्पपीडितका लागि वैशाख २४ गतेदेखि चोकबजारमा दानपेटिका राखेर राहत सङ्कलन सुरु गरेको थियो । उक्त राहत रेडक्रसमार्फत केन्द्रमा पठाइने रेडक्रस इलामका रतन चौधरीले बताए ।