समाचारसोमबार, जेठ ४, २०७२
‘राहत माग्दा कुटाई खाए’
सुनाकोठी–२७, ललितपुरका लक्ष्मण महर्जनलाई एमाओवादीका कार्यकर्ताले कुटपिट गरेका छन् ।
३ जेठ साँझ एमाओवादीका कार्यकर्ताहरु कृष्ण महर्जन, धर्म महर्जनलगायतले लक्ष्मणलाई कुटपिट गरेका हुन् ।
राहत माग्न गएका लक्ष्मणलाई एमाओवादी ललितपुरका नेता दिनेश महर्जनकै उपस्थितिमा उनका कार्यकर्ताले कुटपिट गरेका हुन् । दिनेश गत संविधानसभा निर्वाचनमा ललितपुर–३, बाट सभासद्को उमेद्वार थिए ।
कुटपिटबाट घाइते लक्ष्मणको बीर अस्पतालमा उपचार पछि घर फर्काइएको उनको भाई पूर्ण महर्जनले बताए । टाउकोमा चार टाका लाग्नेगरी पिटिएका लक्ष्मणले भने, ‘‘नगर कार्यालयमा पाल माग्न गएका बेला मलाई कुटे ।’’
लक्ष्मणले पार्टी कार्यकर्तालाई मात्रै राहत वितरण गरिएको गुनासोपछि एमाओवादी कार्यकर्ताले उनलाई कुटपिट गरेका हुन् । लक्ष्मणले कुटपिटमा संलग्नमाथि कार्बाहीको माग राख्दै प्रहरीलाई उजुरी दिएका छन् ।
फरार अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएका छन् । भूकम्पबाट लक्ष्मणकाे पनि घर भत्किएकाे छ ।