रिपोर्टबुधबार, जेठ ६, २०७२

वर्षा ‘काल’

हिमालखबर

– सन्त गाहा मगर र तुफान न्यौपाने

१२ वैशाखको महाभूकम्पको केनद्रविन्दु गोरखाको बारपाक नजिकै डाँडामा २२ वैशाखमा देखिएको धाँजा ।

१२ वैशाखको महाभूकम्पको केनद्रविन्दु गोरखाको बारपाक नजिकै डाँडामा २२ वैशाखमा देखिएको धाँजा ।

महाभूकम्पले जमीनको संरचना खलबल्याएकाले मनसुनी वर्षाअघि नै पहिरो, हिमताल विस्फोट, हिमपहिरो आदिको जोखिम घटाउने उपाय अवलम्बन नगरिए यो वर्षा ऋतु साक्षात् ‘काल’ बन्न बेर छैन।

२९ वैशाख मध्याह्न १२.५० बजे ७.३ म्याग्निच्यूडको भूकम्प आउँदा त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागका उप–प्राध्यापक माधव भुसालको टोली सवार जीपले सिन्धुपाल्चोकको जफे र भीरकोट गाविसबीचको पहिरो छिचोल्दैथियो। १२ वैशाखको महाभूकम्पबाट पीडितलाई राहत वितरण गरेर फर्कंदै गरेका भुसाल माथिबाट खसेको ढुंगाबाट बच्न सकेनन्, साथीहरू जोगिए पनि।

एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का अनुसार, महाभूकम्पपछि देशभर तीन हजार भन्दा बढी ठाउँमा ठूला सुक्खा पहिरो गएका छन्। इसिमोडले सरकारलाई बुझाएको ‘जिओहाजार्डस् इन द अफटरम्याथ अफ २५ अप्रिल २०१५ अर्थक्वेक रिपोर्ट’ मा साना पहिरोको संख्या योभन्दा धेरै भएको उल्लेख छ। इसिमोडले अन्तरिक्ष सम्बन्धी अमेरिकी संस्था नासा, डिजिटल ग्लोब, इन्डियन रिमोट सेन्सिङ स्याटालाइट, सेनसियल एशिया र ग्याफोनका स्याटालाइट इमेजहरूको विश्लेषणबाट यो रिपोर्ट तयार पारेको हो।

त्रिवि भूगोल विभागका प्रा.डा. विष्णु डंगोल भूकम्पको कम्पन पहिरोको प्रमुख कारण हुने बताउँछन्। उनका अनुसार, भूकम्पले हल्लाएको जमीनको संरचनामा मनसुन शुरू भएपछि भकाभक पहिरो जान थाल्छ। एक पटकको भूकम्पले वर्षौसम्म पहिरो निम्त्याइरहन्छ। १२ वैशाखमा ७.८ म्याग्निच्यूडको महाभूकम्प बेहोरेका गोरखाका थुप्रै बस्तीलाई पहिरोकै कारण सार्नुपर्ने अवस्था छ।

लारपाक, गुम्बा लगायत २०–२५ गाउँका बासिन्दालाई स्थानान्तरण गर्नुपर्ने भएको गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद आचार्यले बताए। “ती गाउँवासीहरूले पहिरोबाट असुरक्षित भएको भन्दै ठाउँ सारी दिन भनिरहेका छन्”, आचार्य भन्छन्।

तस्वीर: मेघराज धिताल, बलेफी, सिन्धुपाल्चोक।

तस्वीर: मेघराज धिताल, बलेफी, सिन्धुपाल्चोक।

महाभूकम्पको केन्द्रबिन्दुमा परेको बारपाकको क्षति अरू ठाउँभन्दा बढी छ। बारपाकबाट दक्षिणतिर सर्दै जाँदा कम्पनले कम क्षति गर्दै गएको देखिन्छ। महाभूकम्पपछि गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, चितवन र रसुवाका चार सडकको अध्ययन गरेर फर्केका त्रिविका भूगर्भविद् मेघराज धिताल आगामी वर्षामा बाह्रबिसे–कोदारी सडकखण्ड निकै जोखिमपूर्ण हुने बताउँछन्। चाइनिज एकेडेमी अफ साइन्सको टोलीसँग स्थलगत अध्ययन गरेका प्रा. डा. धिताल भन्छन्, “माथिबाट ढुंगा खस्ने र तलबाट पहिरो जाने भएकाले यसअघि नै खतरापूर्ण रहेको यो सडक महाभूकम्पपछि झ्नै धराप बनेको छ।”

१२ वैशाखको मुख्य कम्पन तथा त्यसयता लगातार भइरहेका कडा पराकम्पनका कारण गएको सुक्खा पहिरोहरूले बन्द गराएका बाह्रबिसे–कोदारी, बालाजु–विदुर–धुन्चे–स्याफ्रुवेसी–रसुवागढी, एघार किलो–छेपेटार, लामो साँघु–जिरी लगायतका सडकलाई सडक विभागले खोलेको थियो। मुग्लिङ–नारायणघाट र सिन्धुपाल्चोक तथा रसुवाका सडकहरू अत्यधिक पहिरो जाने भूभागमा छन्।

विपत् निम्त्याउने विपत्
प्रा.डा. धिताल भीमकाय पहिरा गएर नदीमा बनेका बाँध फुट्दा ठूलो धनजनको क्षति हुने भएकाले पानीलाई निकास दिने व्यवस्था पहिल्यै गर्नुपर्ने बताउँछन्। महाभूकम्पपछि आएको पहिरोले त्रिशूली नदीमा रसुवा र चीनको गिर्‍योङबीचमा १०० मिटर चौडा र ५०० मिटर लामो बाँध बनेको छ। इसिमोडको रिपोर्टमा यो बाँध फुट्ने संभावना उच्च रहेको बताइएको छ। बाँध फुट्यो भने त्यसले तल्लो तटीय क्षेत्रमा अकल्पनीय विपत्ति निम्त्याउने छ।

त्यस्तै, मर्स्याङ्दी नदी थुनिएर मनाङको तल्लो पिसाङ नजिक अर्को बाँध बनेको छ। ५०० मीटर लम्बाइ भएको यो बाँधको चौडाइ ५० मीटर छ। उच्च जोखिमयुक्त मानिएको यो बाँधलाई इसिमोडले निरन्तर अनुगमन र विस्तृत अध्ययन गर्नुपर्ने बताएको छ। मनाङकै भारताङ–१ मा पनि नदी थुनिएर बाँध बनेको छ।

नदी थुनिएर बनेका बाँध जस्तै अर्को जोखिम हो– हिमताल। नेपालका दुई हजार ३१५ हिमतालमध्ये २१ वटा जोखिमपूर्ण बनेका विभिन्न अध्ययनले देखाएका छन्। यीमध्ये पनि च्छो–रोल्पा, तल्लो वरुण, इम्जा च्छो, लुमदिङ, पश्चिम चमजाङ र ठुलगी (डोना) उच्च जोखिमयुक्त छन्। जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा.ऋषिराम शर्मा हिमतालको खतरा नांगो आँखाले मापन गर्न नसकिने बताउँछन्। त्यसमाथि, निरन्तर पराकम्पन आइरहेकाले ढुक्क भएर बस्न सकिने अवस्था बिल्कुलै नरहेको बताउँदै डा. शर्मा भन्छन्, “थोरै म्याग्निच्यूडको भूकम्प भए पनि केन्द्रबिन्दु नजिक पर्‍यो भने यी हिमतालहरूले तल्लो तटीय क्षेत्रमा विपत्को कहर बर्साउने छन्।”

हिमतालहरू फुटे भने इम्जा (दूधकोशी) ले ७ हजार ७६२, च्छो–रोल्पा (तामाकोशी) ले ५ हजार १८३, थुलगी (मर्स्याङ्दी) ले ३ हजार ८०८ र लुमुचिमी (भोटेकोशी) ले १६ हजार ३१३ जनालाई प्रत्यक्ष प्रभावित पार्ने एक अध्ययनले देखाएको छ। यसरी हेर्दा, लुमुचिमी फुट्दाको मानवीय क्षति अहिले भोगिरहेको महाभूकम्पको भन्दा दोब्बर हुने देखिन्छ।

१२ वैशाखको महाभूकम्पपछि गएका मुख्य कम्पन र ठूला पहिरोहरू।

१२ वैशाखको महाभूकम्पपछि गएका मुख्य कम्पन र ठूला पहिरोहरू।

काभ्रे, धादिङ, नवलपरासी आदि जिल्लाका विभिन्न ठाउँमा महाभूकम्पपछि यसअघि पानी नभएको ठाउँमा मूल फुटेको छ। “पानी अभाव झेलिरहेको ठाउँमा मूल फुट्नु आफैंमा राम्रो पक्ष भए पनि”, जलाधारविद् मधुकर उपाध्या भन्छन्, “त्यो अस्थायी मात्र हुन्छ र जमीनको भित्री भाग निचोरिएर एक ठाउँको पानी अर्को ठाउँमा निस्केेको हुन सक्छ।”

पानीको छ्यालब्याल भएको ठाउँ समेत केही समयपछि काकाकुल हुनसक्ने सम्भावना उनले औंल्याए। उनका अनुसार, जमीनको भित्री भागमा तीव्र असर नपरी पानी आएको हुँदैन र नसोसेको ठाउँमा पानी आयो भने त्यसले पहिरोको खतरा पनि ल्याएको हुनसक्छ।

कृषिमा नोक्सान
१२ वैशाखको महाभूकम्पले अत्यधिक क्षति पुर्‍याएका १४ सहित २३ जिल्लामा १० हजारभन्दा बढी गाई–गोरु, राँगा–भैंसी लगायतका चौपाया मरे। मरेका बाख्रा, बंगुर जस्ता साना पशुको संख्या २० हजारभन्दा बढी छ। हाँस–कुखुरा त तीन लाखभन्दा बढी मासिएका छन्। मरेका पशुपन्छीबाट मात्र करीब रु.८७ करोड नोक्सानी भएको कृषि मन्त्रालयको प्रारम्भिक अनुमान छ। तिनबाट उत्पादन हुने मल र ती चौपायाहरू खेतबारी खनजोतमा प्रयोग नहुँदा आगामी वर्षको कृषि उत्पादनमा आउने गिरावट समेत जोड्दा क्षतिको आँकडा अझ् बढ्नेछ।

कृषि मन्त्रालयका सह–प्रवक्ता शंकर सापकोटा महाभूकम्पले घरहरू भत्कँदा सञ्चित खाद्यान्न र बीउबिजनमा समेत ठूलो नोक्सानी भएको बताउँछन्। उनका अनुसार, अति प्रभावित १४ जिल्लामा एक लाख ३२ हजार टन त प्रशोधन गरिएका खाद्यान्न नै सखाप भएको छ। अन्य प्रभावित जिल्लाहरूमा थप तीन हजार टन तयार खाद्यान्न नासिएको छ। यो परिणामको सञ्चित खाद्यान्नको आर्थिक क्षति करीब रु.८ अर्ब ११ करोड हुन आउँछ।

कृषि विभाग, पशु सेवा विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र कृषि अनुसन्धान परिषद् (नार्क) का १६९ वटा भवन पूर्ण नष्ट भएका छन् भने २५४ भवनमा आंशिक क्षति पुगेको छ। कृषि मन्त्रालयले यिनको पुनःनिर्माण लागत करीब रु.१ अर्ब ११ करोड अनुमान गरेको छ। निर्माण सामग्री, ढुवानी र श्रममा भएको मूल्यवृद्धिका कारणले यी भवनहरूलाई ठड्याउन अनुमान गरेभन्दा बढी रकम लाग्ने पक्का छ।

उता, घर भत्किएकाले गाउँलेको बास, बारी र शहरियाहरूको खुला चौरमा छ। गोडमेलको समयमा मकैबारीमा पालको बस्ती विस्तार भएको छ। यसले उत्पादनमा गिरावट ल्याउनेछ भने गहुँ थन्क्याउने समयमा एकातिर भकारीहरू पुरिएका छन् अर्कोतिर परिवारका सदस्यहरू कि गुमेका छन् कि त घाइते भएका छन्। महाभूकम्पबाट अति प्रभावित १४ जिल्लाका किसानहरू करीब एक लाख हेक्टर जमीनमा रोप्ने धानको बीउ छर्न सक्ने अवस्थामा छैनन्। सिंचाइ प्रणालीका संरचनाहरू भूकम्पको चपेटामा परेका छन्। यसले उत्पादनमा प्रतिकूल असर पार्नेछ।

महाभूकम्पको दुई सातापछि सिन्धुपाल्चोकको आँपबोटेमा वृद्ध दम्पती।

महाभूकम्पको दुई सातापछि सिन्धुपाल्चोकको आँपबोटेमा वृद्ध दम्पती।

त्यसमाथि, आगामी बर्खामा कम पानी पर्ने जल तथा मौसम विज्ञान विभागको अनुमान छ। मनसुनमा कम पानी पर्ने भएपछि विभागले ५ जेठमा राजधानीमा छलफल कार्यक्रम राखेको छ। नेपालमा सामान्यतः १० जूनमा शुरू भएर २३ सेप्टेम्बरमा सकिन्छ, मनसुन। गत वर्ष २० जूनमा शुरू भएर अक्टोबर ७ मा सकिएको थियो। विभागका महानिर्देशक डा. ऋषिराम शर्मा केही वर्षदेखि नेपालमा मनसुन ढिला हुन थालेको बताउँछन्। यो साल गत मार्चमा अधिक वर्षा भएको र बर्खामा कम पानी पर्ने सम्भावना रहेको उनले बताए। महाभूकम्पले पालको बास गराएकाहरूका लागि बर्खामा कम पानी पर्नु आफैंमा राहत हुन सक्छ, सम्भावित पहिरोको जोखिम समेत कम हुने भएबाट। तर, यसले धान उत्पादनमा स्वतः प्रतिकूल असर पार्नेछ।

अति प्रभावित जिल्लाहरूका किसानलाई राहतस्वरूप आगामी ८ जेठसम्ममा धानको बीउ उपलब्ध गराउन सरकार लागिपरेको छ, तर गाउँहरूमा बीउ पाए पनि ब्याड राख्न सक्ने अवस्था छैन। सरकारले किसानलाई साना पशुपन्छी पनि अनुदानमा दिन लागेको छ। घाइते पशुपन्छीको उपचारका लागि प्रधानमन्त्री राहत कोषबाट शुरूमा रु.२ करोड ५० लाख निकासा भएको छ, तर बारम्बारको पराकम्पनका कारण कृषकहरू काममा फर्कन सकेकै छैनन्। पूर्व कृषि सचिव हरि दाहाल घरबास नै नभएका किसानहरूलाई कृषि उत्पादन बढाउन साँच्चै गाह्रो पर्ने बताउँछन्।

व्यवस्थापन विधि
१२ वैशाखको महाभूकम्पले ९० सालमा भन्दा धेरैको ज्यान लिइसकेको छ। अहिल्यैबाट सावधानी नअपनाउने हो भने आउँदो बर्खामा जनधनको क्षति हुने सम्भावना टड्कारो छ। मनसुन शुरू भएसँगै बाढी–पहिरो, चर्केका घरहरूले धेरै ज्यान लिनसक्ने सम्बद्धहरू बताउँछन्। शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक शिवहरि शर्मा चर्केको घरमा पानी परेपछि मानवीय क्षति निम्तिने संभावना रहेको बताउँछन्।

महाभूकम्पले चर्काएका घर भत्काउन सरकारले गठन गरेको समितिका संयोजक समेत रहेका शर्मा मनसुन शुरू नहुँदै जोखिमयुक्त घरहरू भत्काइसक्नुपर्ने बताउँछन्। उनी भन्छन्, “चर्केका घर अहिले टाल्न पनि हुँदैन, निरन्तर पराकम्पन आइरहेकाले हल्लिएर सिमेन्ट सेट नहुने हुनाले।”

घर भत्केकाहरूलाई यो बेला प्राविधिक परामर्श र सहयोगको ठूलो खाँचो छ। धराप बनेका भौतिक संरचनाबाट हुने मानवीय क्षति रोक्न साइनबोर्ड र प्रवेश निषेध गर्ने सूचनादेखि छोटो समयमा बस्ती नै अन्यत्र सार्नुपर्नेसम्मको आवश्यकता छ। सरकारले चर्किएका घर जाँचेर तिनीहरूको अवस्था जनाउने स्टीकर टाँसिरहेको छ, तर त्यो पर्याप्त छैन। अहिले सुरक्षित देखिएका घर–भवनको पनि आसपासको जमीन फाटेको छ भने बर्खामा पुरिन, बग्न सक्छ। “केही समयका लागि गाउँलेलाई नै जोखिम नभएका क्षेत्रमा सार्नुपर्ने भएको छ”, भूगर्भविद् प्रा.डा. मेघराज धिताल भन्छन्, “नाजुक अवस्थामा रहेका बस्तीलाई त तत्काल सार्नुपर्छ।”

अहिले राहत र उद्धारका लागि गाउँमा निर्वाचन आयोगले मतदान केन्द्र तोकेका स्थानमा ‘हेलिप्याड’ बनाइएको छ। प्रकोप व्यवस्थापन योजना नै नभएकाले हेलिकोप्टर ‘ल्याण्ड’ गरेर राहत सामग्री थुपार्न समेत समस्या भयो। विज्ञहरू अब कम्तीमा गाविसस्तरीय प्रकोप व्यवस्थापन योजना नबनाई नहुने बताउँछन्।

उनीहरूका अनुसार, अहिलेको प्रकोपबाट हेलिप्याडदेखि राहत गोदामसम्मको पाठ सिक्नैपर्छ। नेपाली र चिनियाँ भूगर्भविद्हरूको टोलीले सिन्धुपाल्चोक, नुवाकोट, रसुवा लगायतका जिल्लाका बाटा र सडकहरू आउँदो बर्खायाममा धराप हुने बताएका छन्।

पहिरोले सडक अवरुद्ध हुँदा एकातर्फ नियमित यातायात रोकिएर चीनसँगको व्यापार र भन्सार राजश्वमा घाटा लाग्ने अवस्था छ भने अर्कोतर्फ उद्धार र राहत पुर्‍याउन पनि समस्या हुन्छ। पहिरोले सडक अवरुद्ध पार्नेबित्तिकै पुनः सञ्चालनका लागि अहिलेदेखि नै योजनाबद्ध पूर्वतयारी चाहिन्छ। प्राध्यापक धिताल भूकम्पग्रस्त क्षेत्रका सडकका बीचबीचमा अहिल्यैबाट प्राविधिकहरूलाई पूर्वसूचना प्रणाली र हेवी इक्युपमेन्ट सहित तयारी अवस्थामा राख्नुपर्ने बताउँछन्।

नेपालमा जाने पहिरोमध्ये ९० प्रतिशतको कारण पानीलाई मानिन्छ। अहिले अनगिन्ती ठाउँका खेतीयोग्य जमीनमा धाँजा फाटेका छन्। ती जमीनमा यो वर्ष मकै, कोदो जस्ता पानी नचाहिने बाली लगाउनुपर्ने विज्ञहरू बताउँछन्। भूगर्भविद् डा. धिताल पहिरोको जोखिममा रहेका सडकखण्डमा दीर्घकालीन सुरक्षाका उपाय अपनाउनुपर्ने बताउँछन्। उनी भन्छन्, “सडकबाट पीडित भइरहनु भन्दा अब सुरुङ मार्ग वा रोप–वे जस्ता नयाँ प्रविधिमा जानुपर्छ।”

 गोरखाको घाप्स्या र घाप गाउँमाथि पहिरोले तोम खोलामा बनाएको बाँध। तस्वीरः नासा–जेपीएल, डिजिटलग्लोब


गोरखाको घाप्स्या र घाप गाउँमाथि पहिरोले तोम खोलामा बनाएको बाँध। तस्वीरः नासा–जेपीएल, डिजिटलग्लोब

विज्ञहरूको चेतावनी
१७ वैशाखमा काठमाडौं आएको ‘चाइना एकेडेमी अफ साइन्सेस्’ को टोलीले त्रिभुवन विश्वविद्यालय र इसिमोडका विज्ञहरूसँग मिलेर ‘प्रकोपको प्रारम्भिक नतीजा र क्षति न्यूनीकरणका रणनीति’ तयार पारेको छ। त्रिविका प्रा.डा. मेघराज धिताल, डा. विनोद दवाडी, डा. कवि राज तथा इसिमोडका समज्वलरत्न बज्राचार्य र सुदनविकास महर्जन रहेको टोलीले २०–२२ वैशाख २०७२ मा मुग्लिङ–नारायणघाट, बाह्रबिसे–कोदारी, विदुर–धुन्चे र काठमाडौं–त्रिशूली सडकखण्डको अध्ययन गरेको थियो।

टोलीले सिन्धुपाल्चोक, रसुवा र गोरखामा धेरै पहिरो गएको पाएको छ। त्यसमा पनि रसुवाको अवस्था धेरै संवेदनशील छ। त्रिशूलीको दुवै किनारामा डाँडागाउँदेखि चीन सीमासम्म नै धेरै पहिरो झरेका छन्। टोलीका अनुसार, त्रिशूलीको उक्त खण्डमा तीनभन्दा बढी ताल बनिसकेका थिए, पहिरोले नदी थुनिंदा। त्यसमध्ये ०.३ वर्गकिलोमीटरको ताल जुन तल्लो क्षेत्रका लागि खतरापूर्ण बनेको छ। सिन्धुपाल्चोकमा भने धेरै पहिरो बाह्रबिसे–कोदारी सडकखण्डमा गएको छ। त्यहाँको अरनिको राजमार्ग ठूलो खतराको रूपमा रहेकोले अहिल्यैबाट सावधानी अपनाउन टोलीले सुझाव दिएको छ।

गोरखामा चट्टान र हिउँसँगै पहिरोहरू खसेका छन् भने मुग्लिङ–नारायणघाट सडकमा ग्याबिन वालले पहिरो रोक्ने प्रयास गरिए पनि महाभूकम्पपछि त्यसले नथेग्ने विज्ञ टोलीका सदस्यहरूको भनाइ छ। भूकम्प र पराकम्पनहरूले यो सडकखण्डमा स–साना धाँजा देखिएका छन्। बाह्रबिसे–कोदारी सडकखण्डमा दुई वटा ठूला पहिरो पहिले नै गएका थिए, एउटा हिन्दी गाउँ र अर्को कोठे गाउँ नजिक। यी दुई ठाउँमा फेरि ठूला पहिरो जान सक्छन्। त्यहाँ अहिले पनि ढुंगा र ठूला चट्टानहरू खसिरहेका छन्। आउँदो बर्खाभन्दा पहिल्यै यी ठाउँमा सुरक्षाका उपाय अवलम्बन गरिसक्नुपर्ने सुझाव स्थलगत अध्ययन गरेका विज्ञहरूले दिएका छन्।

विदुर–धुन्चे सडकखण्डमा पनि चट्टानहरू खसिरहेका छन्। पहिल्यैबाट पहिरोको चपेटामा रहेको यो सडकखण्ड आउँदो बर्खामा ठूलो जोखिममा हुनेछ। काठमाडौं–त्रिशूली सडकखण्डमा पनि पहिरोहरू देखिएका छन्। १२ वैशाखको महाभूकम्पमा यो सडकमा माथिबाट खसेका ठूल्ठूला ढुंगाले गाडीहरू थिचेका थिए।
—————————————————————————————————————-

‘कृषिमा विशेष कार्यक्रम चाहिन्छ’

hariहरि दाहाल
पूर्व सचिव तथा कृषि विज्ञ

महाभूकम्पबाट बढी प्रभावित १५ जिल्लामा धान १० र मकै १८ प्रतिशत उत्पादन हुन्छ। यो वर्ष भने कृषि उत्पादनमा ठूलो असर पर्ने देखिन्छ। बारम्बारको पराकम्पनबाट त्रसित किसान काममा फर्कन पनि समय लाग्नेछ।

बीउ, मल, कीटनाशक औषधि, जोत्ने गोरु सबै कुराको अभाव छ। घरबास नै नभएपछि अरुथोक सोच्न पनि सकिंदैन। धानको सिजन आइसक्यो, कुलाहरू भत्केका छन्। सरकारले अब विशेष कृषि कार्यक्रम ल्याउनुपर्छ, साना किसानको जीविकोपार्जन बढाउने गरी।

व्यावसायिक किसानको क्षमता र आम्दानी वृद्धिका लागि छुट्टै योजना आउनुपर्छ। दीर्घकालीन कृषि विकासका लागि ग्रामीण विकास योजना ल्याउनुपर्छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>