टिप्पणीबुधबार, जेठ ६, २०७२
आत्मसम्मानसहितको पुनर्स्थापना
महाविपत्पछि आत्मनिर्भर समाज बनाउने हो भने हामीभित्रैका परम्परागत संस्कार र सामर्थ्य जगाउनुको विकल्प छैन।
करीब डेढ दशकअघि ‘सहभागितामूलक विपत् व्यवस्थापन’ सम्बन्धी अध्ययनको सिलसिलामा म स्याङ्जा जिल्ला बहाकोटस्थित काउले र छिमेकी बस्ती पुगेको थिएँ। त्यहाँका अधिकांश युवा वैदेशिक रोजगारीमा र उता नपुगेका पनि गाउँबाहिरै बस्थे। गुरुङबाहुल्य ती बस्ती अघिल्ला वर्षमा मात्र पहिरोमा पुरिएका र ठूलो क्षति बेहोरेका थिए।
बस्तीमा पहिरोका डोब मेटिइसकेका थिएनन् तर लाग्थ्यो समुदाय पूरै तङ्ग्रिसकेको छ। बस्ती पुनर्स्थापित भइसकेको थियो। एउटा परिवार मात्र गाउँ फर्केको थिएन, त्यो पनि स्वेच्छाले। मनमा त्रासको धमिलो चित्र त थियो तर गाउँले खुलेर हाँस्न थालिसकेका थिए।
पहिरोले तहसनहस भएको समाज एक–दुई वर्षभित्रै कसरी पुरानै अवस्थामा फर्कन सम्भव भयो? त्यही कथा बताउन गाउँमा लोग्नेमानिस र युवा थिएनन्। थिए त आमा समूहका जाँगरिला आमा। विदेशमा बस्नेहरूले, पोखरालगायत अन्यत्रका आफन्तजनले जुटाइदिएको आर्थिक भरथेग र आमा समूहको सामूहिक संघर्ष र सामुदायिक प्रयत्नबाट त्यो स्थिति सम्भव भएको थियो।
सामूहिक दुःख सामूहिक रूपमै साटे, सामूहिक रूपमै जुधे। सामूहिक बसाइँ, खानपान, प्रयत्न तथा पुनर्स्थापना अपनाए र त्यसको नेतृत्व आमाहरूले गरे। विपत्पछि पूर्वावस्थामा फर्कन आमा समूहले जुन प्रकारको सामाजिक पूँजीको उपयोग र उदाहरण स्थापना गरे, त्यो हाम्रो मौलिक परम्परा, सामर्थ्य थियो।
१२ वैशाखको भूकम्प र पराकम्पनले ल्याएको महाविपत्को आयतन पहिलेका कुनै विपत्सँग तुलना हुँदैन। तर, पुनर्स्थापनाका लागि गरिने सामूहिक प्रयत्न र अभ्यासका उदाहरण एका–दुई बाहेक सुन्नमा आएनन्। जुन अपेक्षित र आवश्यक थियो।
उसो भए के हामीले स्याङ्जाका आमाहरूले अवलम्बन गरे जस्ता परम्परागत, प्रथाजनित सामर्थ्य गुमाइसक्यौं? वा त्यो ज्यादै निम्छरो अवस्थामा छ? जवाफ सहज छैन। महाविपत्मा राहतकार्य विस्तार हुँदो छ। पीडित र प्रभावित क्रमशः तङ्ग्रिदै छन्। तैपनि यसका अल्पकालीन र दीर्घकालीन असर र प्रभाव अगणितीय छन्/हुनेछन्। जनधनबाहेक जनस्वास्थ्य, शिक्षा, वातावरणीय, कृषि (खेती र पशुपालन) र जीविकोपार्जनमा आउने संकुचनसहितको थप भारले हामीलाई लामो समयसम्म पछि पार्नेछ।
त्यसो भए के हामीसामु अँध्यारो मात्र छ त? पक्कै होइन। भूकम्पले केही अवसर साथै लिइआएको छ। प्रश्नचाहिं ती अवसरको सही पहिचान र रणनीतिक उपयोगको हो।
सामाजिक पूँजीको सहारा
सामान्यतः सामूहिक हित निर्माण वा उत्पादन गर्न सक्ने स्रोतको रूपमा रहेको सामाजिक संरचनाको त्यो पक्ष सामाजिक पूँजी हो जसका आधार र अवयव आपसी विश्वास, सामूहिक हितोन्मुख सामाजिक मान्यता र संजाल हुन्। यस्तो पूँजीले आपसी हितका खातिर गरिने सहकार्यलाई सहजीकरण र सम्भव तुल्याउँछ। मानवीय स्रोत र भौतिक पूँजीको कमी भएकाहरूलाई यस्तो पूँजीले सामाजिक सुरक्षा सञ्जालको काम गर्छ।
नेपाली सन्दर्भमा भौगोलिक, सामाजिक, सांस्कृतिक समूहबीच फरक–फरक शैली र संरचनाका सामाजिक सुरक्षा सञ्जालको अस्तित्व भेटिन्छ। आमा समूह, पर्म–परेली, खेडी, सघाउपघाउ, भेजा, रोधी, छिजोक, किदूकसँगै गुठी, बडघर वा ख्याल, मजिहड्म, खमारी चोखा, गरामती समाजका यस्ता चरित्र हुन् जसले आर्थिक, सामाजिक, सांस्कृतिक निरन्तरता र पुुनरुत्पादन सम्भव गराइरहेको थियो।
यस्ता सामाजिक अवयवले समुदायमा सामूहिक भाव निर्माण गरिरहन्थ्यो, एक्लो वा निरीह हुन दिंदैनथ्यो। ‘एकका लागि सबै र सबै सबैका लागि’ भने जस्तै। अर्थतन्त्रको स्वरुप तथा जीविकोपार्जनका उपायमा आएको परिवर्तन, आयातित वा थोपरिएको विकास मोडेलले हाम्रा सामाजिक पूँजीलाई कमजोर र विलुप्त पार्दै लग्यो। क्रमशः धेरैले पारिवारिक तहमा सम्भव समृद्धि पनि गुमाउँदै गए।
भूकम्पपछिको एक साता अकल्पनीय त्रासको समय थियो। पीडित र प्रभावितहरू आफूसँग बचेखुचेका अत्यन्त सीमित वस्तुका भरमा बाँच्ने अभ्यास गरिरहेका थिए। त्यो बेला गाउँ र शहरका भिन्न समाचार आउने गर्थे। शहरमा ठूलो भूकम्पको हल्ला, चोरी, महिलाका पालभित्र नचिनिएका पुरुष प्रवेश, राहत वितरणमा दुरुपयोग, छिनाझप्टी, कालोबजारी आदि। काठमाडौंको उत्तरपूर्वी एउटा बस्तीमा एक मात्र सद्दे घरका धनीले नै बढी राहत कुम्ल्याएको पनि देखियो। राहत तुलनात्मक रूपले व्यक्तिकेन्द्रित देखियो।
उता गाउँबाट आउने समाचार अर्कै थियो। उनीहरूसँग जे छ बाँडीचुँडी खाए, मिलेर बसे, दुःखमा सक्दो साथ दिए। पाल नपुगेको ठाउँमा बरु सबै खुला आकाशमुनि बसे तर कसैलाई काखा–पाखा गरेनन् आदि।
यो नै शहरी, बजार र ग्रामीण क्षेत्रको मूल चरित्र थियो। सामान्यीकरण गर्न नमिल्ला, तर शहरमा कमजोर हुँदै गएको सामूहिक हित, आपसी विश्वास र भरोसा गर्ने संस्कार अझ्सम्म ग्रामीण क्षेत्रमा बाँकी छ। शहरी गरीब आर्थिक मात्र होइन सामाजिक पूँजीका अर्थमा पनि गरीब हुन्छन् तसर्थ उनीहरू बढी जोखिम, अनिश्चिततामा हुन्छन्। तङ्ग्रिन सक्ने सामर्थ्य र पुनर्स्थापनामा पनि अरूभन्दा कमजोर हुन्छन्। श्रम बेच्नेबाहेक ऋण, राहत जस्ता आर्थिक अवसरहरूमा पनि उनीहरूकै पहुँच कम हुन्छ।
तर, चिन्ताको कुरा चाहिं ग्रामीण क्षेत्रमा समेत जुन तहमा सामाजिक पूँजीको उपादेयता प्रमाणित हुनुपर्दथ्यो त्यो देखिएन भन्ने हो। यदि त्यस्तो हुँदो हो त पीडित र प्रभावितहरू व्यावहारिक रूपमै अहिलेभन्दा बढी तङ्ग्रिसकेका हुन्थे, अहिलेभन्दा कमै निरीह मानसिकतामा हुन्थे, बेसहारा महसूस गर्नेहरू झ्नै कम हुन्थे।
एउटै घर पनि सग्लो नरहेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाभित्रैको एउटा गाउँमा भने गाउँलेहरू भूकम्पको चौथो दिनमै घरका भग्नावशेष पन्छाउँदै पुरिएर मरेका गाईबस्तु र अन्न उत्खनन् गरिरहेका देखिन्थे। सामूहिक प्रयासविना त्यो कठिन थियो तर उनीहरू आफ्नै चिन्ता र समस्या प्राथमिक ठान्दै एक्लाएक्लै खोतलिरहेका थिए। यदि १० परिवार मिलेर पालैपालो यही काम गरे १० दिनमा नै सबै सकिन्थ्यो।
उता पर्वतको सिल्मी गाउँका प्रभावितहरू उही पुरानै अर्म–पर्म अनि सघाउपघाउ शैलीमा सामूहिक रूपमा गाउँको पुनःनिर्माण र पुनर्स्थापनामा लागिपरेका थिए। यसो गरिरहँदा सिल्मी गाउँलेका आँखा र आवाजमा आत्मविश्वास र स्वाभिमान भाव देखिन्थ्यो, जुन सिन्धुपाल्चोकवासीको आँखामा खोजेर पनि पाइँदैनथ्यो। महाविपत्पछिको पुनर्स्थापना र पुनःनिर्माणमा सामाजिक पूँजीको महत्व यहींनेर पुष्टि हुन्छ।
परनिर्भरताको खतरा
अहिलेको प्रश्न भनेको त्यसखाले सामाजिक पूँजी कसरी पुनःनिर्माण गर्ने र उपयोगमा ल्याउने भन्ने पनि हो। राहत वितरण र लगत्तैका गतिविधि नियाल्ने हो भने पनि बाहिरका कुरालाई जोड र स्थानीय स्रोत, साधन, सामर्थ्यमा कमै चासो देखिन्छ। यस्तो अभ्यासले पीडितलाई लामो समयसम्म राहतमुखी, पर–आशामुखी र परनिर्भर बनाउँछ। ‘आफैं गर्न सक्छौं’ भन्ने भाव र स्वाभिमान कमजोर बनाउँदै लैजान्छ।
अध्ययनहरूले सामाजिक पूँजी सम्पन्न गाउँहरूमा तुलनात्मक रूपले पारिवारिक समृद्धि र अवसर अन्यत्र भन्दा राम्रो देखाएका छन्। साथै यस्तो समाजमा परिवार, छिमेक, साथीभाइले निर्वाह गर्न सक्ने सामाजिक सुरक्षाको प्रत्याभूति र प्रकार्य पनि मजबूत हुन्छ। औपचारिक, अनौपचारिक रूपमा वित्तीय पूँजी, शिक्षा, स्वास्थ्यमा पहुँच, सामाजिक न्याय आदिमा पनि सामाजिक पूँजीको महत्वपूर्ण भूमिका हुन्छ नै।
निरन्तरको अन्तरक्रिया, छलफल, सूचना र जानकारीको आदानप्रदानले पनि विश्वास बढाउँछ। बाँडीचुँडी खाने, अरूको पीडामा संवेदनशील हुने र सहयोगी हात बढाउने व्यवहारलाई संस्थागत गर्दै लैजान सकिन्छ। जब यस्तो संस्कृति विस्तार हुँदै जान्छ, तब मात्र आत्मस्वाभिमान सहितको पुनर्स्थापना र पुनःनिर्माणले सही अर्थ पाउँछ। वित्तीय पूँजीको उपलब्धता र अहिलेकै जस्तो भौतिक संरचना पुनःनिर्माण मात्रले चाहे जस्तो समाज निर्माण सम्भव हुँदैन। यसतर्फ विचार पुर्याउने सही अवसर यही नै हो। ढिला गरिनुहुन्न।
सामाजिक पूँजीको पुनरुत्पादन, पुनर्स्थापना र उपयोग खासमा कस्तो समाज, कस्तो विकास, कसको विकास, कसको नेतृत्वमा विकास, कस्तो लोकतन्त्र भन्नेसँग जोडिएको प्रश्न हो। यसबारे थप छलफल जरूरी भइसकेको छ।