रमझमसोमबार, जेठ ११, २०७२
कालरात्री सकियो, उज्यालो विहान उदाउँदैछ
निर्धारित समय अनुसार ठीक नौ बज्दा दुबईस्थित ‘अल नासेर लिजर ल्याण्ड’को ‘आइस रिंक’मा नेपथ्य घन्किन सुरु भयो ।
‘‘म हिँड्दै पुगेका थुप्रै गाउँ यतिबेला भग्नावषेशमा परिणत छ । रोधीघरहरु भत्किएका छन् । तिनैको स्मृतिमा त्यतैका रोधीहरू गाउन चाहन्छु’’, नेपथ्य टोलीका अगुवा एवम् मुख्य गायक अमृत गुरुङले गाउन थाले ‘‘सरुमा रानीको आँसुको कस्सम्…’’
कार्यक्रम महाभूकम्पबाट ज्यान गुमाएका र भत्केको सम्पदाहरुको सम्झनामा भएको थियो । ‘अभाव अभावै भयो’ गीतमा भत्किएका सम्पदाहरु र ‘यो जीन्दगानी’मा मानवीय भोगाइका दृश्यहरु पृष्ठभूमिमा देखाइँदा दर्शकहरु पनि मन थाम्न सकेनन् ।
नेपथ्यको सर्वकालीक लोकप्रिय ‘जीवन हो घाम छायाँ’ गाइसकेपछि अमृत फेरि दर्शकसामू केहि बोल्न उत्सुक देखिए ।
‘‘हामी यो विपत्तिबाट बाहिर निस्कँदै फेरि जीवनको बाटोमा बढ्नु जरुरी छ । आशा गरौं कालो रात्री सकिएको छ र विहानको उज्यालो फेरि हाम्रो निम्ति उदाउँदैछ । शोकलाई शक्तिमा बदल्दै अब पुननिर्माणमा कस्सिनु समयको माग हो ।’’
उनले अर्काे नयाँ गीत सुनाए । तत्कालै दर्शकहरुले सुन्दै आएको पुरानै गीतजस्तै अमृत सँगसँगै गाएर साथ दिएका थिए । साँझ जसै अघि बढ्दै गयो उसैगरी नेपथ्यका गीतहरु र अमृतका भनाइहरुसँग दर्शक मन घोलिँदै गएको थियो ।
‘‘हामी नेपालीहरु घर परिवारका निम्ति भनेर यति पर आइपुगेका छौं । आज आफन्तका निम्ति तपाइँको सबैभन्दा बढी जरुरी परेको छ । मिल्छ भने थोरै समयका निम्ति भए पनि छुट्टी लिएर उनीहरुलाई भेट्न जानुस् । तपाइँको उपस्थिती र तपाइँका पौरखी हातहरुको आज असाध्यै जरुरी परेको छ ।’’ उनले आग्रह गरे ।
कार्यक्रमको हिसाब किताब भइसकेपछि पूर्व घोषणा अनुसारै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा गरिने जानकारी गराइयो । कार्यक्रममा ‘भेँडाको ऊनजस्तो’ गाउनुअघि अमृतले यस गीत संकलनका निम्ति लाङटाङ क्षेत्रमा बिताएका क्षणहरुको सम्झना पनि गरेका थिए । यतिबेला भुकम्पले गर्दा आएको पहिरोमा पुरिएर सिँगो लाङटाङ गाउँको अस्तित्व नै लोप भइसकेको छ ।
कार्यक्रममा अमृतलाई ड्रमसेटमा ध्रुव, किबोर्डमा सुरज, बेसमा सुविन, गितारमा निरज र मादलमा शान्तिले साथ दिएका थिए ।