Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
वनस्पतिका विश्वकोश - Himalkhabar.com

थप समाचारबिहीबार, जेठ १४, २०७२

वनस्पतिका विश्वकोश

हिमालखबर

एसएलसीका ‘थर्ड डिभिजन’ डा. केशवराज राजभण्डारी (६६) आज एशियामै उत्कृष्ट वनस्पति वैज्ञानिक मानिन्छन्।

– रविन गिरी

IMG_3015काठमाडौं, भेडासिंका ढुण्डीराज राजभण्डारी हिंड्नुअघि सगुन लिंदा ‘अब भेट नहुन पनि सक्छ’ भन्दै सबैसँग विदा माग्थे। हरेक पटक लाहुरेले झैं विदा माग्ने उनी ब्रिटिश–गोर्खा पल्टनका पल्टने भने थिएनन्, तर जाने देश बेलायत हुन्थ्यो।

चन्द्रशमशेरका पालामा राणाहरूलाई बेलायती सामान आपूर्ति गर्ने थोरै व्यापारीमध्ये एक थिए, साहू ढुण्डीराज। ऊबेला बेलायत पुगेर फर्कन ६–७ महीना लाग्थ्यो।

राजभण्डारी परिवारलाई लामो समय घरबाहिर बिताउनुपर्ने जोगमेसोले कहिल्यै छाडेन। ढुण्डीराजका छोरा मदनराज राजभण्डारी पनि दोस्रो विश्वयुद्धभर बेलायती सेनाकै प्राविधिक भएर बर्मामा खटिए। त्यसबेला परिवारमा सगुन र बिदाइको सिलसिला ५–६ वर्ष चल्यो।

बाबु व्यापारका लागि विदेशिन्थे, छोरा पेशाका लागि। मदनराजका छोरा केशवराजले पनि लामो समय घर छाड्ने लाइन लिए, तर बाजे र बाबुको भन्दा नयाँ उद्देश्यले देशभित्रै। सन् १९७६ पछिका दिनहरू सम्झ्ँदै उनी भन्छन्, “चार–पाँच महीनासम्म जंगलैजंगल, भीरपहरा डुलिन्थ्यो, कसैको खोजखबर पाइन्थेन, सगुनकै बलले बाँचेर फर्कन्थें।”

फिरन्ते लाइन

बर्माबाट फर्केपछि मदनराज राजभण्डारी विराटनगर बसाइँ सरे। बिजुलीका प्राविधिक उनी नेपाली कांग्रेसको राजनीतिमा पनि लागे। केशवराज त्यही बेला जन्मिए। २००७ सालको सरगर्मीमा मदनराज सपरिवार भेडासिं फर्किंदा बुबाको चर्चित श्रीगणेश स्टोर बन्द भइसकेको थियो।

उनी विश्वज्योति हलमा प्राविधिक काम गर्न थाले, छोरा केशवराज इन्द्रचोकको नेपाल आदर्श विद्या मन्दिरमा भर्ना भए। “कक्षा कोठामा उडुसको राज हुन्थ्यो”, केशवराज सम्झ्न्छन्, “शिक्षकहरू परालको मुठोले उडुस मार्न लगाउँथे।”

उडुस मार्दामार्दै उनले तेस्रो श्रेणीमा एसएलसी पास गरे, सन् १९६५ मा। उनलाई डिग्री भने विज्ञानको लिने मन भएर अमृत साइन्स क्याम्पसमा प्रवेश परीक्षा दिए। तर, दोस्रो सूचीमा पनि नाम नपरेपछि उनले मन मारेर त्रिचन्द्र क्याम्पसमा कमर्श ज्वाइन गरे। “पहिलो दिनको कक्षाबाट बाहिरै थिएँ, एउटा साथी दौड्दै आएर अस्कलमा तेरो नाम निस्कियो भन्यो”, केशवराज भन्छन्, “अस्कलबाट आईएस्सी र त्रिचन्द्रबाट बीएस्सीमा क्याम्पस ‘टप’ गरें।”

एमएस्सी वनस्पतिशास्त्रमा सन् १९७३ को ‘गोल्ड मेडलिस्ट’ केशवराज नै भए। एमएस्सीको मार्कशीट निकालेकै दिन उनी त्रिविमा असिस्टेन्ट लेक्चरर भए। उनी विद्यार्थीलाई चौरका घाँस टिपेर त्यसबारे बेलिविस्तार लगाउँथे। “पूरै त्रिवि कम्पाउन्डमा ४०० प्रजातिका घास छन्, मैले त्यतिबेलै गनेको”, उनी भन्छन्। तर, त्यसको दुई वर्षमै उनलाई ‘हाई अल्टिच्युडको बिरुवा मिडल अल्टिच्युडमा परेजस्तो’ लाग्यो। उनी अध्यापन छाडेर सहायक वैज्ञानिक पदमा वनस्पति विभाग पसे। त्यसपछि शुरू भयो सगुन सन्दर्भ।

पचहत्तरै जिल्ला

Self with Rheum nobile - Thudam pass, 4350m -  1978.7.11१९७६ मा केशवराजले साढे चार महीना लगाएर धनगढीबाट पैदल बझ्ाङको सैपाल हिमाल छिचोले। फर्कंदा बझाङमा एक साँझ् खप्तड बाबासँग बिताएका उनी कर्णाली तरेर डोल्पो, ढोरपाटनहुँदै पोखरा निस्के। डोल्पो पुग्नुअघिको भेरीको भीर सम्झ्ँदा अहिले पो उनको आङ सिरिङ्ग हुन्छ। “बैंसका दिनमा त्यो भीर छिचोलियो”, केशवराज भन्छन्, “महाकालीको तीरैतीर हिंडेर दार्चुलाको तिनकर निस्कँदाको कथा एकबसाइमा पूरा हुँदैन।”

अहिले स्वाइन फ्लुको महामारी फैलिएको जाजरकोटमा पहिलोपटक १९७९ मा पुग्दा उनलाई काठमाडौंको शासक र जाजरकोटका झिंगा उस्तै हुन् भन्ने लागेको थियो। गाउँको कष्ट देख्दा रुन मन लाग्थ्यो, तर त्यो बेला महामारी भन्ने सुनिएको थिएन। त्यसताका संखुवासभा र धनुषा पुग्दा पनि उनले गाउँको दुःख उस्तै देखे। “बाहिरका मान्छे देख्दा गाउँलेले आशापूर्ण नजरले हेर्थे”, केशवराज सम्झ्न्छन्।

उनी फुल्ने र नफुल्ने वनस्पतिका नमूना संकलन गर्दै ७५ वटै जिल्लाका कुनाकाप्चा पुगे, तिनको वैज्ञानिक पहिचान गरे। उनले ती सबैको नमूना गोदावरीस्थित राष्ट्रिय हर्बोरियममा राखिदिएका छन्।

केशवराज राजभण्डारीले नेपाली भीरपाखा चहार्दा चहार्दै सन् १९८९ मा जापानको टोकियो विश्वविद्यालयबाट ‘प्लान्ट ट्याक्सोनोमी’ मा विद्यावारिधि गरे। टोकियो विश्वविद्यालयमा प्रवेश पाउनु विज्ञानका विद्यार्थीहरूको सपना हुन्थ्यो, अहिले पनि छ। “मैले त्यहाँबाट डक्टरेट गर्दा धेरैले मलाई ‘राम्रो स्कूलमा पढेको हुनाले यत्रो नामी विश्वविद्यालयमा भर्ना पायौ’ भने”, केशवराज भन्छन्, “उडुसले टोक्ने कक्षा कोठा र एसएलसी थर्ड डिभिजनको कुरा तिनलाई के थाहा!”

वनस्पतिका ‘नयराज पन्त’

वनस्पति विभागले आफ्नो ५५औं स्थापना दिवसको अवसर पारेर २९ चैत २०७१ मा डा. केशवराज राजभण्डारीलाई पुरस्कृत गर्‍यो। वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठ राजभण्डारीलाई नेपाली इतिहासका सुप्रसिद्ध वेत्ता नयराज पन्तको उपमा दिंदै ‘वनस्पतिका नयराज पन्त’ भन्छन्। “घाँस प्रजातिका वनस्पतिका लागि उनी एशियाकै उच्चस्तरीय वैज्ञानिक हुन्”, डा. श्रेष्ठ भन्छन्।

हुन पनि, नेपालमा वनस्पतिका नयाँ प्रजाति पत्ता लगाउने, नेपालका तर्फबाट संसारलाई नयाँ प्रजातिका वनस्पति दिने, विश्वप्रसिद्ध जर्नलहरूमा १२० भन्दा बढी अनुसन्धानात्मक आलेख छपाउने एक्ला वैज्ञानिक डा. केशवराज राजभण्डारी नै हुन्। राष्ट्रिय हर्बोरियममा भएका वनस्पतिका डेढ लाख नमूनामध्ये करीब एकलाखका संकलनकर्ता उनी नै हुन्। नेपालका फूल फुल्ने ४ हजार ४४३ प्रजातिमध्ये आधाको पहिचान उनैले गरेका हुन्।

तीमध्ये १०० भन्दा बढी प्रजाति नेपालका लागि नयाँ हुन् भनेर पनि उनैले प्रमाणित गरे। विश्वमै नयाँ अर्थात् ‘न्यू टु साइन्स’ मा १४ वटा वनस्पति (१३ प्रजाति र १ भेराइटी) पत्ता लगाउने एकमात्र नेपाली वैज्ञानिक पनि डा. राजभण्डारी नै हुन्। विदेशी भूमिमा नयाँ वनस्पति पत्ता लगाउने पनि उनै हुन्।

वनस्पतिबारे उनका १७ वटा पुस्तक प्रकाशित छन्। उनी ‘फ्लोरा अफ नेपाल, भोल्युम ३’ सहित थप पाँच वटा पुस्तकको सम्पादक हुन्। रोयल बोटानिक गार्डेन, एडिनवर्गका डा. एचजे नोल्टीले पत्ता लगाएको वुकी प्रजातिको वनस्पतिको नाम नै ‘पोआ राजभण्डारीआई’ राखेका छन्।

विश्व वनस्पति विज्ञान जगतमा यो ठूलो सम्मान हो। त्यसो त, डा. राजभण्डारीले पनि विश्वका लागि नयाँ १३ प्रजातिका वनस्पतिको नाम नेपालका पुराना वनस्पतिविद् र स्थानको नामबाट राखिदिएका छन्।

अहोरात्र वनस्पति–चिन्तनमा रहने डा. राजभण्डारी २००६ मा वैज्ञानिक अधिकृतबाट सेवानिवृत्त भए पनि अनुसन्धानमा सक्रिय नै छन्। उनी अहिले नेपालका सल्ला, खेतबारीमा पलाउने झारपात, राष्ट्रिय हर्बोरियममा अनुसन्धान हुन बाँकी वनस्पतिका नमूना र नेपाली वनस्पतिका जातीय नाम तथा उपादेयताबारे चार वटा पुस्तक निकाल्ने तयारीमा छन्।

ठट्यौलो स्वभावका डा. राजभण्डारी आफूलाई ‘सेटिङ सन्’ (अस्ताउँदो सूर्य) भन्छन्। यद्यपि, उनी ‘पोआ राजभण्डारीआई’ को रूपमा ‘पेरेनियल’ (सदावहार) भइसकेका छन्।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>