थप समाचारशनिबार, जेठ १६, २०७२
‘अब म के भनुँ?’
-देवकी बिष्ट
१२ वैशाख दिउँसोको १२ बज्नै लाग्दा थाङपालकोट–२ सिन्धुपाल्चोकका कान्छा पाखि्रन (४०) गाउँमा मकै गोड्ने खेताला लागेका थिए।
उनको दुई महीनाको कान्छो छोरो घरभित्रै कोक्रोमा निदाइरहेको थियो भने दुई वर्षको माइलो छोरो भाइछेउमै खेलिरहेको थियो। कान्छाकी आमा र श्रीमती चमेली खाना खाएर आँगनमा निस्कँदैथिए। त्यत्ति नै बेला महाभूकम्प आयो। सासू–बुहारी दौडेर भित्र के पसेका थिए, गर्लम्म घर लडेर पुरिए।
केहीबेरपछि भेला भएर उद्धारमा जुटेका गाउँलेले राम्ररी कान नसुन्ने ८० वर्षीया बहादुर हजुरआमालाई दुई वर्षको नाति टिपेर सकुशल ढोकासम्म ल्याइपुर्याएको पाए, तर दलिनले किचेर उनको खुट्टा भाँचिएको थियो।
चमेलीले पनि घरभित्र सानो छोरोलाई छोपेर जोगाएको भेटियो, उनको भने प्राणपखेरु उडिसकेको थियो। उनले आफू मरेर बचाएको छोरो अर्को ठूलो कम्पन आएको २९ वैशाखसम्म बाँच्यो। अचानक जीवन उजाडिएका कान्छालाई लाग्छ– आमाको खुट्टा नभाँचिएको भए कान्छो छोरो पनि स्याहार पाएर बाँच्थ्यो कि!
महाभूकम्पको चौथो दिन १५ वैशाख उद्धार हेलिकोप्टर थाङपालकोट ओर्ल्यो, तर अस्पतालमा कुर्ने मान्छे नभएको भन्दै खुट्टा भाँचिएकी आमालाई उडाएन। उनी अझ्ै ओछ्यानमा लडेर खुट्टा दुखेको पीडा सहिरहेकी छन्।
धन्न, घरमा १३ वर्षकी जेठी नातिनी किसानी छिन्, जसले हजुरआमालाई तातोपानी तताएर पिलाउन सक्छिन्। कान्छा त आफैं रनभुल्लमा परेका छन्। “यो छोरो जीवन हो, यो बाँच्यो तर आमा कहाँ छ, यसलाई थाहा छैन”, छोराछोरी देखाउँदै उनले भने, “जेठो छोरो सन्दिप पनि बेला–बेला आमा खै भनेर सोध्छ। म के भनुँ?”
कृषि मजदूरीको भरमा जहान पालेका कान्छाका तीन छोरा र दुई छोरीमध्ये कान्छी छोरीलाई उनका दाजुले भारतको दिल्लीमा आफूसँगै राखेका छन्।
देवरमाथि विपत्ति आइपरेको सुनेर रातारात दौडिंदै आएकी भाउजू गीताले अहिले यो परिवारको स्याहार गरिरहेकी छिन्, तर सधैं बसेर सघाउने अवस्था उनको पनि छैन। दिल्लीमा एक कक्षामा पढ्दै गरेकी भतिजी कृतिलाई आमा बितेको सुनाउन अझै नसकेको उनले बताइन्।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
