थप समाचारआइतबार, जेठ १७, २०७२

मास्टरसाप, विद्यालय त भत्कियो, कसरी चलाउने होला ?

हिमालखबर

-रमेश लम्साल

Rss_Images_1433060547769_RL-KTM- Gorka aarughat  (6)“मास्टरसाप, तपार्इंले नै पढाउनुभएको धेरै दुःखले खडा गरेको विद्यालय आज भग्नावशेषमा परिणत भयो, विद्यार्थीका लागि बस्न योग्य छैन । भूकम्पले घर भत्कियो, विद्यालय भत्कियो, तपार्इं त विश्वले चिनेको ठूलो मान्छे, लौ न विद्यालयलाई पूर्ववत् अवस्थामा फर्काउन सहयोग गरिदिनुपर्‍यो ।”

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल भीमोदय उच्च माध्यमिक विद्यालयमा शिक्षकका रुपमा कार्यरत रहँदा उनको घरबेटी रहेका यो भनाइ गोरखा आरुघाटका भुवनप्रसाद श्रेष्ठको पुकार हो यो ।

‘गोरखा भूकम्प’ले ध्वस्त पारेको आरुघाट बजार र भीमोदय उमाविको स्थलगत अवलोकन गर्न पुगेका दाहाललाई देख्नेबित्तिकै श्रेष्ठले अरु ठूलो माग राखेनन्, आफैंले पढाएको विद्यालयलाई पूर्ववत् हालतमा पुर्‍याइदिन आग्रह मात्रै गरे । २०३३ मा दाहाल श्रेष्ठको घरमा बसेका थिए ।

आफ्नो घरमा डेरा गरी बसेका एमाओवादी अध्यक्ष दाहाल, सोही विद्यालयका प्रधानाध्यापक एवम् पूर्व मन्त्री रामकुमार श्रेष्ठ र नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले संयुक्त रुपमा पसिना बगाएको विद्यालय आज खण्डहर भएको छ ।

आरुघाटवासीले अध्यक्ष दाहालसँग ठूलो अपेक्षा गरेनन् । बस्ने घर छैन, खाने अन्न छैन, तर उनीहरुले घरभन्दा ठूलो विद्यालय मानेका छन् । उनीहरु घर त विस्तारै बनाउँदै जाउँला भन्ने सोचमा छन् ।

तर, विद्यालयलाई पहिलो प्राथमिकतामा राखेका छन् । शिक्षकका रुपमा तत्कालीन समयमा कार्यरत एमाओवादी अध्यक्ष दाहाल विद्यालयको अवस्था देखेर एकछिन भावुक बने ।

अध्यक्ष दाहालसँगै अध्यापन गरेका अर्का पूर्व शिक्षक गणेशकुमार श्रेष्ठ पनि विद्यालयलाई तत्कालै पूर्ववत् अवस्थामा पुर्‍याउन आग्रह गर्छन् । “हामीलाई अरु केही आवश्यक छैन, विद्यालय बनाइदिनुपर्‍यो, तपाईंले पहल गर्नुभयो भने केही हुन्छ”, श्रेष्ठले दाहाललाई भनेे ।

उनलाई जवाफ दिदै दाहालले भने, “सानो सहयोगका रुपमा ५१ बन्डल जस्तापाता ल्याएको छु । आगामी दिनमा थप सहयोग उपलब्ध गरौँला, धन्दा नमान्नुस् । विद्यालय पूर्ववत् अवस्थामा फर्कन्छ ।”

आरुघाटका अर्का स्थानीयवासी भरतप्रसाद श्रेष्ठ पनि ढलेको घर र भत्किएको आशाभन्दा ज्ञानको मन्दिर उजाडिएकामा चिन्तित थिए । अध्यक्ष दाहालकै प्रेरणामा स्थापना गरिएको भीमोदय उमावि नजिकैको अर्को विद्यालय श्री जनशक्ति निमावि पनि भग्नावशेषमा परिणत भएको छ ।

उक्त विद्यालयका प्रधानाध्यापक हरिहर श्रेष्ठ पनि अध्यक्ष दाहाललाई पूरानै प्रश्न गरे, “सर, यो विद्यालय पनि तपाईंकै देन हो ? भैँचालोले भत्काइदियो, अब के गर्ने होला ?”

भीमोदय उमाविका प्रधानाध्यापक मनप्रसाद बन्जराका अनुसार हाल सो विद्यालयमा ७५० विद्यार्थी अध्ययनरत छन् । स्थानीय साधन स्रोत प्रयोग गरेर भीमोदय बहुमुखी क्याम्पस पनि सञ्चालन गरिएको छ ।

क्याम्पसमा दुई सय विद्यार्थी अध्ययनरत छन् । कुल २९ वटा कक्षाकोठामध्ये २१ वटा पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । बाँकी रहेका कक्षा पनि अध्यापनका लागि योग्य छैनन् ।

सो विद्यालयको अस्थायी टहरा निर्माणका लागि हाल एमाओवादीका स्थायी समिति सदस्य जनार्दन शर्माको नेतृत्वमा एक हजार पाँच सय नेता तथा कार्यकर्ता परिचालित भएका छन् ।

रासससँग कुरा गर्दै एमाओवादी स्थायी समिति सदस्य शर्मा भीमोदय उमाविमा कक्षा सञ्चालन गर्न मिल्ने आठ कोठा निर्माण गरिने बताए । सरकारले आजदेखि भूकम्प प्रभावित क्षेत्रमा विद्यालय सञ्चालन गर्ने जनाए पनि अधिकांश विद्यालयमा अस्थायी संरचना निर्माणको क्रम जारी रहेका कारण केही दिन अझै असम्भव जस्तो देखिएको छ ।

भीमोदय उमाविका प्रधानाध्यापक बन्जरा एमाओवादीको टोलीले विद्यालय सञ्चालनका लागि बनाइदिएको अस्थायी टहरा तत्कालका लागि उपयोगी हुने बताउँछन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>