रिपोर्टमंगलबार, जेठ १९, २०७२
विवेकी पुस्ता, विपतमा जो जुर्मुराए (पूर्ण रिपाेर्ट)
महाभूकम्पको विपत् व्यवस्थापनमा स्वविवेकले खटेका युवाले सरकारको भरोसा, राजनीतिक दलको आशा गरेनन् । न हल्ला गरे न कसैको आलोचना । मनको आदेश माने र चूपचाप भत्किएका घर र मन जोड्ने कोशिश गरिरहेका छन् ।
-डम्बरकृष्ण श्रेष्ठ र सजना बराल
१२ वैशाखको महाभूकम्पलगत्तै राजधानीदेखि काभ्रे, सिन्धुपाञ्चोक, धादिङ, दोलखा, रसुवा, नुवाकोट, भक्तपुर लगायतका संकटग्रस्त क्षेत्रमा खटिएका अधिकांश युवाले न कुनै राजनीतिक दलको झ्न्डा बोके न प्रचार नै खोजे । सरकारी संयन्त्र र दलहरू सक्रिय हुनुअगावै यो जमात भूकम्पले घरपरिवार गुमाएकासँग पीडा साट्न दैलोमै पुगिसकेको थियो ।
भूकम्पको त्रासले सिंहदरबार हल्लियो, स्वघोषित नेता, समाजसेवी र परोपकारी संस्था समेत थच्किए । तर, यो युवा पंक्तिले पटकपटकको परकम्प पनि पीडितसँगै बेहोरे । आफ्नो गाउँ, टोल, जात, धर्म, राजनीतिक आस्था हेरेनन् । मानवता र नेपालीपनका खातिर डटिरहे ।
टिप्पणीकार अजयभद्र खनालले भूकम्पपछिको युवापुस्ताको सक्रियतालाई नयाँ युगको उदयको रूपमा अथ्र्याएका छन् । ट्वीटमा उनी लेख्छन्, “२०७२ साल ‘उत्तर भाग्यवाद’ युग उदयको वर्ष बनेको छ । युवापुस्ताले बुझेका छन्– हामी चीजहरू नियन्त्रण गर्न सक्छौं, परिवर्तन गर्न सक्छौं, नयाँ युगको शुभकामना !”
हिमाल को यो समाचार तिनै स्वयंसेवी विवेकी युवाका प्रतिनिधिमूलक सत्कार्यको झल्काे हो। नायकहरूको खोजीको सुरुआत मात्र हो।
नेपाल नायक
भूकम्प आउँदा सुदन गुरुङ (२८) ठमेलमा एक्लै हिंडिरहेका थिए। जसै कम्पन रोकियो, उनले सुने, धरहरा ढल्यो। नभन्दै धरहरा भुईंतिर हेर्नुपर्ने भइसकेको रहेछ। देखे, एक युवा माटोभित्रै छट्पटाइरहेका थिए। रगतपच्छे युवालाई ट्याक्सीमा राखेर वीर अस्पतालको ट्रमा सेन्टर पुर्याए। त्यहाँ हेर्छन् त बिरामीहरू पानी…! पानी…! भनिरहेका थिए। तुरुन्त केही पानी र चाउचाउ किनेर बिरामीलाई बाँडे। १३ वैशाखमा उनलाई साथ दिन पाँच जना साथी थपिए।
ट्रमा सेन्टरमै ‘आई टु वी टीम’ बनाएका सुदनसँग अहिले ५०० जना स्वयंसेवकको टोली छ। उनीहरूले वीर अस्पताल र ट्रमा सेन्टरको शौचालय सफा गर्नेदेखि बिरामीलाई रगत खोजिदिनेसम्म गरिरहेका छन्। सुदनको टोलीले ललितपुरको खोकना, धादिङ, सिन्धुपाल्चोक र गोरखाका भूकम्पपीडितलाई खाना र लुगा उपलब्ध गराएको थियो।

काठमाडौं, बसन्तपुरमा भूकम्पले भत्किएको घरबाट सामान निकाल्दै स्थानीय युवा। तस्वीरःओएनएसन्यूजडटकम
महाभूकम्पलगत्तै असन, मखनटोलको ‘२५ वडा युवा क्लब’ ले आफ्नै पहलमा प्राथमिक उपचार केन्द्र खोल्यो। “तारिणी क्लिनिकले डाक्टर र औषधि जुटाइदिएको थियो”, क्लबकी एञ्जिला रञ्जित (१८) भन्छिन्।
भूकम्प आएकै दिन न्वारान गरिएको थियो, ‘नेपाल भोलुन्टर्स’। साइप्रसबाट होटल व्यवस्थापन पढेर फर्किएका सन्तोष निरौला (३०) भूकम्पका बेला शिक्षण अस्पतालतिरै थिए।
“अस्पतालमा घाइतेको यस्तो बिजोग थियो कि हात बाँधेर बस्नै सकिनँ”, उनी भन्छन्, “छेउछाउका सबैलाई बोलाएर काम गर्न थालियो।” समूहकी दीपा राणा पीडितलाई लुगा, औषधि, मास्क, पञ्जा वितरण गर्नुका साथै शव उठाउने काममा समेत खटिएको बताउँछिन्। अहिले ‘नेपाल भोलुन्टर्स’ का स्वयंसेवी भक्तपुर, सिन्धुपाल्चोक पुगेका छन्।
प्रेसिडेन्सियल बिजनेस स्कूलका छात्र सुवीन्द्र मानन्धर ‘बाइकर’ हुन्। त्यसैले उनी गाडी नपुग्ने गाउँमा मोटरसाइकलबाटै राहत र औषधि पुर्याइरहेका छन्। ‘बाइकर्स फर रिलिफ, नेपाल’ नामक फेसबुक पेज खोलेयता सुवीन्द्रलाई साथ दिने बढेका छन्। उनी भन्छन्, “सकेसम्म धेरै ठाउँमा पुग्ने प्रयास गरिरहेका छौं।”
चितवन, रासस रोडमा ‘अब्बु मेडिकल सप्लायर्स’ सञ्चालन गर्ने आशा भण्डारीले भूकम्पयता समस्याग्रस्त जिल्लाहरूमा बेबी डाइपर र डेलिभरी प्याड पठाउँदै आएकी छन्। धादिङ, गोरखा, नुवाकोट लगायत प्रभावित जिल्लामा सामान पठाउँदै आएकी आशा भन्छिन्, “पैसा दुरुपयोग होला भन्ने डर लाग्यो, त्यसैले जिन्सी दिएकी हुँ।” अहिलेसम्म उनले ६ बोरा यस्ता सामग्री बाँडिसकेकी छन्। भूकम्पलगत्तै गठित ‘नेपाल राइजेज्’ समूह अहिले काठमाडौंको जीतपुर, चौगाउँको सरस्वती प्राथमिक विद्यालय पुनःनिर्माणमा लागेको छ। दीपा राई (३२) नेतृत्वको यो समूह १४ वैशाखलगत्तै पीडितको उपचार र राहतमा खटेको थियो। नेपाल राइजेज्लाई यस कार्यमा स्मार्ट पानी, रोट्रयाक्ट क्लब, यल्लो हाउस, एक्सन एड, नेपाल साइक्लिस्ट राइड टु रेस्क्यु आदिले सहयोग गरिरहेका छन्।

भूकम्पपीडितका लागि शौचालय बनाउँदै मिलन राईको समूह।
१५ वैशाखमा टुँडिखेल पुगेका चित्रकार मिलन राई (३०) त्यहाँको अव्यवस्था देखेर अत्तालिए। “महिलाहरू दिसापिसाब गर्न रात पर्खेर बसिरहेका थिए, दिसा–पिसाब नआओस् भनेर नखाई बस्नेहरू पनि भेटिए”, उनी सुनाउँछन्।
लगत्तै उनले साथीहरूसँग रु.४० हजार ऋण लिएर बाँस र प्लास्टिक किने। र, १६ गते नै ४५ वटा अस्थायी शौचालय निर्माण गरे। ५० जना स्वयंसेवीका साथ उनले ललितपुरको खोकना र धादिङमा गरी १३० वटा अस्थायी शौचालय बनाइसकेका छन्। मिलनको टोली अहिले झुल बाँडिरहेको छ।
भारतीय मूलका अमेरिकी राजीव गोयल (३६) अमेरिकी पिसकोर स्वयंसेवकका रूपमा १४ वर्षअघि पहिलोपटक नेपाल आएका थिए। अहिले उनी काभ्रेपलाञ्चोकका तीन वटा गाउँ भूकम्प प्रतिरोधी बनाउने अभियानमा जुटेका छन्।
‘काभे्र अर्थक्वेक रिलिफ’ समूहका संयोजक राजीवको टोलीले त्यहाँका १४ गाविसमा पाँच हजार पाल बाँड्नुका साथै नुवाकोट र गोरखामा खाद्यान्न समेत पुर्याएको थियो। “भूकम्प प्रतिरोधी घर, महिला नेतृत्व र दिगो वातावरण संरक्षण हाम्रा प्रमुख योजना हुन्” राजीव भन्छन्।
१२ वैशाखको महाभूकम्पको दिन दन्तचिकित्सक दीपक श्रेष्ठ सिन्धुपाल्चोकमै थिए। काठमाडौंमा रहेको उनको परिवार उनलाई तत्काल घर फर्कन भनिरहेको थियो, तर उनी थप आठ दिन सिन्धुपाल्चोक बसे। “काठमाडौंबाट स्वास्थ्यकर्मी साथीहरू बोलाएँ, भग्नावशेषभित्रै छिरेर जाँच गर्यौं”, प्रस्तावित पिपल्स मेडिकल कलेजमा आबद्ध दीपक भन्छन्।
विश्व वन्यजन्तु संघ नेपालले सञ्चालन गरिरहेको नेपाल प्रकृति पाठशालाले पनि रसुवा र धादिङका तीन वटा गाउँका १७० घरलाई जस्तापाता र खाद्यान्न बाँड्यो। विभिन्न शिविर र अस्पतालमा रहेका बालबालिकामाझ् अन्तरक्रियात्मक कार्यक्रम पनि गर्यो। पाठशालाकी सञ्जीवनी योञ्जन श्रेष्ठ (३५) लाङटाङ र धादिङमा सामुदायिक केन्द्र स्थापनाको दीर्घकालीन लक्ष्य लिएको बताउँछिन्।
भूकम्पपीडितको सहयोगका लागि स्वयंसेवक चाहिएको छ भने आलोक कोइराला (१९) हाजिर छन्। गएको साता मात्र आलोक र उनका १२ जना साथीहरूले रोट्रयाक्ट क्लब मार्फत कीर्तिपुरमा भत्किएका घरका ढुंगा र ईंटा पन्छाए। “जहाँ आवश्यक पर्छ, त्यहीं जान्छु, यस्तो बेला चूपचाप के घर बस्नु?” भर्खरै प्लस टु सिध्याएका आलोक भन्छन्।

नेपाल राइजेज् समूह काठमाडौं, जीतपुरफेदीमा विद्यालय बनाउँदै।
विपत्मा बूढानीलकण्ठ अल्मुनाई पनि जागेको छ। अल्मुनाईले सिन्धुपाल्चोक, दोलखा, धादिङ, ओखलढुंगा, काभ्रेपलाञ्चोक र ललितपुरका विभिन्न ठाउँमा पुगी ९ हजारभन्दा बढी पाल र खाद्यान्न वितरणका साथै स्वास्थ्य शिविर र बालबालिकालाई अतिरिक्त क्रियाकलाप सञ्चालन गरेको थियो।
अल्मुनाईका सदस्य विजय सिवाकोटी (३१) संस्थाका पाँच हजार सदस्यबाट रु.२ करोड जति जम्मा भएको र यो रकम भूकम्पपीडितको दीर्घकालीन सहयोगमा खर्च गरिने बताउँछन्।
भूकम्पपछि एअर होस्टेस करुणा राई (२६) लाई पनि केही त गर्नैपर्छ भन्ने लाग्यो। अनि ‘केही गरौं न’ समूह मार्फत रसुवा, नुवाकोट र दोलखामा पाल, चिउरा, औषधि र स्यानिटरी प्याडसहित पुगेका उनीहरूले लुटिने खतरा भएका केही ठाउँमा स्थानीय क्लब र रेडक्रसलाई राहत सामग्री जिम्मा लगाएका थिए। बुद्ध एअरमा कार्यरत करुणा भन्छिन्, “ड्युटी सकिनेवित्तिकै राहतमा पुग्ने, राहत सकिनेवित्तिकै ड्युटी।”
उज्ज्वल गुरुङ (२५) र उनका साथीहरूले महाभूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक गाविसमा रु.३ लाख ५० हजार बराबरको जस्तापाता र काँटी पुर्याइसकेको छ। हेल्प बारपाक फाउन्डेशन नेपालसँग मिलेर काम गरिरहेका उज्ज्वल विद्यालय निर्माणमा पनि जुटेका छन्। “बारपाकमा दीर्घकालीन योजना सञ्चालनबारे सोचिरहेका छौं”, नेपाल इन्स्टिच्युट अफ डेभलपमेन्ट स्टडिजमा अनुसन्धान अधिकृत उज्ज्वल भन्छन्। २०४५ सालको भूकम्पबाट ठूलै क्षति बेहोरेको धरानका युवाहरू पनि विभिन्न समूह बनाएर भूकम्प प्रभावित गाउँ गाउँ पुगे। सडक नपुगेका ठाउँमा राहत सामग्री डोकोमै बोकेर घरघरै पुर्याए।
जब देश दुख्यो

बेलायतबाट आएकी नर्स बबी लामा सिन्धुपाल्चोकको शिविरमा।
१२ वर्षदेखि बेलायत बस्दै आएकी बालुवाटार, काठमाडौंकी बबिता लामा (४३) २१ वैशाखमा जन्मथलो ओर्लिइन्। ‘मिसन टु हेल्प’ संस्थाकी अध्यक्ष लामा केही औषधि, लुगा र खाद्यान्न बोकेर गोरखा र सिन्धुपाल्चोकका गाउँ पुगिन्। निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिन्। उनी अहिले बसन्त चौधरी फाउन्डेशनसँगको सहकार्यमा एक सय घर बनाइदिने अभियानमा सहभागी छिन्।
१९ वैशाखमा नेपाल ओर्लिएका स्वीट्जरल्यान्ड निवासी निराजन श्रेष्ठ (३२) आई गोविन्द संस्था मार्फत तत्काल राहतमा जुटे। संस्थामा जम्मा भएको रु.१० लाख रसुवा र नुवाकोटमा त्रिपाल, औषधि र खाद्यान्न वितरणमा खर्चिए।
सिन्धुपाल्चोकका ५० परिवारलाई जस्तापाताको घर बनाइदिए। “स्थायी आवासको व्यवस्थाका लागि अध्ययन गर्दैछौं”, स्वीट्जरल्यान्ड फर्किसकेका उनी भन्छन्।
“देशलाई विपत् परेका बेला परदेशबाट रमिता हेर्न सकिंदोरहेनछ”, ६ वर्षदेखि अष्टे्रलियामा रहेका दर्शन सुब्बा (३४) भन्छन्। १७ वैशाखमा १४ वटा टेन्ट, ३० केजी औषधि र १२ वटा स्लिपिङ ब्याग बोकेर नेपाल फर्किएका उनले ती सामान साँखुका पीडितलाई बाँडेका थिए।
आर्किटेक्ट र इन्जिनियरसँगको सल्लाहमा दर्शनको समूहले ‘हाम्रो गाउँ’ अभियान अन्तर्गत शंखरापुर, विशम्भरा–६ मा १० वटा घर बनाइदिएको छ। समूहको नेतृत्व गरिरहेका मनिष कोइराला अभियानलाई निरन्तरता दिने बताउँछन्।
आफूहरूले बनाउन लागेका घरको नमूना लिएर ११ जेठमा प्रधानमन्त्री सुशील कोइरालालाई समेत भेटे। “प्रधानमन्त्रीले ‘केही सहयोग गर्नुपर्छ कि?’ भनी सोध्नुभयो तर हामी त उहाँलाई सहयोग गर्न गएका थियौं”, प्रधानमन्त्री राहत कोषमा रु.२५ हजार सहयोग गरेका मनिष भन्छन्।
अमेरिकास्थित नेपाली समाज टेक्सासबाट स्वास्थ्यकर्मी, इन्जिनियर र स्वयंसेवक सम्मिलित १७ जनाको टोली पनि मातृभूमिको पीडा सम्झेर वैशाखको तेस्रो साता राजधानी आइपुग्यो। र, विभिन्न जिल्लामा राहत बाँड्यो। यो समूह यतिबेला जस्तापाता, औषधि, खाना, ब्ल्याङ्केट, टर्चलाइट भएको ‘रिलिफ बक्स’ बाँडिरहेको छ। “रु.१ करोड ५० लाख बराबरको राहत सामग्री आलोपालो नेपालमा वितरण गर्ने योजना छ”, समाजका उपसभापति बाल जोशी भन्छन्।
२० वर्षदेखि हङकङ बस्दै आएका धरानका विशाल लिम्बू वेघा (३६) को समूहले नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाका भूकम्पपीडितलाई पाल, ह्याम्मर, काँटी, खाद्यान्न बाँडेको थियो। विशालले व्यक्तिगत रु.३ लाखसँगै साथी र संस्थाहरूको सहयोग जोडेर रु.८ लाख खर्च गरे। उनले आफ्नै खर्चमा तीन सय स्थायी घर बनाउने पनि सोचेका छन्। “त्यसका लागि पैसा बचाउन थालेको छु”, उनी भन्छन्।
अमेरिकाको हवाइमा हिमालयन किचन सञ्चालन गर्दै आएका काठमाडौंका सुमन बस्नेत (३७) ले १२ वैशाखदेखि नै रेस्टुरेन्टको १५ प्रतिशत कमाई भूकम्पपीडितको राहतका लागि छुट्याएका छन्। साथीहरूसँगको प्रयासमा जम्मा भएको रु.५५ लाख बराबरको सहयोग सुमनले सिन्धुपाल्चोक र भोजपुरका भूकम्पपीडितमाझ् पुर्याए।
“सिन्धुपाल्चोकका ६०० र पनौतीका ३०० परिवारलाई जस्तापाता बाँड्यौं, खोलाको पानी गाउँसम्म ल्याउने व्यवस्था पनि मिलायौं”, सुमन भन्छन्। ५ जेठमा अमेरिका फर्किनुअघि सुमन भीमटार गाउँमा ‘डे केयर स्कूल’ निर्माणमा व्यस्त थिए। न्यूयोर्कका कासाङ थिङ र क्यालिफोर्नियाका ईश्वर सापकोटाले पनि समुदाय र साथीहरूसँग संकलित राहत बोकी पीडितसम्मै पुगे।
न्यूयोर्ककी झ्रना शेर्पाले फेसबुकबाटै आर्थिक संकलन गरेर नेपाल पठाइन्। बेलायतका नेपाली युवाको समूह हेल्पिङ युको एउटा टोली सिन्धुपाञ्चोकमा ७० घर बनाउन १८ जेठमा आइपुग्दैछ।
१६ वैशाखमा फ्रान्सको पेरिसबाट काठमाडौं ओर्लिएका ददि सापकोटा सोझै काठमाडौंको साँखु हान्निए। पीडितले खानेकुराको साटो बास मिलाइदिन आग्रह गरेपछि उनले किला, काँटी, घन र तार पुर्याइदिए। राहतका क्रममा सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट पुगेका उनले मकवानपुरको चेपाङ बस्तीमा रु.१ लाख बराबरको चामल बाँडेका छन्। “पुगेका ठाउँको फोटो पनि खिचेको छु, पेरिसमा प्रदर्शन गर्दैछु। उठेको रकम पनि पीडितकै लागि खर्च गर्नेछु”, ददि भन्छन्।
अमेरिका बस्दै आएका १० विद्यार्थीको समूह ‘फर नेपाल इन निड’ ले भूकम्पपीडितकै लागि रु.४ लाख पठाइसकेको छ। “शुरूमा पकेट मनी पठाएका थियौं”, समूहका तोकिन श्रेष्ठ भन्छन्, “पछि, गिटार, आइफोन, साउन्ड प्लेयर, डाइनिङ टेबुल बेचेर पठायौं।” तोकिन र उनका साथीहरू ‘मोःमो फेयर नेपाल’ कार्यक्रम आयोजना गरी उठेको रकम रोट्रयाक्ट क्लब र साथीहरू मार्फत अति प्रभावित जिल्लामा पुर्याउने तयारी गरिरहेका छन्।

सिन्धुपाल्चोकको कालिका गाविसमा राहत सामग्रीको भारी बाकेर जादै धराने युवाहरुको टोली । नेपाल बचाउ भन्ने नारासहित बैशाख तेस्रो साता सिन्धुपाल्चोकका घरघरमा राहत पुर्याएका थिए । यही टोलीले जेठ १३ गते ओखलढुंगाको प्राप्चा गाविस ८ र ८ स्थित केउरेनी टोलका ४५ घर र प्राप्चा ३ घले डाँडाका १० घरलाई गाउँमै पुर्याएर जस्ता पाता पनि वितरण गरेको छ । तस्बीरः रोहित राई
मातृभूमिमा महाभूकम्प दुःख सुन्न नसकी बेलायतमा बसिरहेका पुनम राई, सुनिता राई, सरला थापा, स्मिता राई, भावना लिम्बू र उज्ज्वल गिरीको समूह यतिबेला नेपालमा छ। सिन्धुपाल्चोकको ठूलोपाखर, मानेश्वर र थाङपालधाप गाविसमा यो समूहले रु.७ लाखभन्दा बढीको राहत बाँडिसकेको छ।
दुर्लभ पूँजी
भर्खरै महाभूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक गाविस पुगेर फर्किएका समाजशास्त्री डा. गणेश गुरुङ समाजप्रति गैरजिम्मेवार, राजनीतिप्रति उदासीन र देशलाई माया मार्दै व्यक्तिगत स्वार्थका लागि पलायन भएका भनिएकाहरूको यतिबेलाको सक्रियता देखेर चकित छन् । भन्छन्, “अरबदेखि बेलायतसम्म पुगेका युवा फर्केर गाउँ बनाइरहेको देखें, यसखालको अचम्मलाग्दो सहभागिताले उनीहरूप्रतिको सामाजिक सोच बदलिएको छ ।”
अर्का समाजशास्त्री डिल्लीराम दाहाल मानवीयता र देश सम्झेर जुर्मुराएको नयाँ पुस्ताबाट जातीय सद्भाव र धार्मिक सहिष्णुता समेत कायम भइरहेको तर्क गर्छन् । भन्छन्, “जात, धर्म, पार्टी केही नभनी जसले जहाँबाट जे सक्छ त्यही गरेर उनीहरू परिवर्तनको उदाहरण प्रस्तुत गरिरहेका छन् ।” ‘मह’ का हरिवंश आचार्य परेको बेला एक हुने नेपालीको बानी महाभूकम्पको विपत्ले जागृत गराएकोे देख्छन् ।
नयाँ पुस्ता धेरै ‘एड्भान्स’ र विवेकी भएकाले सरकारको मुख नताकी उद्धार र राहतमा सक्रिय भएकाले पीडितलाई सहज भएको उनी बताउँछन् । “युवाहरूमा देखिएको राष्ट्रिय भावना र परेको बेला जुट्न सक्ने मन देख्दा नेपालको भविष्य उज्ज्वल देखें”, हरिवंश भन्छन् । मदनकृष्णको भनाइमा पनि सहयोगी, मानवीयताको नेपाली मौलिक संस्कार जहाँ गए पनि मेटिंदैन भन्ने उदाहरण पुनः प्रकट भएको छ । “महाभूकम्पपछि देखिएको नेपाली पहिचान र एकता छिन्नभिन्न हुन दिनुहुन्न”, उनी भन्छन् ।
मानवशास्त्री सुरेश ढकाल स्वभावैले युवा भीडको पछि लाग्ने भए पनि यसपटकको राष्ट्रिय विपतमा उनीहरूमा ‘नेपाली हुनु’ को गम्भीर र विवेकी समझ् पाइएको बताउँछन् । सामाजिक सञ्जालहरूमा दूषित राजनीति र नेताका गलत प्रवृत्तिलाई गाली गरिबस्ने जमात पनि परिआए मैदानमा सक्रिय हुने रहेछ भन्ने देखिएको उनको विश्लेषण छ ।
“यो वास्तवमै ठूलो राष्ट्रिय पूँजी हो, यो पूँजीलाई दीर्घकालीन पुनस्र्थापनामा लगाउन सरकारले ढिला गर्नुहुन्न”, ढकालको सुझव छ । उनी यसका लागि राष्ट्रिय योजना आयोगले दलका भ्रातृ संगठनलाई नीति र योजनामा समेट्नुपर्ने आवश्यकता औंल्याउँछन् । भन्छन्, “अब सिंहदरबार केन्द्रित मानसिकताबाट निस्कने बेला भयो । सरकारले गाविस र वडास्तरका पुनःनिर्माणमा त्यहाँ सक्रिय युवा सञ्जाललाई समेत सहभागी गराउनुपर्छ ।”

स्वदेश तथा विदेशबाट स्वतस्फूर्त एकजूट भएका युवा काठमाडौंको साँखुमा भूकम्पबाट क्षतिग्रस्त घरका सामान हटाउँदै । यो समूहले ‘हाम्रो गाउँ’ अभियान अन्तर्गत शंखरापुर नपा–६, विशम्भरा काठमाडौंको दलित बस्तीमा भूकम्पपीडितका घर बनाउँदैछ । समूहमा अष्ट्रेलिया, जापान, हङकङ, बेलायत, न्यूजिल्याण्डबाट आएका नेपाली युवा छन् ।
भूकम्प लगत्तै राहतकर्मी बनेर गाउँ–गाउँ पुगेका नागरिक दैनिकका निवर्तमान सम्पादक प्रतीक प्रधान जसरी विवेकी युवाहरू राहत र पुनस्र्थापनामा अघि आए यसले नेपाली लड्न, भिड्न मात्रै हैन परेको खण्डमा यसरी खटेर काम गर्न पनि तयार हुने देखिएको बताउँछन् ।
अबका दिनमा देश हाँक्ने जिम्मा युवालाई नै दिनुपर्ने बताउँदै हरिवंश भन्छन्, “फूटबलमा एउटा खेलाडी थाक्यो वा राम्रो खेल्न सकेन भने अरूलाई ठाउँ छाडे जस्तै सबै नेताले अब युवालाई नेतृत्व छाड्नुपर्छ भन्ने संकेत हो, यो ।”
हिमालको यो समाचार तिनै स्वयंसेवी विवेकी युवाका प्रतिनिधिमूलक सत्कार्यको झल्काे हो । लेख्न बाँकी नायकहरूको खोजी बल्ल शुरू भएको छ ।

हिमालयन डिजास्टार रिलिफ भोलेण्टीयर ग्रुप (एचडीआरभीजी) का स्वयमसेवकहरु दोलखाको काटीकुटी गाउँको विद्यालयको भग्नावशेष हटाउँदै । तस्बीरः सामन्ता रेईण्डर्स
भूकम्पलगत्तै राहतकर्मी बनेका पत्रकार प्रतीक प्रधान युवामा देखिएको यो सकारात्मक चेतनाले नेपाली समाजको नयाँ आयाम देखिएको बताउँछन्। “आपसमा लड्ने मात्र होइन, परिआएमा जुट्ने सन्देश पनि हो यो”, उनी भन्छन्।
अबका दिनमा देश हाँक्ने जिम्मा युवालाई नै दिनुपर्ने बताउँदै हरिवंश भन्छन्, “फूटबलमा एउटा खेलाडी थाक्यो वा राम्रो खेल्न सकेन भने अर्कोलाई ठाउँ छाडे जस्तै सबै नेताले युवालाई नेतृत्व छाड्नुपर्छ भन्ने संकेत हो, यो।”
याे पनि हेर्नुहाेस् उद्धारका नायक
हिमाल खबरपत्रिका (१७–२३ जेठ २०७२ को अङ्क)मा प्रकाशित छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
