थप समाचारमंगलबार, जेठ १९, २०७२
उद्धारका नायक
नेपाली सुरक्षाकर्मीहरू पर्याप्त स्रोत–साधनविनै भग्नावशेषबाट चारमहीने शिशुदेखि ७५ वर्षे वृद्धासम्मलाई जीवितै उद्धार गरेर प्रशंसित भएका छन्।
-सजना बराल
१२ वैशाखमा महाभूकम्प आएको आधा घण्टाभित्रै नेपाली सुरक्षा निकायका ठूल्ठूला समूह आ–आफ्नो इलाकामा उद्धारका लागि ‘मूभ’ भइसकेका थिए। उनीहरूमध्ये धेरैसँग आफ्नै सुरक्षाका लागि पञ्जा वा हेलमेट समेत थिएनन्।
बारम्बार आइरहेका ‘आफ्टरशक्’ छिचोल्दै उनीहरू पुरिएका मान्छे खोज्न भग्नावशेषभित्र छिरेका थिए। “भित्र जिउँदो मान्छे छ भन्ने थाहा भएपछि त केहीको पनि डर हुँदोरहेनछ”, विपत् व्यवस्थापन गण, सुन्दरीजलका सेनानी उपेन्द्र पुडासैनी (३३) भन्छन्, “मनमा उसलाई सकुशल निकाल्ने ध्याउन्न मात्र हुन्छ।”
उनको कमाण्डमा रहेको टोलीले भक्तपुर, मूलढोकामा चारमहीने बालक सोनित अवाललाई २२ घण्टापछि उद्धार गर्यो। अवस्था कस्तो भने, पूरै ध्वस्त पाँचतले घरको भग्नावशेषमा स्काभेटर समेत लगाइसकेकाले बच्चा जीवित होला भन्ने आशा अति कम थियो।
तर, अभिभावकले लासै भए पनि निकाल्दिनोस् भनेपछि सुवेदार दीपक राई (३१) सहितको टोली साँझ् ५ बजे भग्नावशेषमा छिर्यो। राति ११ बजेसम्म खोस्रँदा पनि बच्चा फेला नपरेपछि खोजतलासको काम अर्को दिनलाई थाती राखियो।
१३ गते बिहान पाँच बजे पुनः भग्नावशेषमा छिरेको सुवेदार राईको टोलीले साढे सात बजेतिर बच्चा रोएको सुन्यो। त्यसपछि होशियारीपूर्वक तर द्रुतगतिमा खोस्रेर ट्रयाक बनाउने काम भयो।
नौ बजेतिर सुवेदार राई नजिकै पुग्दा बच्चा आफ्नै दाहिने हातको सिरानी बनाएर कुर्सीमुनि पल्टिरहेको भेटिए। उनलाई कुर्सीले नै बचाएको रहेछ। “त्यति सानो बच्चालाई त्यो अवस्थामा देख्दा भक्कानो छुट्ला झै भयो”, ओखलढुंगाका राईले भने, “आफूलाई सम्हाल्दै उसलाई उचाल्दा ऊ मुसुक्क मुस्कुरायो।”
महाभूकम्पमा सुवेदार राईका भाइको खुट्टा भाँचिएको छ भने सेनानी पुडासैनीले चार जना आफन्त गुमाएका छन्। उनीहरूको कार्यालय पनि पालमुनि सरेको छ। यस्तो बेला पनि सैनिक टोली आफ्नो समस्या बिर्सिएर अहोरात्र काममा खटियो।
“देशको विपत् साम्य भएपछि परिवार हेरौंला”, सेनानी पुडासैनीले भने। दत्तात्रेय मन्दिर क्षेत्रमा खटेको श्री ज्वाला गणका सिपाही गोपाल बिक (३२) को टोलीले पनि दिउँसो साढे २ बजेबाट खोस्रेर साँझ् पाँच बजे १४ वर्षीया श्रेया ग्वाच र उनका आमाबुबालाई बचायो। श्रेयाका भाइ भने मृत अवस्थामा भेटिए।
हातैले खोस्रेर उद्धार
१२ वैशाखमा महाभूकम्प जाँदा भक्तपुरस्थित श्री ज्वाला गणका सह–सेनानी मनोज थापा (३०) कार्यालयमै थिए। त्यसको आधा घण्टामा ४० सदस्यीय टोली लिएर गोलमडी पुगेका थापाले दुई तला बाँकी रहेको साततले घरबाट इना र दीपेश मुललाई उद्धार गरे।
त्यसपछि इनाचो पुगेको थापाको टोलीले दिउँसो एक बजेबाट एकै ठाउँ थुप्रेको चार–पाँच वटा घरको भग्नावशेष खोसि्रन थाल्यो। ५/६ मिटर तल पुगेेपछि इनार भेटिएसँगै स्वाँ–स्वाँ सास फेरेको आवाज आयो। “त्यहाँ जिउँदो मान्छे रहेको पक्का भयो”, सह–सेनानी थापाले भने, “तर कहाँनिर छ भन्ने यकिन नभएकाले खाली हातले खोसि्रन थाल्यौं। केहीछिनपछि नै सारीको फेरले अनुहार ढाकेकी ७५ वर्षीया शिवकुमारी कार्कीको टाउको भेटियो। तर, ईंटा, माटो र काठपातले ड्याम्मै पुरिएकी उनलाई निकाल्न सजिलो थिएन।”
सैनिकहरूले अर्को आधा घण्टामा उनलाई जीवितै निकालेर तुरुन्त अस्पताल पठाए। भीडले ताली बजाएर सेनालाई स्याबासी दियो। २१ वैशाखमा भक्तपुर, महेश्वरी खेलमैदानको बाटो हिंड्दै गर्दा थापाले तिनै वृद्धालाई भेटेछन्। “उहाँलाई अचानक देख्दा खुशी लाग्यो”, सह–सेनानी थापा भन्छन्, “आफूले उद्धार गरेको मान्छे त निकटको आफन्त जस्ता लाग्दा रहेछन्।”
सशस्त्रको आँट
महाभूकम्पलगत्तै उद्धारमा खटिएका सशस्त्र प्रहरी बलका निरीक्षक लक्ष्मणबहादुर बस्नेत (३१) को टोलीले नयाँ बसपार्कका भग्नावशेषबाट तीन जनालाई उद्धार गरेको थियो।
सशस्त्र प्रहरीको विपत् व्यवस्थापन तालीम केन्द्रमा प्रशिक्षक रहेका बस्नेत, ७.८ म्याग्निच्यूडको महाभूकम्प आउनासाथ ३० जनाको टोली लिएर फिल्डमा उत्रिएका थिए। १३ वैशाख साँझ् ५ बजेतिर गोंगबु पुगेको बस्नेतको टोली चार वटा होटल रहेको साततले घरको भग्नावशेषको ढलान काट्दै १३ घण्टामा दोस्रो तलामा पुगेको थियो।
त्यहाँको भर्याङछेउ बीमले दाहिने खुट्टा च्यापिएका जोन केसी (२०) देखिए। तर, एकदमै साँघुरो ठाउँ भएकाले तत्काल उनीसम्म पुग्ने अवस्था थिएन। इन्स्पेक्टर बस्नेतले लट्ठीको टुप्पामा पानी र रुमाल बाँधेर उनलाई दिए।
त्यो लिएपछि केसीले ‘च्यापिएको खुट्टा काटेर भए पनि बाहिर निकाल्दिनुस्’ भने। “मैले ‘हामी तपाईंकै लागि आएका हौं, ननिकाली जाँदैनौं’ भनेपछि उनी सुँक्कसुँक्क रोए”, इन्स्पेक्टर बस्नेत भन्छन्, “हाम्रो पनि गला अवरुद्ध भयो।”
त्यसपछिको १० घन्टा केसीलाई निकाल्ने ठाउँ बनाउन लाग्यो। त्यसरी उनलाई बाहिर निकाल्नासाथ टर्किस उद्धारकर्ताका स्वास्थ्यकर्मीहरूले पहिलो उपचार गरेर अस्पताल पठाए।
बस्नेतको टोलीले सोही दिन सयपत्री गेस्टहाउसमा पुरिएका ऋषि खनाल (२८) लाई पनि उद्धार गर्यो। चार तला मात्रै जमीनमाथि देखिएको ६ तले भवनको दोस्रो तलामा च्यापिएका थिए, खनाल। तेस्रो तलाबाट दोस्रो तलाको झयाल फुटाएर भित्र छिर्दा दुई जनाको शवमुनि खनाललाई भेटेको इन्स्पेक्टर बस्नेतले बताए। लगातार कम्पन आइरहँदा पनि भग्नावशेषमा छिरेर खनाललाई १५ गते राति साढे १० बजे बाहिर निकालियो। “जोखिम नलिइकन त कहाँ अरूको ज्यान जोगाउन सकिन्छ र!” इन्स्पेक्टर बस्नेत भन्छन्।
अन्तिम ‘सर्भभाइभर’
नेपाल प्रहरीको विपत् व्यवस्थापन महाशाखाका इन्स्ट्रक्टर, प्रहरी निरीक्षक ढकेन्द्र खतिवडा (३५) को टोलीले गोंगबुको न्यु जनसेवा गेस्टहाउसमा पुरिएकी बर्दियाकी कृष्णकुमारी खड्का (२४) लाई १२८ घण्टापछि जीवितै उद्धार गरेको थियो। १२ वैशाखको महाभूकम्पले काठमाडौंमा भत्काएका भवनबाट जीवितै उद्धार गरिएकी अन्तिम व्यक्ति थिइन्, खड्का।
स्थानीयवासीले गेस्टहाउसभित्र जीवित मान्छे रहेको बताएपछि नेपाल प्रहरीको विपत् व्यवस्थापन केन्द्रको टोली ढलान काट्दै भग्नावशेषभित्र पसेको थियो। “६–७ घण्टाको निरन्तर प्रयासपछि एउटा शव भए ठाउँमा पुग्यौं”, टोलीको नेतृत्व गरेका खतिवडा भन्छन्, “कृष्णकुमारी त्यही शवमुनि थिचिएकी थिइन्।”
प्रहरी निरीक्षक प्रदीपबहादुर क्षेत्री (३६) ले कमाण्ड गरेको स्क्वाड–२ ले भने २५ शव निकाल्यो। यो टोलीले १२ वैशाखको दिउँसो साढे १ देखि साढे ७ बजेभित्रमा बसन्तपुर वरिपरिबाट १४ शव निकालेको थियो।
याे पनि हेर्नुहाेस् विवेकी पुस्ता, विपतमा जो जुर्मुराए
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
