थप समाचारमंगलबार, जेठ १९, २०७२
जनतासँगै युवा–विद्यार्थी
महाभूकम्पबाट प्रभावितहरुको उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माणमा राजनीतिक दलमा आवद्ध युवा–विद्यार्थीहरू पनि ठूलै संख्यामा सक्रिय छन् ।
-सइन्द्र राई

काभ्रे जोरसल्लास्थित श्रीकृष्ण निमाविको अस्थायी कक्षा कोठा तयार पार्दै अनेरास्ववियुकी महासचिव नविना लामा (सबैभन्दा दायाँ) को समूह।
नेपाली कांग्रेसका सुनसरी जिल्ला सचिव केदार भण्डारीले १३ वैशाखको बिहानै जिल्ला कार्यसमिति बैठक बोलाएर महाभुकम्प पिडीतको तत्काल उद्धारका लागि सिन्धुपाल्चोक जाने र गाउँ–गाउँबाट राहत सामग्री संकलन गर्ने निर्णय गराए ।
यसरी पूर्वी तराईको सुनसरीबाट संकलित र नवलपरासीका गोकुल सापकोटाको टोलीले पठाएको राहत लिएर युवा नेता प्रदीप पौडेल सिन्धुपाल्चोकका विकट गाउँहरू पुगे ।
ध्वस्त भएको गाउँहरुमा राहत पुग्न थाले पनि अस्थाई वसोबासको व्यवस्था गर्ने जनशक्ति थिएन । त्यो देखेपछि पौडेलको टोली टहरा बनाउनतिर लाग्यो । देश–विदेशका मनकारीहरूको सहयोगमा गोरखाको पालुङटार–८ मा ५३ वटा अस्थायी टहरा बनाएको र अरू ५०० वटा बनाउने तयारी थालेको पौडेलले बताए । “मेची–महाकालीका युवा–विद्यार्थी जुटे ध्वस्त बनेका पुरै संरचना उठाउन कठिन छैन”, उनी भन्छन् ।
युवा संघ नेपालका युवाको टोलीले सिन्धुपाल्चोकमा १८१ वटा टहरा बनायो । काभ्रेपलाञ्चोकमा ६५ वटा र भक्तपुरमा ५० टहरा बनाएको संघका सचिव रमेश पौडेलले बताए ।
एमाओवादीका नरेन्द्र न्यौपाने, सुदीप कुँवर, मानुषी यमी भट्टराई लगायतको टोली पनि १८ वैशाखबाट निरन्तर उद्धार, राहत र पुनर्वासको काममा खटिएको छ । यो टोली ललितपुरको बुङ्गमती र खोकना पछि गोरखा पुगेको छ । यस्तै, अनेरास्ववियुमा आबद्ध विद्यार्थीले काभ्रेको जोरसल्लास्थित श्रीकृष्ण निमाविका लागि अस्थायी कक्षा कोठा तयार पारे ।
काममा होड
पुनर्वासको व्यवस्था मिलाउन २९ वैशाखमा दोलखा पुगेको अनेरास्ववियु सचिव भक्तकुमारी लामाको समूह दिउँसो ७.३ म्याग्निच्यूडको ‘आफ्टरशक्’ आएपछि उद्धारमा जुट्यो । २९ वैशाख पछि प्रमुख दलहरू कांग्रेस, नेकपा एमाले र एमाओवादीले पुनस्र्थापना अभियान घोषणा गरेर हजारौं युवा–विद्यार्थीलाई गाउँ–गाउँमा परिचालन गरेका छन् ।
कांग्रेसको नेविसंघले एक हजार अस्थायी टहरा, एमालेको अनेरास्ववियुले १०० विद्यालय र एमाओवादीको अनेरास्ववियु क्रान्तिकारीले १७ जिल्लामा टहरा बनाउने भएका छन् । अन्य पार्टीका विद्यार्थी संगठनले पनि पुनर्वासका लागि सहयोग गर्ने तालिका सार्वजनिक गरेका छन् । कांग्रेस र एमालेले एक महीना र एमाओवादीले १५ दिने छुट्टै पुनःनिर्माण अभियान थालेका छन् ।
महाभूकम्प पीडितहरूलाई राहत सहित शीघ्र पुनःस्थापना गराउने कार्यमा नीतिनिर्माता पनि लागिपरेका छन् । मधेशी जनअधिकार फोरम नेपालका सभासद् अभिषेकप्रताप साहले एक वर्ष र मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का सभासद् पवनकुमार शारडाले १६ महीनाको तलब भूकम्पपीडितलाई दिने भएका छन् । एमालेका युवा नेताहरू निरज आचार्य, लक्ष्मण लम्साल लगायतले अति प्रभावित क्षेत्रमा १०० वटा नमूना घर बनाइदिने भएका छन् ।
उद्योगमन्त्री महेश बस्नेतको अगुवाईमा खटिएको एमालेको युवा टोलीले भक्तपुरका बस्तीहरूमा १५० वटा अस्थायी टहरा बनाइसकेको छ । कांग्रेसका युवा नेता गगन थापा पनि पुनःस्थापना अभियानमा सकृय छन् । एक वर्षको पारिश्रमिक पनि भूकम्पपीडितलाई दिने घोषणा गरेका सभासद् थापाको टोली मकवानपुरको कुमरीमा ४८ वटा अस्थायी टहरा बनाएर धादिङतिर लागेको छ ।
नाम अनुसारको काम
महाभूकम्पलगत्तै सक्रिय भएको विवेकशील नेपाली पार्टीले ‘उद्धार, राहत, पुनःस्थापना, पुनःनिर्माण र पुनरुत्थान कार्ययोजना’ बनाएर काम गरिरहेको छ । पार्टीकी काठमाडौं जिल्ला प्रमुख रञ्जु दर्शना कहाँ के भइरहेको छ, कता के आवश्यक छ भन्ने जानकारी हटलाइनबाट लिएर व्यवस्थित काम गरेको बताउँछिन् । भूकम्प प्रभावित जिल्लाहरुमा संयोजक तोकेपछि विभिन्न ठाउँमा एक साथ काम गर्न सजिलो भएको दर्शनाले बताईन् ।
पार्टीले शुरुमा उपत्यकाका अस्पतालहरूसँग सहकार्य गरेर घाइतेलाई निःशुल्क औषधि, पानी उपलब्ध गराउनेदेखि लास व्यवस्थापनसम्मको काम ग¥यो । अहिले अस्थायी टहरा बनाउन लागेका विवेकशीलका स्वयंसेवकहरू १३ जिल्लाका सयभन्दा बढी गाविसमा चर्केका घर–गोठ भत्काउनेदेखि पुनःनिर्माणसम्मको काममा खटिरहेका छन् ।
याे पनि हेर्नुहाेस् विवेकी पुस्ता, विपतमा जो जुर्मुराए
उद्धारका नायक
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
