समाचारमंगलबार, जेठ १९, २०७२
विपद् व्यवस्थापनको पूर्वतयारी थियोः गृहमन्त्रालय
महाभूकम्पको विपत् व्यवस्थापनमा गृहमन्त्रालयसँग पूर्वतयारी रहेको जनाएको छ ।
भूकम्पजस्तो विपदमा सरकारको कुनै पूर्वतयारी नभएको भन्ने गुनासोको खण्डन गर्दै गृहमन्त्रालयले यस्तो दावी गरेको हो । महाभूकम्प जान सक्ने संभावनालाई ध्यान दिएर खोज तथा उद्धार क्षमताको विस्तार गृहमन्त्रालयले गरेको जनाएको छ ।
“विपत्तिको तयारीका लागि भूकम्पअघि नै नेपाल प्रहरीमा छुट्टै विपद् व्यवस्थापन गण र सशस्त्र प्रहरीमा विपद् व्यवस्थापनसम्बन्धी तालिम केन्द्र सञ्चालन सुरु गरिसकिएको थियो,” गृह मन्त्रालय विपद् व्यवस्थापन महाशाखाका प्रमुख रामेश्वर दङ्गालले भने ।
त्यस्तै नेपाली सेनामा यसअघि नै विपद् व्यवस्थापन महानिर्देशनालय क्रियाशील रहेको जनाएको छ ।
काठमाडौँको बस्ती घना र अव्यवस्थित छ । काठमाडौँ उपत्यकामा झन्डै ४० लाख मानिस बस्छन् । काठमाडौँ महानगरमा करिब दुई लाख ३० हजार घरधुरी छ । काठमाडौँमा चार लाख ३६ हजार ३४४, भक्तपुरमा ६८ हजार ६३६ र ललितपुर जिल्लामा एक लाख नौ हजार ७९७ घरधुरी छ ।
हाशाखा प्रमुख दङ्गालले भने, “ भूकम्पबाट हुनसक्ने क्षतिलाई ध्यानमा राखी महाशाखाले राजधानीका ८३ खुला स्थानलाई विशेष क्षेत्र तोकी सो स्थानमा पानी तथा अन्य सामग्रीको व्यवस्थापन गरिसकेको थियो ।”
तीन महिनाअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानवीय सहायता कक्ष स्थापना भयो । त्यस्ता मानवीय कक्ष खुमलटार र त्रिविमा तयार भइसकेका छन् । भक्तपुरमा भने बनाउने योजना थियो ।
सरकारले विपत्तिमा अन्तर्राष्ट्रिय सहयोग कसरी लिने भन्नेसम्बन्धी राष्ट्रिय विपद्प्रति कार्यान्वयन ढाँचा लागू गरेको उनले जनाए । महाशाखा प्रमुख दङ्गालले भने, “विपदमा खोज र उद्धारमा आउने विदेशी सेनासँग समन्वयार्थ सेनाको नेतृत्वमा बहुराष्ट्रिय सेना समन्वय केन्द्रको प्रावधान छ ।”
गृह मन्त्रालय अन्तर्गत गठित राष्ट्रिय आपतकालीन उद्धार केन्द्रको स्थापनाले भूकम्पपछि २४ सै घन्टा आवश्यक उपकरणका साथ सुरक्षित रुपमा काम गर्न सकिएको मन्त्रालयको भनाइ छ । त्यस्तै ५५ जिल्लामा जिल्ला आपतकालीन उद्धार केन्द्र स्थापना भइसकेको उनले जनाए ।
“विपद्का बेला मुलुकमा रेडक्रससँग २० हजार थान त्रिपाल मात्र भएकाले सरकारलाई त्रिपालको व्यवस्थापन गर्न कठिनाइ भयो, प्रायः विपदमा त्यसैले काम चल्ने भएकाले त्यसमा खासै तयारी नभएकाले १२ वैशाखमा भएको विपद्पछि युद्धस्तरमा खोजी गरी पूर्ति गरियो,” उनले भने ।
विपदमा आवश्यक पर्ने खाद्य सामग्रीको पूर्ति गर्न महाशाखाले सार्क खाद्य सुरक्षा बैंकका लागि नेपालको खाद्य संस्थानले राखेको जगेडा खाद्य सामग्री र बजारमा उपलब्ध सामानले पूर्ति गर्ने योजना बनाएको थियो ।
भूकम्पले हालसम्म आठ हजार ६९९ जनाको मृत्यु, २२ हजार चार सय ८९ जना घाइते भएका छन् । सर्वसाधारणका पाँच लाख तीन हजार ७३४ घर पूर्ण रुपमा र दुई लाख ७५ हजार २३१ घर आंशिक क्षति भएका छन् । एक हजार ३६० सरकारी भवन पूर्ण रुपमा र तीन हजार ४२४ भवनमा आंशिक क्षति पुगेको छ । रासस