समाचारबुधबार, कार्तिक २२, २०६९
अन्ततः गोविन्द मैनाली निर्दोष ठहर
२२ कार्तिक बिहान जापानको टोकियो उच्च अदालतले सुनाएको अन्तिम फैसलामा उनी निर्दोष रहेको ठहर गरिएको छ ।
अब उनको क्षतिपूर्तिको प्रक्रिया शुरु हुनेछ । अदालतले उनीविरुद्ध कुनै अदालती कारबाही गर्नु नपर्नेसमेत जनाएको छ ।
मैनाली सहयोग समितिका सदस्य एवम् एनआरएन जापानका पूर्वअध्यक्ष राजन प्रधानाङ्गले भने, “फैसलामा उहाँ पूर्णत: निर्दोष भनिए पनि माफी भने मागिएको छैन ।” यसबारे आजै दिउँसो टोकियोमा पत्रकार सम्मेलन गरिने प्रधानाङ्गले बताए ।
फैसलापछि शङ्खमूलस्थित आफ्नै निवासमा रहेका मैनालीले आफ्नो जित भएकामा खुसी व्यक्त गर्दै यो अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
डिएनए परीक्षणका सबै नतिजामा गोविन्दको संलग्नता नदेखिपछि अघिल्लो साता सरकारी वकिलले टोकियो उच्च अदालतसमक्ष मैनाली निर्दोष रहेको प्रतिवेदन बुझाएका थिए । मुद्दा पुनरावलोकन हुने भएपछि चार महिनाअघि मैनालीलाई जेलमुक्त गरी नेपाल पठाइएको थियो ।
मृतक युवतीको शरीरबाट सङ्कलन गरिएका र सम्बद्ध ४० भन्दा बढी वस्तुको डिएनए गोविन्दसँग नमिलेपछि अदालती निर्णयबाट उनलाई केही महिनाअघि रिहा गरिएको थियो । फैसला आफ्नो पक्षमा भएपछि अब मैनालीले क्षतिपूर्तिको प्रक्रिया अघि बढाउने भएका छन् ।
सन् १९९७ मार्च १९ मा मृत भेटिएकी यौनकर्मी यासुको वातानावेको हत्या अभियोगमा मैनाली जेल परेका थिए । सन् १९९७ को मार्च २२ मा पक्राउ परेका गोविन्दलाई तत्कालै वातानावे हत्याको अभियोग लगाई टोकियो उच्च न्यायालयले उनलाई आजीवन कारावासको सजाय तोकेको थियो ।
बिहानैदेखि मैनालीको प्रतिक्रिया लिन स्वदेशी तथा विदेशी सञ्चारकर्मीहरु उनको घरमा पुगेका छन् । मैनालीकी पत्नी राधाले पनि सत्यको विजय भएको प्रतिक्रिया दिइन् ।
हाल मैनालीले आफ्नो १५ वर्षो जेल जीवनबारे पुस्तक लेख्दै छन् ।
