समाचारबुधबार, जेठ २०, २०७२
अर्थमन्त्री महतले भने, ‘रमेश राम्रो मान्छे हो’
अर्थमन्त्री रामशरण महतले आफ्नो पूर्व स्वकीय सचिव रमेश महतमाथि राजनीतिक षडयन्त्र भएको बताएका छन् ।
नेपाली टाइम्ससँग कुरा गर्दै उनले भने, ‘‘रमेश राम्रो सामाजिक कार्यकर्ता हो, नुवाकोटमा राम्रै काम गर्दै थियो ।’’ गाउँगाउँ पुगेर राम्रो काम गर्नेप्रति षडयन्त्र भएको अर्थमन्त्री महतले बताए ।
नुवाकोट नेपाली कांग्रेसका सचिव रमेश महत आगामी जिल्ला अधिवेशनमा सभापतिको उमेद्वार हुने तयारीमा रहेकाले पनि यस्तो भएको हुनसक्ने अर्थमन्त्री महतले बताए । उनले भने, ‘‘राम्रो गरेको देखेर रिसाउनु स्वभाविक हो ।’’
एउटा गाउँमा जस्तापाता बाँडेर अर्काे ठाउँ लैजाने क्रममा स्थानीयले बेच्न लगेको आरोप लगाएको अर्थमन्त्री महतले बताए । उनले भने, ‘‘राजनीतिक षडयन्त्र गर्नेहरुले मिडियालाई पनि प्रयोग गर्न सफल भए ।’’
भूकम्प प्रभावितका लागि गएको जस्तापाता बेच्न खोजेको आरोप लागेपछि नुवाकोट दैवी प्रकोप उद्धार समितिले छानविन समिति गठन गरेको छ । त्यहाँका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले गल्ती भेटिए कार्बाही हुने बताउँछन् ।
यता, अर्थमन्त्रीका नातेदार समेत रहेका रमेश महतले भने छानविनका लागि सजिलो पार्न भन्दै स्वकीय सचिवबाट राजिनामा दिएका छन् ।