थप समाचारबुधबार, जेठ २०, २०७२
स्कूल नै रमाइलो
-चीना थापा
महाभूकम्पपछि बन्द विद्यालयहरु १७ जेठबाट सञ्चालनमा आएका छन् । विद्यालय सञ्चालनमा आएसँगै विद्यार्थीहरु पनि विद्यालय आउन थालेका छन् ।
भूकम्पको मनोवैज्ञानिक त्रासका कारण बालबालिका विद्यालय पठाउन अभिभावक डराएपनि विद्यार्थीहरु भने विद्यालयमै रमाउन थालेका छन् । लगनखेलस्थित मछिन्द्र विद्यालयमा कक्षा–५, मा पढ्ने लक्ष्मी यादव स्कूल नै रमाइलो लाग्न थालेको बताउँछिन् ।
उनी भन्छिन्, ‘‘भूकम्प जाँदा घरमा लडेको थिएँ, त्यसपछि डर लागिरहन्थ्यो । तर स्कूल आएपछि साथीहरुसँग हुँदा त्यति धेरै डर लागेको छैन ।’’ उनका साथीहरुले पनि स्कूलमा डर नलागेको बताए ।
मनोविज्ञान त्रास हटाउन विद्यालयहरुले दिउँसो १ बजेसम्म विभिन्न सांगीतिक तथा अन्य कार्यक्रम गरिरहेकाले विद्यार्थीहरु अल्मलिन थालेका छन् । लक्ष्मी भन्छिन्, ‘‘बरु, स्कूलमा भन्दा घरमा धेरै डर लाग्छ ।’’
कुपण्डोलस्थित प्रगति शिक्षा सदन उच्च माध्यामिक विद्यालयकी छात्रा निरुता त्रिपाठीले पनि स्कूल नै रमाइलो लागेको बताइन् । कक्षा ३ मा अध्ययनरत त्रिपाठी भन्छिन्, ‘‘स्कूलमा मिसले कथा भन्नुहुन्छ, गीत गाउनुहुन्छ अनि हामी पनि गाउँछौं ।’’
१२ वैशाखको महाभूकम्पबाट अतिप्रभावित जिल्लाहरू बाहेक देशभरका विद्यालय सञ्चालनमा आइसकेका छन् । र, भत्किएका विद्यालय अस्थायी टहरामा सञ्चालित भएपनि विद्यार्थीहरू भने सामान्य अवस्थामा फर्कदै गएका छन् ।