थप समाचारबिहीबार, जेठ २१, २०७२
निम्तालुलाई चकलेट, भोज भूकम्पपीडितलाई
कमल रिमाल, विराटनगर
मोरङका एक सर्वसाधरणले आफ्नो छोरीको गुन्यूचोलीको भोजमा लाग्ने खर्च भूकम्प पीडितलाई दिएका छन् ।
धिरज पोखरेलले आफ्नो ९ वर्षीया छोरी यशस्वीको गुन्युचोलीमा निम्तालुहरुलाई चकलेट मात्रै बाँडेका थिए । गुन्यूचोली सकिनासाथ उनी जिल्ला प्रशासन पुगेर गुन्यूचोलीको भोजमा लाग्ने खर्च बरावरको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिदिएको प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले बताए ।
उनले रु १ लाख १ हजार प्रधानमन्त्री राहतकोषमा जम्मा गरिदिएका छन् । यसअघि अर्की छोरीको पास्नी र यशस्वीको जन्मदिन मिलाएर पोखरेलले दिएको भोजमा रु.२ लाख खर्च भएको थियो ।
गुन्यूचोलीमा भोज लगाउनु पर्ने छोरीको इच्छा भएपछि भुकम्प पीडितले खान नपाएको समस्या सुनाएपछि यशस्वी राहत दिन राजी भएको पोखरेलले बताए । चेक लिएर अबिभावकसँग गएकी यशस्वीले प्रजिअ कार्कीलाई हस्तान्तरण गरिन् ।
परम्परागत गुन्यूचोली जस्तो कार्यमा गरिने खर्च कटाएर भुकम्प पीडितको राहतका लागि जम्मा गरिएकोमा प्रशंसा गर्दै प्रजिअ कार्कील भने, “विराटनगरका धनी मानिसहरुको चेत खुलेको छैन, राहतका लागि अगाडी आएको देखिदैन ।”
केही समय अघि मात्रै मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले त्यही ठूलो तडकभडकसाथ छोराको विहे गरिदिएका थिए । भूकम्पले देशबासी रोइरहेका बेला नेता यादवको घरबाट निस्किएको जन्तीले पड्काएको पटका र आतिसबाजीले रातभरी विराटनगर गुन्जिएको थियो ।
आवाज बढी भएपछि बिवाह स्थत हाटखोलास्थित रिसोर्टमा पुगेर प्रहरीले पटका नपड्काउन आग्रह गरेको थियो । जन्तीले ट्राफिक चोकमा पड्काउन सडकमा बिच्छ्याएको पटकाको लामो माला प्रहरीले नियन्त्रणमा लिएको थियो ।
“बिवाह स्थलमा पटका पट्कीएपछि हामीले दुबै ठाउंमा सचेत गरायौं” मोरङका प्रहरी नायव उपरिक्षक प्रभुप्रसाद ढकालले भने, “पटक पटक अनुरोध गर्दापनि मानेनन् ।” जन्तीमा प्रयोग भएका भारतीय गाडीहरुको तातीले सडक जाम भएको थियो भने बाटो खुलाउन ट्राफिक प्रहरी परिचालन गरिएको थियो ।