समाचारआइतबार, जेठ २४, २०७२
गाउँमा दलका कार्यकर्ता, दुई हजार अस्थायी आवास निर्माण
महाभूकम्पले जोखिमयुक्त बनाएका घर भत्काउन, भग्नावशेष हटाउन र अस्थायी आवास निर्माणका लागि विभिन्न राजनीतिक दलका कार्यकर्ता भक्तपुरका गाउँगाउँ पुगेका छन् ।
१२ वैशााखकाे महाभूकम्प र त्यसपछिका परकम्पले घर, धार्मिक सम्पदा, विद्यालय र अन्य सरकारी भवनमा क्षति पुगेपछि नेपाली कांग्रेस, एमाले र एमाओवादीले १० जेठबाट श्रम शिविर सुरु गरेका थिए ।
एमालेले वरिष्ठ नेता झलनाथ खनालको प्रमुख जिम्मेवारीमा क्षेत्र नं १ मा केन्द्रीय सदस्य एवम् इन्चार्ज सोम मिश्र र क्षेत्र नं २ मा परशुराम मेघी गुरुङको नेतृत्वमा परिचालित ४०० जनाको टोलीले अहिलेसम्म भक्तपुरमा ७५० टहरा निर्माण गरेको छ ।
मिश्रले भने, “जिल्लामा सञ्चालित दुइटै क्षेत्रका शिविरले अहिलेसम्म ७५० वटा अस्थायी आवास निर्माण गरेर हस्तान्तरण गरेको छ र भत्किएका विद्यालयको ३० वटा कक्षाकोठा निर्माण गरिदिएको छ ।” टोलीले ३०० घर जोखिमयुक्त घर भत्काएको तथा घर, धार्मिकस्थल र विद्यालय गरी १०० वटाभन्दा बढी भवनको भग्नावशेष पन्छाएको एमालेले जनाएको छ ।
त्यसैगरी, युवा सङ्घ र उद्योगमन्त्री महेश बस्नेतको पहलमा भक्तपुरमा क्षेत्र नं २ मा मात्रै एक हजार जस्ताको अस्थायी टहरा निर्माण गरेर हस्तान्तरण गरिएको छ । भत्किएका विद्यालयको अस्थायी टहरा निर्माणमा जुटेको अनेरास्ववियुले आठ कक्षाकोठा निर्माण गरेको र अभियान जारी रहेको भक्तपुरका उपाध्यक्ष जयराम बास्तोलाले बताए ।
त्यसैगरी एमाओवादीको नेतृत्वमा खटिएका पाँच माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको माओवादी पनि जिल्लामा छुट्टाछुट्टै टोली बनाएर भग्नावशेष हटाउने र अस्थायी आवास निर्माणमा सक्रिय भएका छन् ।
एमाओवादीले क्षेत्र नं १ मा पोलिटब्युरो सदस्य लेखराज भट्ट र क्षेत्र नं २ मा अर्का पोलिटब्युरो सदस्य रामचन्द्र झाको नेतृत्वमा ३०० कार्यकर्ता परिचालन गरेको छ । जोखिमयुक्त घर तथा संरचनालाई भत्काउने र भग्नावशेष हटाउने कार्यमा बढी प्राथमिकता दिएको माओवादीको संयुक्त टोलीले ३०० भन्दा बढी घरको भग्नावशेष हटाउनाका साथै ५०० भन्दा बढी अस्थायी आवास निर्माण गरेको एमाओवादीका अन्तर्राष्ट्रिय ब्युरो सदस्य निर्मल भट्टराईले बताए ।
चन्द नेतृत्वको माओवादीले जिल्लामा सय कार्यकर्ता खटाएर भग्नावशेष हटाउने र टहरा निर्माणको कामलाई जारी राखेको छ । भक्तपुर इन्चार्ज क्षितिज मल्लले १५० घरको भग्नावशेष हटाउनाका साथै २५० भन्दा बढी टहरा निर्माण गरेर हस्तान्तरण गरिएको बताए ।
कांग्रेसको सफाइ अभियान
नेपाली कांग्रेसले भने साताव्यापी सरसफाइ अभियान सञ्चालन गरेर भग्नावशेष हटाउने काम सुरु गरेको पार्टी अध्यक्ष गणेशमान चक्रधरले बताए । राप्रपा र राप्रपा नेपालले पनि एक साताअघिदेखि सुडालबाट संयुक्त रुपमा सोही अभियान सुरु गरेका छन् ।
राप्रपा नेपालका केन्द्रीय सदस्य रामेश्वर थापाका अनुसार एक सातामा जिल्लाको दुवै क्षेत्रमा परिचालित २०० कार्यकर्ताले ३० अस्थायी टहरा निर्माण गरेका छन् । जोखिममा रहेको घर भत्काउने र भग्नावशेष हटाउने कामलाई पनि निरन्तरता दिइएको थापाको भनाइ छ ।
नेकपा माले पनि एक सातादेखि १०० कार्यकर्ता खटाएर जिल्लामा अस्थायी टहरा निर्माण तथा भग्नावशेष हटाउने काममा सक्रिय रहेको मालेका जिल्ला अध्यक्ष अदीप खड्काले बताए । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
