समाचारआइतबार, जेठ २४, २०७२
जो कुकूरहरुलाई आफ्नै सन्तान ठान्थिन्
कमलादी, काठमाडौंको गणेश मन्दिरछेउ बस्दै आएकी ५६ बर्षीया ज्ञानी देउलाको आइतवार विहान निधन भएको छ । उनी लामो समयदेखि दम रोगबाट ग्रस्त थिइन् ।
देउला आफ्नै परिवारद्वारा परित्यक्त भएपछि यो मन्दिरमा बर्षाैदेखि बस्दै आएकी थिइन् । र, अरुद्वारा परित्यक्त कुकूरलाई स्याँहारसुसार गर्दै आएकी थिइन् ।
तीन बर्षअघि नेपाली टाइम्सले देउलाको बारेमा एक लेख प्रकाशित गरेको थियो, जसको शीर्षक थियो– ‘कुकूरहरुको आमा’ । त्यसयता उनी त्यही उपनामले परिचित थिइन् ।
लेख प्रकाशित भएपछि केही सामाजिक संघसंस्थाले उनलाई कुकूर पाल्न मद्दत पनि ग¥यो । तर, उनको खर्चको मूख्य स्रोत भने आफ्नै कमाई थियो । उनी गणेश मन्दिर दर्शन गर्न आउनेहरुलाई फूल तथा प्रसाद बेच्थिन् र आफ्नो आम्दानीको ठूलो हिस्सा करीब दुई दर्जन कुकूरहरुलाई हरेक दिन खाना खुवाउनमै खर्च गर्थिन् ।
उनी रातो मछिन्द्रनाथको रथको हेरचाह समेत गर्थिन् । जसबाट मासिक रु. एक हजार पाउथिन् । त्यो रकम पनि उनी कुकूरकै स्याहारमा खर्चिन्थिन् ।
पाँच बर्षअघि देउलाले गणेश मन्दिर नजिकै एउटा कार्टुन भेटिन्, जसभित्र कुकूरका बच्चाहरु थिए । उनले ती कुकूरका बच्चाहरुलाई आफ्नै सन्तान सरह पाल्न थालिन् । पछि जेजति कुकूर भेटिन्, सवैलाई पाल्न थालिन् । यसैले उनलाई अरु छरछिमेकले समेत ‘कुकूरहरुकी आमा’ भन्न थालेका थिए ।
आइतवार विहान देउलाको निधन भएपछि उनले पाल्दै आएका कुकूरहरु अलपत्र परेका छन् । एक स्थानीयबासीका अनुसार केही कुकूरहरु उनको शव राखिएको गाडी चढेर पशुपति आर्यघाट जान खोजेका थिए ।
देउलाले मृत्युअघि आफ्नो आँखा दान पनि गरेकी थिइन् । उनको आँखाको कोर्निया आइतवार दिउँसै तिलगंगा अस्पतालका प्राविधिकहरुले झिकेका थिए ।
देउलाको मृत्यु सम्बन्धी खबर सामाजिक सञ्जालहरुमा फैलिएपछि उनको कर्मबाट प्रभावित हुनेहरु स्वस्फूर्त पशुपति आर्यघाट पुगेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
