समाचारआइतबार, जेठ २४, २०७२
न्यायालयले नै अन्याय गर्योः गंगामाया
वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टरको ६ नम्बर बेडबाट गंगामाया अधिकारीले मूख खोलिन्, ‘‘मलाई न्यायालयले नै अन्याय गर्यो ।’’
छोराको हत्यारालाई कार्बाहीको माग राख्दै अनशन बस्दाबस्दै श्रीमान् नन्दप्रसाद गुमाएकी गंगामायाले न्यायको लडाईँ लड्ने भन्दै १ कात्तिक २०७१ मा अनशन तोडेकी थिइन् । उनलाई कानूनमन्त्री नरहरी आचार्य आफैंले जुस पिलाएर अनशन तोडाएका थिए ।
मन्त्री आचार्यले साथमै लिएर गएका शान्ति मन्त्रालयका कामू सचिव खुमराज पुञ्जालीले अधिकारीको न्याय प्राप्तिको लडाई सरकारले लड्नै प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए । तर, लामो समय वित्दा पनि न्याय नपाएपछि गंगामायाले आज पत्रकार सम्मेलन गरेर पुनःअनशन थाल्ने चेतावनी दिइन् ।
गंगामायाले पत्रकार सम्मेलनमा भनिन्, ‘‘हत्याराहरूलाई अदालतले धरौटीमा छोड्यो, पुनरावेदनको फैसला कुरेको महीनौं भयो ।’’ उनले १० दिनको समय न्यायालयलाई दिएकी छिन् ।
गंगामायाले भनिन्, ‘‘१० दिनभित्र पनि केही भएन भने फेरि आमरण अनशन बस्छु ।’’ गंगामायाको छोरा कृष्णप्रसादको मुद्दा सरकारले हेर्ने प्रतिवद्धता जनाएपछि उनले अनशन तोडेकी थिइन् ।
माओवादीले छोरा कृष्णप्रसादको हत्या गरेको ११ बर्ष पुगेको २४ जेठ पारेर उनले पत्रकार सम्मेलन गरेको अधिकारकर्मी रसना ढकालले बताइन् । अनशनकै क्रममा ६ असोज २०७१ मा मृत्यु भएको नन्दप्रसादको शव अझै शिक्षण अस्पतालमै छ ।
गंगामायाले भनिन्, ‘‘अव हामी दुवैलाई एउटै चितामा जलाईदिनू ।’’ उनले न्याय प्राप्त नभएसम्म श्रीमानकाे शव नबुझ्ने अडान लिदै आएकी छिन् । ‘‘सरकारसँग न्याय माग्दा–माग्दै श्रीमानकाे प्राण गयो, अव न्यायालयले मेरो प्राण लेओस् ।’’
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
