थप समाचारमंगलबार, जेठ २६, २०७२
थरीथरीका घर
– सजना बराल
१२ वैशाखको महाभूकम्पपछि नयाँ–नयाँ शैली र अनेक विशेषताका घरको नमूना प्रदर्शन हुन थालेका छन्।
महाभूकम्पले देशभर ७ लाख ८५ हजार ७५ वटा निजी घर भत्काएको वा चर्काएर बस्न नमिल्ने बनाएको छ। घरबाट पालमा आइपुगेका लाखौंलाई बर्खा लाग्नुअघि नै भरपर्दो अस्थायी बासस्थान चाहिएको छ। यस्तोमा इन्जिनियर, आर्किटेक्ट, फर्निचर तथा घर निर्माण सम्बन्धी व्यवसायीहरू विभिन्न किसिमका अस्थायी/स्थायी आवासका नमूना सार्वजनिक गर्न थालेका छन्।
पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले दुई/तीन वर्ष टिक्ने तीन किसिमका घर र एउटा विद्यालयको नमूना क्याम्पस परिसरमा प्रदर्शनीमा राखेका छन्। विद्यार्थीको आश्रय नेपाल नामक समूहले आश्रय रिलिफ सेल्टर, रोबोटिक्स क्लबको छरितो घर, विद्यालय र हल तथा नेपाल अर्थक्विक रिलिफ फण्ड, दिल्ली समूहले ‘ट्रान्जिसनल ब्याम्बो हाउस’ बनाएका छन्।
आश्रय नेपालको घरमा स्टिलको रडबाहिर एमएस पाइप छिराएर सुरुङ आकारमा पिलर गाडिएको छ। ९×१२ फिट क्षेत्रफलमा बनाइने यस्तो घरको पर्खालमा ईंटा वा ढुंगाको गारो लगाएर छानामा जस्तापाता राखिन्छ। हावाले जस्ता नउडाओस् र भित्र बढी तातो नहोस् भनेर जस्तापातामाथि प्लास्टिक, माटो र स्याउला राखिएको छ। समूहका सदस्य २४ वर्षीय सुगन्ध सुवेदी ५/६ जनाको परिवारलार्ई यो घर ठिक्क हुने बताउँछन्।
आठ पाता जस्ता, तीनवटा पाइप, ६ वटा रड, दुई किलो जीआई तार, आधा किलो ढलान तार र २५ मिटर प्लास्टिक चाहिने आश्रय रिलिफ सेल्टरको भुईंमा सिमेन्ट ढलान हुन्छ। ईंटा, ढुंगा र झयाल–ढोकाका लागि चाहिने काठपात पुरानो घरको भग्नावशेषबाटै निकालिने हुनाले रु.१३ हजारमै एउटा घर तयार हुने बताउँदै सुवेदी भन्छन्, “यस्तो घरमा इन्सुलेसन, क्रस–भेन्टिलेसन र ढलको पनि व्यवस्था हुन्छ।”
रोबोटिक्स क्लबले चाहिं रु.४० हजारमा तयार हुने सुविधाजनक घरको नमूना राखेको छ। दुई बण्डल जस्तापाता, ७ वटा फलामे रड, १२ मिटरको इन्सुलेटिङ म्याट, एक किलो तार र एउटा प्लाइउडबाट बन्ने क्लबको ‘छरितो घर’ मा सोलार बत्ती जडान गरिएको छ। सोलारले ७ वाटको एउटा बल्ब बाल्नुका साथै दुइटा मोबाइल चार्ज गर्न सक्ने क्लबका सञ्जिव पौडेल (२३) ले बताए।
१२×१५ फिटका गोलाकार घरमा चिम्नी र आकाशे पानी संकलन गर्ने प्रणाली पनि छ। क्याम्पस परिसरमा निर्मित घरकै छेउमा शौचालय र विद्यालय समेतको नमूना तयार पारेको क्लबले हालसम्म काठमाडौंको गोलढुंगा, काभ्रे, भक्तपुर र ललितपुरमा गरी ५० वटा ‘छरिता घर’ बनाएको छ।
नेपाल सरकारले पनि भूकम्प प्रभावित क्षेत्रका लागि ‘दुईनाले घर’ को नमूना सार्वजनिक गरेको छ। राष्ट्रिय योजना आयोग र शहरी विकास मन्त्रालयको पहलमा भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपाल (एनसेट) का प्राविधिकले डिजाइन गरेको ‘दुईनाले घर’ स्थानीय सामग्रीबाट बन्छ। “बाँस वा काठको स्ट्रक्चरमा ढोड, स्याउला, खर आदि खापेर भित्ता बनाएपछि जस्ताको छानो राखिन्छ”, एनसेटकी भुवनेश्वरी पराजुली भन्छिन्, “हरेक जोर्नीमा बाँधिएको तारले घरलाई बलियो पार्छ।”
उनका अनुसार, परम्परागत शैलीमा थोरै परिष्कार गरेर बनाइएको यस्तो घरमा दुई वर्षसम्म मजाले बस्न मिल्छ। त्यसपछि अन्य प्रयोजनमा उपयोग गर्न सकिन्छ।
प्रि–फ्याब लहर
आर्किटेक्ट सुवास अधिकारी (३७) ले स्थानीय वस्तुबाट परम्परागत र प्रि–फ्याब्रिकेटेड घरको नमूना तयार पारेका छन्। महाभूकम्पपछि नेपालमा कम लागतमा चाँडै तयार गर्न सकिने प्रि–फ्याब्रिकेटेड वा प्रि–फ्याब घरप्रति चासो बढेको उनको अनुभव छ। अधिकारी भन्छन्, “घाम, पानी, हावा, हुरी र भूकम्पले समेत कम असर गर्ने भएकाले प्रि–फ्याब घर राम्रो विकल्प हो।”
उनले डिजाइन गरेको ३५०×५०० फिटको एकतले घरमा फलाम वा काठको स्ट्रक्चर बनाएर भित्ता र छानोमा ६ इन्चका प्रि–फ्याब्रिकेटेड स्याडविच प्यानल जडान गरिन्छ। छेउ–कुनामा नट–बोल्ट कसेर प्यानललाई दह्रो बनाइन्छ। यस्तो घर बनाउँदा एक तलाको लागि ढेड फिट जग खने पुग्छ।
यस्तै प्रि–फ्याब घरका सामग्री बिक्री–वितरण गर्ने हिमालयन प्रि–फ्याब प्रालिले देशभर १०० भन्दा बढी प्रि–फ्याब घर बनाइसकेको छ। आठ वर्षअघि प्रि–फ्याब प्रविधिबाट बनेको कम्पनीको लैनचौरस्थित कार्यालयमा अहिले सोधपुछ गर्न आउनेको संख्या ह्वात्तै बढेको कम्पनीका अपरेसन म्यानेजर गणेशकुमार पाण्डे बताउँछन्। उनका अनुसार, यस्ता घर ४० वर्षसम्म टिक्छन्।
स्टील बिममा प्यानल राखेर बनाइने प्रि–फ्याब घरलाई एकबाट अर्को ठाउँमा सार्दा १० प्रतिशत जति मात्र बिग्रने व्यवसायी बताउँछन्। हिमालयन प्रि–फ्याबको दुई बेडरुम, एक किचन, एक कमन रुम र एउटा ट्वाइलेट भएको एकतले घरलाई रु.८ लाख पर्छ।
त्यसो त, नेपालीका लागि प्रि–फ्याब प्रविधि निकै महँगो भएकाले तत्कालका लागि यो राम्रो विकल्प हुनै सक्दैन भन्नेहरू पनि छन्। बेलायतमा जेनेरल बिल्डरको तालीम लिएर आठ वर्ष उतै काम गरेका देवेन्द्रबाबु तिवारी (३६) प्रि–फ्याब प्रविधि आम नेपालीका लागि ‘अफोर्डेबल’ नभएको बताउँछन्। “हाम्रो कमाइ त्यति धेरै छैन”, तिवारी भन्छन्, “त्यसमाथि धन–जनको यत्रो क्षति भएको बेला लाखौंको घर बनाउन सहज नहोला।”
परम्परागत घरहरू हाम्रो सम्पदा भएकाले पनि प्रि–फ्याबको सट्टा स्थानीय वस्तु प्रयोग उचित हुने तिवारीको तर्क छ। पुरानै शैलीमा बलियो घर बनाउन सकिने बताउने उनी बरु नोबल पुरस्कार विजेता इरानी–अमेरिकी आर्किटेक्ट नदेर खलिलीको ‘अर्थब्याग बिल्डिङ’ शैली अपनाउँदा उचित हुने ठान्छन्।
खलिलीको ‘अर्थब्याग बिल्डिङ’ प्रविधिमा बोरामा माटो वा बालुवा भरेर गोलाकार जगमाथि ईंटा राखे झैं राखिन्छ। हलचल नहोस् भनेर तारले बाँधेर बोरा थप्दै लगिन्छ। माटोको आयु नहुने भएकाले यस्तो धेरै टिक्छ।
फूलखर्क भूकम्प सहयोग कोषको आर्थिक सहयोगमा ‘रम्ड अर्थ सोलुसन’ ले काठमाडौंको गोलढुंगामा खलिलीको शैली पछ्याएका छन् । कोषका अध्यक्ष ज्योति अधिकारीका अनुसार, यो घरमा ६०० वटा बोरामा माटो भरेर गारो लगाइएको छ।
रडको आडमा खप्टाइएका बोरालाई तारले कस्तै माथि उठाएर छानामा जस्ता राखिएको छ। छुट्टै भान्सा कोठा र शौचालय सहितको घरलाई राम्रो देखाउन भित्र–बाहिर माटोले लिपिएको छ। यो घर रु.२ लाखमा तयार गरेको अध्यक्ष अधिकारीले बताए।
त्यस्तै, पाटनको भ्याली प्लस प्रालिले सेरा बोर्डको घर बनाउने शैली भित्र्याएको छ। ग्लास उल इन्सुलेसन जडित सेरा बोर्ड घरको भुईं, भित्ता र सिलिङमा लगाइन्छ। भ्याली प्लसका सरोज जोशीका अनुसार, यो पनि एक प्रकारको प्रि–फ्याब प्रविधि नै हो, जसमा प्यानलको सट्टा बोर्ड प्रयोग गरिन्छ। दुई बेडरुम, एक किचेन–डाइनिङ रुम, कमन रुम र शौचालय सहित ५५० वर्ग फिटको पश्चिमा शैलीको सेरा बोर्डको घरलाई लगभग रु.१२ लाख पर्छ।
नेपाटपको ‘सेफ होम्स’
पानीट्यांकी र पाइप उत्पादन तथा बिक्री–वितरण गर्दै आएको नेपाटप अर्गनाइजेसनले गत साता ‘सेफ होम्स’ नाममा भूकम्प प्रतिरोधात्मक घरको नमूना सार्वजनिक गर्यो, जुन गोंगबुस्थित कम्पनीको शो–रुममा राखिएको छ।
यस्तो प्रि–फ्याब घरको भित्ता र छानोमा नेपाटपकै यूपीभीसी र प्यानल प्रयोग गरिन्छ। तिनलाई स्टीलको बिमले अड्याएको हुन्छ। कम्पनीका अध्यक्ष दीपक श्रेष्ठका अनुसार, ३०० वर्गफिटमा दुइटा कोठा र शौचालय भएको घर बनाउन रु.३ लाख ६० हजार लाग्छ।
३० वर्षको वारेन्टी रहेको ‘सेफ होम्स’ को फिटिङ नेपाटपले नै गरिदिन्छ। देशभर ८ वटा इन्स्टलेसन प्वाइन्ट भएकाले जहाँका बासिन्दाले पनि यस्तो घर बनाउन सक्ने संस्थाले जनाएको छ। समुदायले नै यस्तो प्रि–फ्याब घर बनाए प्राकृतिक विपत्का बेला जनधनको क्षति नहुने कम्पनीका अध्यक्ष श्रेष्ठ बताउँछन्।