समाचारबिहीबार, जेठ २८, २०७२
ताप्लेजुङ पहिरोमा मृत्यु हुनेको संख्या ४१ पुग्यो (अपडेट)
ताप्लेजुङको विभिन्न गाविसमा गएको पहिरोमा मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।
पहिरोमा पुरिनेहरुको संख्या हालसम्म यकिन हुन सकेको छैन । प्रहरी नायव उपरिक्षक शान्तिराज कोइरालाका अनुसार जिल्लाका थिङलावु, खोक्लिङ र लिङतेपलगायतका गाविस पहिरोवाट अधिक प्रभावित भएका छन ।
पहिरोका कारण लिवाङ गाविसमा सवैभन्दा धेरै मानवीय क्षति भएको छ । सो गाविस वडा नम्वर १ का सन्तहाङ फेम्सोहाङ (लिम्वू)को परिवारका मात्रै १० जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा सन्तहाङ सहित शिक्षा,आइतमाया जुनु, प्रेम, शिशिर, अञ्जु, सपना फेम्सोहाङ र अरुण फेम्सोहाङसहित घरमा पाहुना आएकी एकजना आफन्त सहित १० जनाको शव फेला परेको वताइएको छ । यस्तै, लिवाङ १ कै निमाखाम्दु सेर्पा र उनका एकजना नातीको पनि मृत्यु छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार पहिरोवाट मृत्यु भएमध्ये लिवाङको वडा नम्वर १ वाट १२, वडा नम्बर २ र ३ वाट ८–८, लिङतेपवाट ३, थिङलावुवाट ५ तथा खोक्लिङ र सान्थाक्रावाट २–२ जनाको शव वाहिर निकालिएको छ ।
विभिन्न गाविसवाट ८ जना घाइतेको उद्वार गरिएको छ । उनीहरुलाई प्रतिकुल मौसमका कारण उपचारका लागि लैजान सकिएको छैन । काठमाण्डौवाट उद्वारका लागि आएको हेलिकोप्टर हालसम्म फुङलिङस्थित शसस्त्र प्रहरीको वेश क्याम्पमा वसिरहेको छ ।
थिङलावु पठाउने तयारी गरिएपनि त्यसक्षेत्रमा वाक्लो हुस्सु लागेका कारण हेलिकोप्टर सदरमुकामवाट वढ्न नसकेको वताइएको छ ।
यस्तै, खोक्लिङ–७ मा घर वगाँउदा २ जना वालकको ज्यान गएको छ । मृत्यु हुनेहरुमा १० वर्षीय सविन मादेन र ८ वर्षीय वसन्त विक छन ।
लिङतेप–१, का आइतवहारदुर लिम्वूकी ८ वर्षीय छोरी चमेली लिम्वुको पनि पहिरोमा परी मृत्यु भएको वताइएको छ भने सान्थाका–३ का अम्वर लिम्वुसहित २ जना र लिङतेप–३ की मनमाया लिम्वूको पनि पहिरोमा मृत्यु भएको वताइएको छ ।
यद्धपी जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले भने पहिरोमा वेपत्ता भए मध्ये १५ जनाको पहिचान खुलेको दावी गरेको छ ।
ताप्लेजुङका सहायक प्रजिअ सुरेन्द्र भट्टराईले भने, “छ वटा गाविसमा पहिरो गएको छ, करिव तीन दर्जनको ज्यान जानुका साथै त्यत्तिकै संख्यामा घाइते र वेपत्ता भएको खवर आएपनि हालसम्म १५ जनाको मात्रै शव भेटिएको जनाकारी हामीकहाँ आएको छ यो संख्या अझै वढ्ने अनुमान गर्न सकिन्छ ।”
स्थानीयका अनुसार अहिले घट्नास्थल क्षेत्रमा हाल पानी पर्न रोकिएपनि वाक्लो हुस्सु लागिरहेको छ । यसैबीच, प्रधानमन्त्री सुशील कोइरालाले उद्धार र राहतलाई व्यवस्थित गर्न निर्देशन दिएका छन् । उनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उद्धार कार्यलाई तीव्र पार्न निर्देशन दिएका हुन् ।
लक्ष्मी गौतम
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
