समाचारशुक्रबार, जेठ २९, २०७२
ताप्लेजुङ पहिरोमा फसेका १४ जनाको अझै उद्धार हुन सकेन, प्रमको टोली आउँदै
ताप्लेजुङको पश्चिमी क्षेत्रमा गएको पहिरोमा परी लिवाङ गाविसको ल्यामल्याममा फसेका १४ जनाको अझै उद्धार हुन सकेको छैन ।
मौसम खराब भएका कारण उनीहरूको उद्धार हुन नसकेको प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले जानकारी दिए ।
वरिपरी पहिरो गएको र बीचमा फसेका उनीहरूलाई उद्धार गरी ल्याउन गएको हेलिकप्टर बिहीबार साँझ अवतरण हुन सकेन । बिहान सबेरै गरिएको प्रयास पनि दर्के झरीका कारण सम्भव भएन ।
प्रमुख जिल्ला अधिकारी निरौलाले निरन्तरको पानी र मौसममा देखिएको परिवर्तन कारण उद्धारको प्रयास सम्भव नभएको बताए ।
उनले भने, “बिहीबार अपराह्न आइपुगेको नेपाली सेनाको हेलिकप्टर लिवाङ गाविसमा घाइते भएका आठजनालाई जिल्ला अस्पताल ल्याउन सफल भएको छ भने पहिरोको बीचमा फसेकालाई उद्धारका लागि प्रयास गरिरहेको छ ।”
‘मौसममा देखिएको गडबडीमा सुधार आउने बित्तिकै हेलिकप्टरलाई लिवाङतर्फ पठाइने छ,’ जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका निरौलाले भने,“ लिवाङको वडा नं २ ल्यामल्याम र थप पहिरो गएको फुगाम्देनको बीचमा भागमा १४ जना स्थानीय बुधबार रातिबाट फसिरहेका छन् ।”
जिल्ला प्रहरी कार्यालयका ताप्लेजुङ प्रमुख शान्तिराज कोइरालाले नेपाल प्रहरीको टोली घटना भएका सबै क्षेत्रमा पुगेको जानकारी दिए । उनका अनुसार हेलिकप्टरबाट उद्धार कार्य सम्भव नभए नेपाली सेना र सशस्त्र प्रहरीबाट समेत फसेकाको उद्धारका लागि सहयोगका लागि पहल भइरहेको छ ।
उनले पानी परिरहेकाले हराइरहेकाको खोजी कार्यमा समस्या भएको बताए ।
यसैबीच उद्धार तथा राहतको व्यवस्थापनका लागि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठकले फसेकाको उद्धार, हराइरहेको खोजी र शव निकाल्ने कार्यको अहिलेसम्मको प्रगति र नयाँ रणनीति तयार गर्ने बताएको छ ।
भारी वर्षासँगै बुधबार राति गएको पहिरोमा परी ताप्लेजुङका पाँच गाविसमा कम्तीमा ५५ जनाको मृत्यु भएको छ । अहिलेसम्म २४ वटा शव प्राप्त भइसकेको र ३१ जना हराइरहेको प्रजिअ निरौलाले बताए ।
प्रधानमन्त्री आउने
बुधबार राति ताप्लेजुङमा गएको पहिरोको निरीक्षणका लागि प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानसेनापति गौरवशमशेर राणासहितको टोली यहाँ आउने कार्यक्रम रहेको जानकारी पनि प्रमुख जिल्ला अधिकारी निरौलाले दिए ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
