रमझमशनिबार, जेठ ३०, २०७२
महाभूकम्पमा प्रेम परीक्षा
– देबकी बिष्ट
केन्द्रबिन्दु गोरखा थियो, तर १२ वैशाखको महाभूकम्पले सिन्धुपाल्चोकमा बढी कहर ल्यायो। एकै जिल्लामा ३४ सयभन्दा बढीले ज्यान गुमाए, ६६ हजारभन्दा बढी घर भग्नावशेष बने।
तर, महाभूकम्पले घरपरिवार–आफन्तमा खासै असर नपारेको सिपाघाट–३ का कुमार राई (२१) को मनमा गएको कम्पन चाहिं भूकम्पको भन्दा कम थिएन। “बुबाआमाले अरुसँग बिहे गराउँदैछन्, माया गर्छौ भने तुरुन्तै लिन आऊ, नत्र म मर्छु”, जमुना न्यौपाने (२१) ले फोनमा यसो भन्दा कुमारको होसहवासै उड्यो।
सुनसरीको हासपोसा–४ की जमुनासँग कुमारको भेट दुई वर्षअघि काठमाडौंमा भएको थियो। जमुना दिदीसँग बस्थिन्, कुमार बौद्धको एउटा हार्डवेयर पसलमा काम गर्थे। उनीहरूबीच प्रेम भयो।
महाभूकम्प आउँदा दुवै काठमाडौंमै थिए। लगातारको परकम्पले असुरक्षित भएपछि दुवै जना ‘आफ्नो ख्याल राख्नू’ भन्दै आ–आफ्ना घर गएका थिए। तर, जमुनाको अन्तरजातीय प्रेमबारे परिवारले सुइँको पाइसकेको रहेछ, घर पुग्नेबित्तिकै उनी ‘नजरबन्द’ भइन्।
लुकाएको अर्को सीमबाट उनले बल्लतल्ल कुमारलाई फोन गर्न सकिन्। कुमारको प्रेम कच्चा थिएन। महाभूकम्पको परकम्पहरुले उत्पन्न गरिरहेको कोकोहोलोलाई सिन्धुपाल्चोकमै छाडेर २८ वैशाखमा उनी तरहरा पुगेर भोलिपल्ट जमुनालाई भेट्ने निहुँ मिलाए।
अर्को दिन मायालुलाई लिएर फरार भएका उनी १० जेठमा आफ्नै गाउँमा परम्परा अनुसार विवाह गर्न सफल भए। “मेरी आमा पौडेल, दिदीले कार्कीसँग बिहे गर्नुभयो, मैले न्यौपानेसँग”, उनी भन्छन्, “हामीले गल्ती गरेका छैनौं, अब सबै मिलेर भत्केका घर बनाउने, नयाँ जीवन अगाडि बढाउने हो।”