समाचारमंगलबार, आषाढ १, २०७२
संविधानसभा छाडने सदभावनाको चेतावनी
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सिमांकन र नामांकन नभएको संघीयतासहितको संविधान जारी गर्ने षडयन्त्र भइरहेको भन्दै त्यसो गरिए आफ्नो दल संविधानसभा छाडेर संघर्षमा उत्रने चेतावनी दिएका छन् ।
१ असारमा पार्टी केन्द्रीय कार्यालय मध्यबानेश्वरमा पत्रकार सम्मेलनको आयोजना गरी सदभावना अध्यक्ष महतोले नामाङ्कन र सीमाङ्कनसहितको संघीयताको लागि संबिधानसभा भित्रै संघर्ष गर्ने र माग पूरा नभए बाहिरिने चेतावनी दिएका हुन् ।
जेठ २६ गते प्रमुख राजनीतिक शक्तिबीच भएको संबिधान जारी गर्ने सम्बन्धी १६ बुँदे सहमतिप्रति सद्भावनाले असहमति जनाउँदै आएको छ ।
“नामाङ्कन र सिमाङ्कन बिनाको संघीयता ल्याउने षड्यन्त्र भइराखेको छ,” महतोले भने, “संविधानसभामा हामी अन्तिमसम्म नामाङ्कन र सीमाङ्कनसहितको संघीयताको पक्षमा संघर्ष गर्छौँ।”
उनले आफ्नो माग सुनुवाई नभए आफ्ना सबै सभासदहरुले राजीनामा गरेर आन्दोलन शुरु गर्ने बताए ।
महतोले प्रमुख चार राजनीतिक दलहरुबीच भएको १६ बुँदे सहमतिलाई षड्यन्त्र भने । सदभावना पार्टीका संविधानसभामा ६ सभासद् छन्।