समाचारमंगलबार, आषाढ १, २०७२
पतञ्जली योगपीठ काभ्रेमा रहेका २१ बालबालिका अभिभावकलाई बुझाइयो
पतञ्जली योग पीठको शाखा कार्यालय काभ्रेको आश्रयमा रहेका २१ जना बालबालिकालाई जिल्ला प्रशासन कार्यालय काभ्रे र जिल्ला बालकल्याण समितिले अभिभावकको जिम्मा लगाएका छन् ।
भूकम्प पीडित बालबालिकालाई अभिभावकहरुसँगै राख्नु पर्ने र अभिभावक बिना एक ठाउँबाट अर्को ठाउँमा लैजान नपाइने सरकारको निर्णय अनुसार पतञ्जली योग पीठको कार्यालय काभ्रेमा रहेका बालबालिकालाई अभिभावकको जिम्मा लगाइएको काभ्रेका प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालाले हिमाललाई बताए ।
१२ वैशाखको भूकम्पका बेला नेपालमै रहेका पतञ्जली योग पीठका संरक्षक–सञ्चालक भारतीय योग गुरु रामदेवले भूकम्प पीडित ५०० बालबालिकालाई पतञ्जली योग पीठ हरिद्वारले शिक्षा र संरक्षण दिने घोषणा गरेका थिए ।
पतञ्जली योग पीठले नेपालका भूकम्प पीडित बालबालिकालाई हरिद्वार लगेर शिक्षा र संरक्षण दिनका लागि दबाब दिए पछि ३२ जेठमा यसबारे सरोकार वाला निकायहरुको बैठक गृहमन्त्रालयमा बसेको थियो ।
बैठकले बालबालिकालाई विदेशमा लैजान नपाइने निर्णय गरेको थियो ।