थप समाचारबुधबार, आषाढ २, २०७२
अर्को महाविपत्को घण्टी
-लक्ष्मी गौतम, फुङलिङ
मनसुन शुरू नहुँदैको एकझर मुसलधारे वर्षाले पूर्वी पहाडको ताप्लेजुङमा मच्चाएको वितण्डाले देशका विभिन्न भागमा महाभूकम्पपछिको वर्षा ‘काल’ हुने संकेत गरेको छ।
२७ जेठको पहिरोमा हराइरहेकाको खोजीमा जुटेका सुरक्षाकर्मीले २९ जेठमा लिवाङमा ६ र थिङलावुमा ८ वटा शव भेटेपछि ताप्लेजुङका पाँच गाविसमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ३५ पुगेको छ। हराइरहेका १८ जनालाई जीवितै भेटिने सम्भावना पनि न्यून छ। पहिरोमा परेका ८ जनाको मात्र सकुशल उद्धार हुन सक्यो। वर्षात् र पहिरो पछि तमोर नदीमा आएको बाढीबाट जोगाउन दोभान बजारका ७० र रामदुवालीका ७ परिवारलाई जिल्ला सदरमुकाम फुङलिङ नजिकैको देहुलिङगेमा सारिएको छ।
१२ वैशाखको महाभूकम्प र त्यसयताका ४ म्याग्निच्यूड भन्दा ठूला तीन सयभन्दा बढी झ्ट्काहरूले हल्लाएको पहाडमा ठूलो पानी पर्दा खाम्लुङसहित ६ वटा गाविसमा १२ वटा पहिरो गए। भाग्यवश खाम्लुङ गाविसमा मानवीय क्षति भएन। २७ जेठ बेलुका सात बजेबाट मुसलधारे पानी पर्न थालेपछि राति ११ बजेतिर थिङलावुमा पहिलो पहिरो गएको थियो, जहाँ १४ जनाको ज्यान गएको छ।
त्यसपछिको रातभरमा अन्य पाँच गाविसका समेत गरी एक दर्जन गाउँ पहिरोको चपेटामा परे। १२ वैशाखको महाभूकम्पमा एक जनाको मात्र ज्यान गएको ताप्लेजुङमा वर्षाले निम्त्याएको पहिरोले भने शुरूमै यत्रो वितण्डा मच्चाएको छ। यी सबै गाविसमा यसअघि यस्तो पहिरो गएको थिएन।
भूगोलविद्हरूका अनुसार पहिरोको प्रमुख कारणमध्ये एक भूकम्प हो। उनीहरूका अनुसार भूकम्पले हल्लाएको जमीनको संरचनामा मनसुन शुरू भएपछि भकाभक पहिरो जानु अस्वाभाविक होइन।
एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का अनुसार महाभूकम्पपछि देशभरका पहाडमा तीन हजारभन्दा बढी सुक्खा पहिरो गएका थिए। त्यसको कारण लगातारका कम्पनहरूले जमीन खल्बल्याउनु नै थियो। कम्पनले दीर्घकालसम्मका लागि पहिरोको जोखिम बढाउने जानकारहरू बताउँछन्।
१२ वैशाखको ७.८ म्याग्निच्यूडको भूकम्प र त्यसपछि आएका कम्पनहरूले खल्बल्याएका र चिरा परेका पहाडहरूमा पानी पर्दा ठूला पहिरो जाने, नदीहरू थुनिने, हिमतालहरू फुट्ने लगायतका जोखिमका विषयमा हिमाल ले आवरण रिपोर्ट प्रकाशित गरेको थियो।
त्रिवि भूगोल विभागका प्रा.डा. विष्णु डंगोल ताप्लेजुङको पहिरोलाई महाभूकम्पले निम्त्याएको खतराको संकेतको रूपमा लिएर सावधानी अपनाउनुपर्ने बताउँछन्।