ब्लगबुधबार, आषाढ २, २०७२
कस्तो नयाँ शक्ति ?
हामीले जन्माउने नयाँ शक्ति राजनीतिक दललाई टक्कर दिन होइन, उनीहरुलाई खबरदारी गर्ने हुनुपर्छ ।
केही समयदेखि नेपालमा नयाँ शक्तिको बहस चलिरहेको छ । खासगरी एमाओवादी नेता बाबुराम भट्टराई र पत्रकार रविन्द्र मिश्र लगायतका व्यक्तिले यो बहस शुरुवात गरेको देखिन्छ तर, पृष्ठभूमिमा थुप्रै पेशा र क्षेत्रसंग जोडिएका व्यक्तिहरुले यो बहसमा भाग लिएका छन् । पछिल्लो समय युवाहरु पनि यो वहसमा सहभागी हुँदैछन् ।
खासगरी बाबुराम भट्टराई प्रधानमन्त्रीबाट च्यूत भएपछि नयाँ शक्तिको बहस जन्मेको हो । जनताले माओवादीबाट आशा त्यागिसकेको अवस्थामा नयाँ शक्तिको कुरा गर्न थालेका एमाओवादी उपाध्यक्ष भट्टराई अहिले पनि यो बहसमा मलजल गरिरहेका भेटिन्छन् । तर, उनी आफैंमा स्पष्ट छैनन् । पार्टीभित्रको अन्तरसंघर्ष चर्किदा उनले आफ्नो समूह (गुट) नै नयाँ शक्तिको भएको बताइसकेकाले पार्टी नेतृत्व हत्याउनु नै भट्टराईका लागि ‘नयाँ शक्ति’ भएको बुझ्न्छि ।
राजनीतिक पार्टीहरुको जनविश्वास गुम्दै गएपछि एकखाले नागरिक तप्का पनि नयाँ शक्तिको पक्षमा देखिएको छ । त्यसैगरी यो वा त्यो बहानामा राजनीतिक दलबाट अलग भएकाहरु समेत यो बहसमा संलग्न हुनुले नयाँ शक्तिलाई पुराना नेताहरुले नयाँ पुस्ता घुमाउने अस्त्रको रुपमा प्रयोग गर्न खोजेको देखिन्छ । यसबाट युवा पुस्ता सचेत बन्नुपर्छ ।
साँच्चिकै आवश्यक
नयाँ शक्ति खासगरी बाटो विराएका दलहरुलाई सही मार्गमा ल्याउन भूमिका खेल्नेगरी स्थापना हुनु आवश्यक छ । दलीय खिचातानी र मनपरी रोक्न जनताको एकता अनिवार्य छ ।
प्रत्यक्ष राजनीतिमा नजोडिएका तर केही गर्न चाहिरहेका युवालाई समेटेर नयाँ शक्तिको स्थापना गर्ने हिम्मत गर्ने बेला आएको छ । अहिले आफ्नै पार्टीको आलोचना गर्ने युवा नेतृत्व चाहिएको छ, ताकी त्यो ठूलो हिस्सा नै चुनावमा निर्णायक शक्ति बन्न सकोस् अनि सत्यलाई जिताउन र असत्य गलहत्याउन सफल बनोस् ।
हामीले जन्माउने नयाँ शक्ति राजनीतिक दललाई टक्कर दिने, दलहरुको सूची बढाउने हुनुहँदैन । नयाँ शक्ति यो वा त्यो बहानामा केही ब्यक्तिलाई कुर्सीको हकदार बनाउनका लागि पनि हुनुहँुदैन । नयाँ शक्ति त दलहरुको खवरदारीको लागि हुनुपर्छ ।
नयाँ शक्ति दलहरुका सही क्रियाकलापलाई समर्थन गर्न र गलत प्रवृत्ति निरुत्साहित गर्नका लागि हुनुपर्दछ । नयाँ शक्ति आन्दोलन, बन्द, धर्नाको लागि होइन, विकासको मूल फुटाउन अनि युवा पलायन रोक्नका लागि हुनुपर्दछ ।
सम्भव छ त ?
एकदमै सम्भव छ । राजनीतिक दलहरुको पछिल्ला गतिविधीहरुबाट रुष्ट एउटा ठूलो जमात छ । ऊ चाहना वा रहरले राजनीतिक दललाई खुलेर समर्थन गरिरहेको छैन । बाध्यताले दलीय कार्यकर्ताको रुपमा देखिएको छ ।
यो जमात कर्मचारी सरुवा–बढुवाका लागि समेत राजनीतिक पार्टीको छाता ओढ्न बाध्य छ । झन्ै स्वतन्त्र हुनुपर्ने पत्रकार पनि यसबाट अछुतो छैनन् । यस्तो प्रवृत्ति तोड्न पनि नयाँ शक्तिको आवश्यकता देखिन्छ ।
नयाँ शक्ति देशभरका स्वतन्त्र नागरिकहरुको साझा मोर्चाको रुपमा उदाउनु पर्छ । कमसेकम राजनीतिक दलको ‘ह्वीप’ नलाग्ने नागरिकलाई नयाँ शक्तिमा समेट्दा यसको प्रभावकारिता बढ्छ ।
पहिलो चरणमा देशभरका स्वतन्त्र नागरिकलाई नयाँ शक्तिको अवधारणाका विषयमा जानकारी गराउन सकिन्छ । नयाँ शक्ति के हो ? किन जन्मिदैछ ? किन सक्रिय बन्ने भन्ने कुरा बुझाउनु पर्छ । आम जनता यसबारे प्रष्ट भइसकेपछि यसलाई ‘स्वतन्त्र नागरिक मञ्च’ का रुपमा संगठित गर्न सकिन्छ ।
यस्तो मञ्चको स्थापनासँगै थुप्रै पेशागत संस्था जन्माउन सकिन्छ । जस्तै, स्वतन्त्र कर्मचारी मञ्च, स्वतन्त्र विद्यार्थी मञ्च, स्वतन्त्र मजदुर मञ्च, स्वतन्त्र पत्रकार मञ्च । तर, यी संगठन स्वायत्त हुनुपर्छ ।
पार्टी होइन पहरेदार
नयाँ शक्ति नयाँ पार्टी नै हो भन्ने भ्रमका कारण राजनीतिक दलहरुबाट असहयोगको अवस्था आउन सक्छ । दलहरुलाई यो छुट्टै पार्टी बन्न खोज्यो भन्ने भ्रम पर्नसक्छ । नयाँ शक्ति नयाँ पार्टी नभई स्वतन्त्र नागरिकहरुको संगठित रुप हो भन्ने बुझाउनु नै मुख्य चुनौती हो । यो त राष्ट्रको पहरेदार संस्थाको रुपमा उदाउनुपर्छ ।
तर, यसो भनिरहँदा नयाँ शक्ति अहिलेको नागरिक समाज जस्तो सेरेमोनियल र दलको भ¥याङ्ग मात्र हुनुपर्छ भन्ने बिल्कुल होइन ।
(भूसाल अर्घाखाँचीका पत्रकार हुन् । )