थप समाचारबुधबार, आषाढ २, २०७२
‘नेपालको महाभूकम्प’ बजारमा
८२ बर्षअघि मुलुकले भोगेको महाभूकम्पबारे ब्रह्म शम्शेरले लेखेको ‘नेपालको महाभूकम्प १९९०’ पुनःप्रकाशन गरिएको छ ।
लेखकको आग्रहपछि २०४१ सालमा तेश्रो संस्करण प्रकाशित गर्ने सहयोगी प्रेससँगको समझदारीमा पब्लिकेशन नेपालयले यसको चौथो संस्करण तयार पारेको हो ।
यो पुस्तक बजारमा आएपछि सहयोगी प्रेस र चौथो संस्करणका प्रकाशक पब्लिकेशन नेपालयद्वारा दिवंगत लेखक ब्रम्हशम्शेरका नाममा भूकम्प पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ जम्मा गरेको छ ।
भौगर्भिक कारणले गर्दा भूकम्पका निम्ति संवेदनशील मानिने नेपालमा पहिलो लिखित दस्तावेज बनेको यो पुस्तकले ९० सालको घटना वर्णन मात्र होइन, मोटामोटी प्रत्येक सय वर्षको अन्तरालमा हाम्रो भूमिमा ठूलो कम्पन उत्पन्न हुँदै आएको उल्लेख गरेको छ ।
यो पुस्तकलाई यसको प्रस्तुती, विविधता र भविष्यका निम्ति मार्गदर्शनजस्ता कुराहरुले गर्दा विद्वानहरुले महत्वपूर्ण ठहर गर्दै आएका छन् ।
‘कति वर्षको लडाइँले हानी गर्न नसक्ने तीन मिनेटको भूकम्पबाट छिनभरमै हुनआयो,’ पुस्तकको भूमिकामा लेखकले भनेका छन्, ‘१९८० सालमा जापानमा पनि ठूलो भूकम्पको मार पर्नगयो परन्तु जापानीहरुले त्यसबाट झन् फायदा उठाए । जापानी जातिको दृष्टान्त लिई यस्ता वखतमा पनि सबै देश औ जातिको भलाई पट्टि लागे भने हाम्रो देश पनि केको कम्ति होला र ?’
अब उपरान्त यस्तो भूकम्पले गर्ने क्षतिबाट कसरी जोगिन सकिन्छ भनेर लेखकले पुस्तकमा थुप्रै सुझाव भावी पुस्ताका निम्ति भनेर दिएका छन् । जसलाई हामीले कहिल्यै मनन् गरेनौं ।
‘भुइँचालोभन्ने शब्द नै नेपाली जनजिब्रोमा नभएको बेला ९० सालको भुइँचालो हामीले बेहोरेका थियौं,’ चौथो संस्करणका भूमिका लेखक एवं सँस्कृतिविद् सत्यमोहन जोशी भन्छन्, ‘‘भएभरका सरकारी अभिलेख जम्मा गरेर निकै मिहिनेतपूर्वक लेखिएको यस्तो महत्वपूर्ण पुस्तकलाई बेवास्ता गरेकैले हामीले फेरि ठूलो नोक्सानी भोग्नुपरेको छ ।’’
पुनः प्रकाशनका निम्ति आएको बेला लेखकमा एउटै इच्छा ‘यो सदैव सबैले सहजै पाउने व्यवस्था होस्’ भन्ने रहेकाले उतिबेला आफूले छापेको र अहिले फेरि बजारमा यसको माग देखिएकाले यसको अभिभारा पब्लिकेशन नेपालयलाई सुम्पिएको सहयोगी प्रेस बताउँछ ।
‘‘आफ्नो कृति भविष्यका पाठकले पढुन् र इतिहासको शिक्षा ग्रहण गरुन् भन्ने दिवंगत लेखकको सदाशय यसले कदर गर्ने हामीले विश्वास लिएका छौं,’’ पब्लिकेशन्स नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘‘पाठक जिज्ञासालाई सक्दो बढी मेट्नका निम्ति हामीले चौथो संस्करणमा भूकम्पको चार वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशम्शेरले खरिको बोटमा दिएको ऐतिहासिक भाषण पनि समेटेका छौं ।’’ पुस्तकको मूल्य दुई सय ७५ रुपैयाँ राखिएको छ ।