रमझमबिहीबार, आषाढ ३, २०७२
संविधानसभाबाट स्कूलतिर
पढेकाहरूबाट हेपिएकी पूर्वसभासद् शान्ता चौधरी (३५) ले कक्षा ८ मा नाम लेखाएकी छन्।
‘भाँडा माझ्दा–माझ्दै संविधानसभामा आएकी’, पहिलो संविधानसभामा नेकपा (एमाले) बाट समानुपातिक सभासद् चुनिएपछि लक्ष्मीपुर–४, दाङकी शान्ता चौधरीले पाएको पहिलो प्रतिक्रिया यही थियो। संसद्मा उनी प्राकृतिक स्रोत–साधन समितिकी सभापति समेत बनिन्। नपढेकी सभासद् भन्दै हेप्नेहरूमा कतिपय सभासद् पनि थिए। अनि शान्तालाई लाग्थ्यो, ‘पढे–लेखेकी भइदिएको भए हेपिनुपर्ने थिएन।’
१८ वर्षसम्म कम्लहरी जीवन बिताएकी शान्ताले उतिवेला चाहेर पनि पढ्न पाउने कुरै थिएन। फेरि कम्लहरीबाट मुक्ति पाएसँगै भूमिहीनहरुको आन्दोलनमा होमिएकी शान्तालाई त्यसपछिका दिनमा राजनीतिले डोर्यायो। त्यहीबीचमा उनले ६ महीने प्रौढ कक्षा मार्फत सावाँअक्षर छिचोलिन्। र अहिले घर नजिकैको ‘उमावि डाँडागाउँ गोग्ली’ मा कक्षा ८ मा भर्ना भएकी छन्, ‘इन्ट्रान्स’ पास गरेर। शान्ता भन्छिन्, “सानोमा आर्थिक अभावका कारण पढ्न पाइनँ, अहिले पैसा, समय मिलेका वेला छुटेको ज्ञान लिइहालौं भनेर पढ्न थालेकी हुँ।”
शान्ताले विद्यालय जाने विचार सुनाउँदा पहिले त छोरा अनिल (कक्षा ९) र छोरी बिनु (कक्षा ७) लाई नै आश्चर्य लाग्यो। त्यसपछि हाँस्ने पालो शिक्षकहरूको थियो। “तर, अहिले ‘पढेपछि जानिन्छ, ठीक गर्नुभयो’ भन्न थाल्नुभएको छ”, उनी भन्छिन्। अहिले उनी छात्रा बस्ने लहरको पाँचौं बेञ्चमा स–साना नानीहरुको बीचमा बसेर लेख–पढ गर्छिन्। छेउमा बसेका अञ्जली योगी (१२) र ईश्वरी डाँगीले शान्तालाई पढाइमा सहयोग गर्ने वाचा गरेका छन्।
छोरासँगै एसएलसी परीक्षा दिने रहर भए पनि व्यस्तताका कारण एक वर्ष ढिलो हुन गएकोमा थोरै पछुताएकी शान्ताले दुई वर्षअघि आफ्नै जीवनी ‘कम्लहरीदेखि सभासद्सम्म’ लेखेकी थिइन्। पुस्तकमा उनको संघर्षको कथाव्यथा छ। त्यसो त यसबीचमा पाठेघरमा क्यान्सरको लडाइँ पनि उनैले जितिन्। यो त ज्ञानको यात्रा हो, जहाँ हिंड्नु नै गन्तव्य भेट्नुसरह हो।
देविका घर्ती मगर