समाचारआइतबार, आषाढ ६, २०७२
कोइरालाद्वारा मोदीलाई योग दिवसमा शुभकामना
प्रधानमन्त्री सुशील कोइरालाले पहिलो अन्तर्राष्ट्रिय योग दिवसका उपलक्ष्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई तथा शुभकामना दिएका छन् ।
आज एक सन्देश पठाउँदै प्रधानमन्त्री कोइरालाले भारतीय प्रधानमन्त्री मोदीलाई उनले गतवर्ष संयुक्त राष्ट्र सङ्घमा गरेको पहलबाट यो दिवस सम्भव भएको र नेपाल यसको सुरुवाती समर्थक भएको बताएका छन् ।
सन्देशमा उनले गतवर्ष डिसेम्बर १४ मा १७७ देशले समर्थन गरी संयुक्त राष्ट्र सङ्घको महासभाले जुन २१ लाई योग दिवस घोषणा गर्नु उत्साहजनक भएको र यसले योगको लाभलाई विश्वमा पहिचान दिलाएको पनि उल्लेख गरेका छन् ।
हजारौँ वर्ष अगाडि हाम्रो क्षेत्रमा उद्गम भएको योग मानसिक तथा आध्यात्मिक प्रचलनको रुपमा रही यस क्षेत्रको सांस्कृतिक पहिचानको रुपमा रहेको पनि प्रधानमन्त्री कोइरालाले बताएका छन् ।
नेपाल पनि सताब्दियौँदेखिको यो प्रचलनको भागिदार रहेको र प्राचीनकालदेखि नै सन्त र महात्माहरुको ज्ञानको खोजीको स्थल रहेको विचार कोइरालाले व्यक्त गरेका छन् ।
सरकारी पदाधिकारी योगाभ्यासमा
सधैँभरि प्रशासनिक कार्यव्यस्ततामा रहने मुख्य सचिव लीलामणि पौड्याल ६ असार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिसरमा सबेरै योगाभ्यास प्रदर्शन गरे ।
पहिलो अन्तर्राष्ट्रिय योग दिवसका उपलक्ष्यमा स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रम तथा राष्ट्रिय योग दिवसको प्रतीकचिह्न घोषणासभामा उनले योगाभ्यासको कठिन मयूर आसन लामो समयसम्म गरेर देखाए । समारोहमा उपस्थित सबैलाई सूर्य नमस्कारलगायत विभिन्न खाले योगाभ्यास गराइएको थियो ।
संयुक्त राष्ट्र सङ्घले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मान्यता प्रदान गरेको छ । नेपालले यसअघि नै प्रत्येक वर्ष पुस १३ गते राष्ट्रिय योग दिवस मनाउने घोषणा गरिसकेको थियो । केही संस्थाले भने शिवरात्रिका दिन योग दिवस मनाउने गरेका थिए ।
अहिले योगदर्शन विश्वभर फैलिएको छ । योगले जीवनलाई उत्कृष्ट बनाउन, तनावलाई कम गर्न, चित्त सफा तुल्याउन र संस्कार संस्थापित गर्न योगदान पुर्याउँछ ।
खानपिन र जीवनशैलीमा आएको परिवर्तनसँगै योग साधना अहिले समाजको अपरिहार्य आवश्यकता बन्न पुगेको छ ।
योगले मानिसको मन, मस्तिष्क र समाजलाई जोड्ने काम गर्नाका साथै तन र मनलाई निरोगी बनाउने भएकाले यसको महिमा बढी नै रहेको योगसाधक राजु अधिकारी बताउँछन ।
कार्यक्रमको उद्घाटन गर्दै मुख्य सचिव पौड्यालले शारीरिक र मानसिक सु-स्वस्थ्य कायम राख्नका साथै व्यक्ति र समाजमा सुख, शान्ति, सद्भाव र समृद्धि दिलाउन योगाभ्यासले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
उनले योगसम्बन्धी अनुसन्धान गर्न र तालिम दिन स्वतन्त्र संस्था स्थापनाका लागि आगामी बजेटमा कार्यक्रम ल्याउन मन्त्रालयका अधिकारीलाई निर्देशन दिए ।