अन्तर्वार्ता/विचारसोमबार, आषाढ ७, २०७२
‘सदस्यसचिवको अधिकार कटौती गर्छु’
३२ जेठमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निमित्त सदस्यसचिव नियुक्त शकुन्तला नगरकोटी भन्छिन्, “शुरुमा खेलकुद विकास ऐन संशोधन गर्छु, अनि अरु योजना बनाउँछु ।”
राखेपको नेतृत्व तपाईंलाई दिनुको कारण के हो ?
२०४६ सालताका म कबड्डी र भलिबलको राष्ट्रिय खेलाडी थिएँ । त्यसपछि खेलकुदसँग सम्बन्धित विभिन्न संघ संस्थामा आवद्ध रहेर काम गरें ।
पछिल्लो एक वर्षयता राखेपकै सदस्यको भूमिकामा छु । मेरो कामलाई मूल्यांकन गरेरै जिम्मेवारी दिइएको हुनुपर्छ ।
तपाईंका योजना के के छन् ?
सबैभन्दा पहिले त परिषद्लाई पूर्णता दिनेछु । त्यसपछिको परिषद्को बोर्ड बैठकले विस्तृत योजना तय गर्नेछ । खेलकुद विकास ऐन संशोधनमा लाग्नेछु ।
समस्या ऐनमै हो कि व्यक्तिमा ?
कार्यविभाजन, पदाधिकारीको जिम्मेवारी, खेलाडीको सेवा सुविधा, एकेडेमी लगायतका विषयमा ऐन संशोधन गरिनै पर्छ । त्यसका लागि मस्यौदा बन्दैछ । अर्को कुरा चाहिं ऐनले सदस्यसचिवलाई तानाशाही बन्ने मौका दिएको छ । त्यसलाई कटौती गर्नुपर्नेछ ।
अघिल्लो सदस्यसचिवका पालामा थालिएका कामबारे के सोच्नुभएको छ ?
खेलकुद विकासका लागि गरिएका राम्रा कामलाई निरन्तरता दिनेछु । राजनीतिक स्वार्थ प्रेरित काम छन् भने त्यसलाई खारेज गर्छु ।
राखेपमा दलीय हस्तक्षेप नरोकिएसम्म मुलुकको खेल क्षेत्रको विकास कसरी होला ?
तपाईंको कुरासँग असहमत छैन । तर, सदस्यसचिवको नियुक्ति नै मन्त्रिपरिषद्बाट हुने भएपछि राजनीतिक प्रभाव देखिनु अस्वाभाविक पनि होइन ।
तर खेल क्षेत्र बुझेको मान्छे हुने हो भने फरक नपर्ला । मेरै कुरा गर्नुहुन्छ भने म खेलाडी पृष्ठभूमिबाटै आएकी हुँ । मेरो ध्यान अन्यत्र छैन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
