थप समाचारमंगलबार, आषाढ ८, २०७२
ब्युँतन्छ पर्यटन
महाभूकम्पबाट धरासायी बनेको नेपाली पर्यटन ब्युँताउन विश्वभर भइरहेको ‘नेपाल घुम्न जाऊँ’ प्रचार उत्साहजनक छ।
– डम्बरकृष्ण श्रेष्ठ
नयाँ–नयाँ तारे होटल, अन्तर्राष्ट्रिय विमानस्थल र अरू पूर्वाधार निर्माणका कारण नेपाली पर्यटनमा निकै फलदायी हुने आशा गरिएको २०७२ साल शुरू हुँदाहुँदै महाभूकम्प आइलाग्यो। १२ वैशाखको महाभूकम्पको धक्काले अकस्मात् रु.८१ अर्ब बराबरको विनाश गरिदिएपछि नेपाली पर्यटन क्षेत्र मूर्झाउन थालिहाल्यो। भूकम्पले धेरै होटललाई बस्न असुरक्षित बनायो भने त्यसपछिका परकम्पहरूले बुकिङ रद्द गर्ने क्रमलाई बढाइदियो।
सरकारी र निजी दुवै क्षेत्र मिलेर पञ्चवर्षीय पर्यटन कार्ययोजना बनाउँदै तथा शेराटन, मेरियट जस्ता विश्वप्रसिद्ध तारे होटलहरू आउँदै गरेको अवस्थामा महाविनाशको परिपूर्ति तत्काल नहुने भए पनि यो क्षेत्रलाई ब्युँताउन भने गाह्रो छैन।
विश्वभरका नेपाली, मिडिया र अन्तर्राष्ट्रिय संघ–संस्थाले चलाएको ‘नेपाललाई सहयोग गर्न चाहनुहुन्छ भने नेपाल घुम्न जानुस्’ भन्ने प्रचारको गति तथा परिणामलाई हेर्दा यस्तो आशा सजिलै गर्न सकिन्छ। सगरमाथाको आरोहणको कथा समेटिएको हलिउड फिल्म एभरेष्ट यही वेला विश्वभर ‘रिलिज’ हुँदैछ। यसले पनि नेपाली पर्यटनलाई लिएर सकारात्मक सन्देश जानेछ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाका अनुसार, महाभूकम्पका कारण पर्यटन क्षेत्रले रु.८१ अर्ब बराबरको क्षति बेहोरेको छ। रु.१९ अर्बको त भौतिक क्षति नै भएको छ। १५ प्रतिशत होटलमा क्षति पुगेको छ भने ७४१ सम्पदा, १५०० गुम्बा र ३५० किलोमिटर पदमार्ग क्षतिग्रस्त छन्। यिनको पुनःनिर्माणमा रु.४१ अर्ब लाग्ने अनुमान छ। नेपाल आउन लागेका करीब दुई लाख पर्यटकले महाभूकम्पपछि कार्यक्रम रद्द गरे। यो वर्ष (२०१५ मा) मा पर्यटक आगमन ४० प्रतिशतले घट्ने प्रक्षेपण हुँदाहुँदै पनि यतिका पर्यटकले नेपाल आउन होटल बुक गरेका थिए।
२०७२ मा संविधान बनेर राजनीतिक अस्थिरताको अन्त्य होस् भन्दै पर्यटन व्यवसायीहरूले गरेको आशा पूरा हुने क्रममा छ। नेपाल होटल व्यवसायी संघ (हान) का महासचिव विनायक शाहका अनुसार, महाभूकम्प अघि देशभरका ठूला शहरमा रु.५३ अर्बको लगानीका नयाँ होटलहरू बनिरहेका थिए। यस्तो ‘बुम’को अवस्थामा फर्कन पर्यटक संख्या नबढाई नहुने शाह बताउँछन्।
पर्यटनविद् कर्ण शाक्य साहसिक पर्यटनका लागि नेपाल आउनेहरूलाई भूकम्पले केही असर नपार्ने बताए। “सरकारले साहसिक पर्यटनलाई ध्यान दिएर कार्यक्रमहरू ल्याए एक/दुई वर्षमै धेरै प्रगति हुनसक्छ”, शाक्य भन्छन्।
नेपाली पर्यटनको विशाल सम्भावना भए पनि विश्वसामु प्रस्तुत गर्नै नसकिएको अवस्थामा महाभूकम्पपछिको माहोलले त्यो अवसर सिर्जना गरेको छ। यो वेला प्राचीन गाउँ–शहरका मौलिक कला, संस्कृति–संस्कार, जीवनशैली तथा हिमाल आरोहण, ट्रेकिङ, साहसिक पर्यटनसँगै जंगल सफारीका लागि समेत नेपाल उत्कृष्ट छ भनेर विश्वव्यापी प्रचार गर्नुपर्छ।
माउन्टेन बाइक, बञ्जीजम्प, रक क्लाइम्बिङ, र्याफ्टिङ, कायकिङ, चरा अवलोकन आदिलाई ‘फोकस’ गरेर कार्यक्रम ल्याउनुपर्ने पर्यटनविद् शाक्य बताउँछन्।
सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको योजना सफल पार्न पनि भूकम्पपछिको प्रचारलाई तीव्र बनाउनुपर्नेछ। त्यसका लागि नयाँ क्षेत्रीय विमानस्थल निर्माण र काठमाडौं विमानस्थलको मर्मतसम्भार सक्नुपर्नेछ। यी दुई विमानस्थल चौबीसै घन्टा सुचारु हुने अवस्थाले आयस्तर बढेर घुम्न थालेका भारतीय र चिनियाँ पर्यटकलाई नेपालतिर तान्न सहयोग पुर्याउनेछ। पर्यटन मन्त्रालयका प्रवक्ता सापकोटा भन्छन्, “भैरहवा क्षेत्रीय विमानस्थल मात्रै समयमा पूरा भए पनि २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुन सक्छ।”
आशालाग्दो संकेत
महाभूकम्पपछि पनि लाङटाङ र मनास्लु बाहेक सबै पदयात्रामार्ग सुरक्षित छन्। गोरखाको घलेगाउँ र सिउरुङवासीले परकम्पहरूकै बीचमा पनि क्रमशः २३–२४ वैशाख र १३–१४ जेठमा महोत्सवै आयोजना गरेर साहसिक पर्यटनका लागि विश्वमै उत्कृष्ट अन्नपूर्ण क्षेत्र सुरक्षित रहेको सन्देश दिए। लुम्बिनी, पोखरा र चितवनको सौराहामा महाभूकम्पको कत्ति पनि प्रभाव छैन।
काठमाडौं उपत्यकाका विश्व सम्पदा बौद्धनाथ, स्वयम्भूनाथ तथा काठमाडौं, पाटन र भक्तपुर दरबार क्षेत्र सामान्य मर्मतपछि पर्यटकका लागि खुला भइसकेका छन्। पर्यटकस्तरका धेरैजसो होटल सुरक्षित छन् भने संचार, ब्यांकिङ, स्वास्थ्य, गाइड लगायतका पर्यटकलाई चाहिने सेवा सुचारु छन्।
महाभूकम्पको समाचारलाई विश्वभरका मिडियाले प्राथमिकता दिनु स्वाभाविक थियो, जसको नकारात्मक असर नेपालको पर्यटन क्षेत्रमा पर्यो। भूकम्पनपछिको हिमपहिरोले सगरमाथा आधार शिविरमा चार जना विदेशी र १४ जना नेपालीको ज्यान लियो।
आरोहणको सिजनमा हिउँपहिरो जान थालेपछि बेसक्याम्पमा पुगेका सबै आरोही फर्किएको समाचारले पर्यटनमा असर पार्यो। तर, महाभूकम्पको दुई महीनापछि स्थिति बदलिएको छ र प्रचार पनि त्यही अनुसार भइरहेको छ।
विश्वका प्रमुख २५ पर्यटकीय गन्तव्यमा परेको काठमाडौंका सम्पदा महाभूकम्पबाट तहसनहस भएको छ र पुनःनिर्माणमा समय लाग्ने नै छ। तर, कम्तीमा भारतीय र चिनियाँहरूलाई पर्यटनका लागि काठमाडौं सुरक्षित रहेको सन्देश दिन सक्दा पनि नेपालको बाह्रमासे पर्यटन ब्युँतिन सक्नेछ। त्यसबाहेकका मुलुकका पर्यटक मूलतः असोज, कात्तिक, मंसीर, फागुन, चैत र वैशाखमा नेपाल आउने हुन्।
पर्यटन मन्त्रालयले बनाउँदै गरेको पर्यटन कार्ययोजनामा नीतिगत सुधार, संस्थागत पुनर्संरचना, सडक यातायात र हवाईसेवादेखि हस्पिटालिटी सेवासम्मको सुधार तथा विस्तारका रणनीति छन्। महाभूकम्पपछि पनि कायम रहेको कार्ययोजना अनुसार, ‘नेचुरल्ली नेपाल’ ब्रान्डको पुनरावलोकन गर्दै विभिन्न क्षेत्र तथा ठाउँविशेषको नयाँ ब्रान्डिङ गरेर विश्वव्यापी प्रचार गर्ने रणनीति छ।
“अब प्राकृतिक–सांस्कृतिक महत्वका वस्तुहरूको संरक्षण, विकास र उपयोगसँगै ध्वस्त संरचना पुनःनिर्माणमा जोड दिइनेछ”, पर्यटन मन्त्रालयका प्रवक्ता सापकोटा भन्छन्, “स्थानीयको सहभागितामा संचालन हुने पर्यटन योजना यथावत् छन्।”
‘एभरेष्ट’ को साथ
महाभूकम्पका कारण सिंगो देश नै ध्वस्त भयो भन्ने गलत प्रचार विश्वभर फैलिरहेका वेला सगरमाथाको विषयमा बनेको र नेपाली कलाकार समेत रहेको हलिउड चलचित्र ‘एभरेष्ट’ को टे«लर सार्वजनिक भएको छ । यसले महाभूकम्पका कारण ‘हेडलाइन’ बनेको नेपालप्रति अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराउने नै छ ।
१०–११ मे १९९६ मा सगरमाथा आरोहण गर्ने क्रममा हिमआँधीमा परेर आठ आरोहीले ज्यान गुमाएका थिए । ‘१९९६ माउन्ट एभरेष्ट डिजास्टर’ नामले चर्चित उक्त दुर्घटनामा आधारित चलचित्र ‘एभरेष्ट’ आउँदो सेप्टेम्बरमा रिलिज हुँदैछ । यसको टे«लर भने २१ जेठमा सार्वजनिक गरियो । बाल्टासर कोर्माकुर निर्देशित थ्रीडी भर्सनको यो चलचित्रमा जेक गाइनेलहाल, ज्यासन क्लार्क, जोस ब्रोलिन, एमिली वाट्सन जस्ता प्रख्यात कलाकारसँगै नेपाली अभिनेता विजय लामाले काम गरेका छन् ।
सगरमाथा आधार शिविरदेखि इटाली र बेलायतसम्म खिचिएको ‘एभरेष्ट’ को टे«लरमा महाभूकम्पको चपेटामा परेको नेपाललाई सहयोग गर्न आह्वान गरिएको छ । युनिभर्सल पिक्चर नामक अमेरिकी फिल्म स्टुडियोले भूकम्पपीडित नेपालीलाई सहयोग गर्ने ट्रेलरमा उल्लेख छ । ‘एभरेष्ट’ टीमले पनि अक्सफाम अमेरिकासँग मिलेर भूकम्प प्रभावित ठाउँको आवश्यकता पूर्तिमा काम गर्ने जनाएको छ । टेलरको अन्त्यमा फिल्मको मुनाफाको केही हिस्सा नेपालको ध्वस्त संरचना पुनःनिर्माणमा खर्च हुने पनि उल्लेख छ ।
साथमा सजना बराल