थप समाचारमंगलबार, आषाढ ८, २०७२
‘ग्राउण्ड जिरो’ धरहरा
कर्ण शाक्य
नेपालमा धेरैजसो हिमाल आरोहण, बञ्जीजम्प, पदयात्रा, र्याफ्टिङ लगायतका साहसिक पर्यटक आउने हुनाले महाभूकम्पपछि पर्यटन खत्तम भयो भन्ने भनाइमा सत्यता छैन। त्यसबाहेक, प्राकृतिक प्रकोपपछि ‘डिजास्टर टुरिज्म’ शुरू हुन्छ। यसलाई म ‘रेस्क्यू टुरिज्म’ वा परोपकारी पर्यटन भन्न रुचाउँछु।
अहिले जति विदेशी नेपाल आइरहेका छन्, उनीहरू कि त उद्धारका लागि कि भूकम्पपीडितलाई सहयोग गरौं भनेर आएका छन्।
साहसिक पर्यटनका लागि आउनेहरू भूकम्पबाट तर्संदैनन्, त्यसकारण पर्यटक संख्यामा समस्या छैन। अर्को, यहाँ सबै कुरा बिग्रिएका पनि छैनन्। ट्रेकिङ भनेको नक्शा नकोरिएको ठाउँमा पुग्नु भएकोले रुट बिग्रिए पनि पदयात्रा रोकिंदैन। भूकम्पले पदयात्रा र हिमाल आरोहणमा केही बिगार्दैन।
आन्तरिक पर्यटन भने खस्किएकै छ। आन्तरिक पर्यटनको मुख्य केन्द्र पोखरा सुनसानै भएको छ। मान्छेहरू निकै डराएकाले आन्तरिक पर्यटन जुर्मुराउन एक वर्षजति लाग्छ।
भत्किएका सांस्कृतिक सम्पदा र संरचनाहरूको पुनःनिर्माण पर्यटनका लागि मात्रै नभएर राष्ट्रिय मनोबल उकास्न पनि आवश्यक छ। हाम्रा थुप्र्रै टोल/बस्ती अव्यवस्थित छन्। भूकम्पपछि त्यस्ता टोल/बस्तीमा सास फेर्न समेत मुश्किल भएको अवस्था छ। ती बस्तीहरूलाई व्यवस्थित गर्न सबै अग्रसर हुनुपर्छ।
युनेस्कोको विश्व सम्पदा सूचीमा परेका हाम्रा सम्पदाहरू भत्किएका छन्।
तिनको पुनःनिर्माण हाम्रा लागि ज्यादै कठिन छ। किनभने, युनेस्कोको युएन प्रोटोकल १९६४ अनुसार, सम्पदा संरक्षण वा पुनःनिर्माण गर्दा समकालीन निर्माण सामग्री प्रयोग गर्न पाइँदैन। यो अवस्थामा हामीले कतिपय सम्पदालाई पहिलेकै अवस्थामा नल्याउँदा पनि हुन्छ।
जस्तो, फेरि धरहरा नबनाई त्यहाँ स्मृति उद्यान बनाउन सकिन्छ। अमेरिकाले ट्वीन टावरको जग ‘ग्राउन्ड जिरो’ मा स्मारक बनाएको छ। धराहरा भएको ठाउँमा पनि ‘ग्राउन्ड जिरो’ जस्तै बनाए हुन्छ।
ग्राउन्ड जिरोले त ट्वीन टावरलाई अमर बनाइदिएको छ। आज न्यूयोर्क जानेहरू ग्राउन्ड जिरो नघुमी फर्किंदैनन्।
(शाक्य पर्यटनविद् हुन्।)
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
