रमझमबुधबार, आषाढ ९, २०७२
स्वप्न मञ्चमा नेपाली गायन
अनुशील श्रेष्ठ
विश्वकै महँगो ३ हजार ९२९ सीट क्षमताको बेलायतको रोयल अल्बर्ट हल। जहाँ १३ असारमा नेपाली कलाकार प्रस्तुत हुँदैछन्।
विश्वभरका कलाकारको सपनाको मञ्च हो, बेलायतको रोयल अल्बर्ट हल। साउथ लन्डनको केन्जिङटनस्थित यो हल धेरै महँगो त छ नै यसमा कुनै कार्यक्रम गर्नलाई पालो कुर्नै एक वर्षभन्दा बढी समय लाग्छ। यही मञ्चमा १३ असारमा नेपाली कलाकार पहिलोपटक प्रस्तुत हुँदैछन्।
कन्सर्टमा दीप श्रेष्ठ, ओमविक्रम विष्ट, योगेश्वर अमात्य, दीपक थापामगर, जेम्स प्रधान, सुजिल कर्माचार्य, तृष्णा गुरुङ सहित नयाँ पुराना नेपाली कलाकार र वाद्यवादक गरी १७ जनाको समूह प्रस्तुत हुनेछ। सन् १९७४ मा भारतीय गायिका लता मंगेशकरको प्रस्तुति हुँदा त्यसलाई ठूलो कुरा मानिएको थियो।

विश्वकै महंगो ३ हजार ९२९ सीट क्षमताको बेलायतको रोयल अल्बर्ट हल ।
त्यसयताको ४१ वर्षमा जगजीत सिंह, चित्रा सिंह, श्रेया घोषाल लगायतका भारतीय कलाकारले अल्बर्ट हलमा कार्यक्रम गरेका छन्। २९ मार्च १८७१ बाट सञ्चालनमा आएको यो हलमा द बिटल्स, फ्रेंक सिनात्रा, लिजा मिन्नेली, अस्कर पिटरसन, जिमी हेन्ड्रिक्स, द हु, लेड जेप्पेलिन, इरिक क्ल्याप्टन, एल्टन जोन लगायत विश्वप्रसिद्ध कलाकारहरूका कन्सर्ट भएका छन्।
‘एन इभिनिङ फर गोरखा, च्यारिटी फर दी अर्थक्वेक भिक्टिम्स् अफ नेपाल’ नाम दिइएको नेपाली कन्सर्टको लागि हल भाडामै ४५ हजार पाउण्ड (७२ लाख रुपैयाँ) लाग्नेेछ। हेल्प नेपाल नेटवर्क यूकेको संयोजनमा गोरखाका भूकम्पपीडितको सहयोगार्थ हुन लागेको कन्सर्टमा नेपालबाट जाने कलाकारको यातायात लगायतका खर्च पनि जोड्ने हो भने करोड पुग्नेछ।
नेपालको ‘च्यारिटी फण्ड’ का लागि भनेर ३० प्रतिशत छूट दिए पनि यत्रो खर्च लागेको गायक योगेश्वर अमात्यले बताए। ३ हजार ९२९ सीटको हलमा तीन घण्टाको कन्सर्ट हेर्न २५ देखि ७५ पाउन्डसम्म (रु.४ हजारदेखि रु.१२ हजार) तिर्नुपर्नेछ। अमात्य भन्छन्, “नेपालीको यो ऐतिहासिक कार्यक्रममा सबै नेपाली र विदेशी मित्रहरुले साथ दिनेछन् भन्ने आशा गरेका छौं।”
भूकम्पपीडितका लागि सहयोग जुटाउन विश्व प्रसिद्ध हलमा गर्न लागिएको कन्सर्टमा बेलायत बाहेकका युरोपेली मुलुकहरुबाट पनि नेपाली दर्शक–श्रोता सहभागी हुनेे आशा आयोजकको छ। संगीत र परोपकार दुवैका लागि गरिने यो कार्यक्रमले इतिहास रच्ने हेल्प नेपाल नेटवर्कका संस्थापक रवीन्द्र मिश्रले बताए।

रोयल अल्बर्ट हल जहाँ १३ असारमा नेपाली कलाकारहरु प्रस्तुत हुँदैछन् ।
उनका अनुसार, एक वर्षअघिबाटै तयारी भएको यो कन्सर्टको लागि हल पाउन नेपालमा महाभूकम्प आउँदा सजिलो भयो। परोपकारको उद्देश्य भएको कन्सर्टमा धेरै श्रोता–दर्शक सहभागी गराउन बेलायतका नेपाली संघसंस्थासँग सहकार्य गरिएको छ। कन्सर्टको टिकट रोयल अल्बर्ट हलको वेबसाइट धधध।चयथबबिदिभचतजबिि।अय्क मा किन्न सकिनेछ।
कन्सर्टका वाद्यवादकमा अमुल कार्की ढली (सेक्सोफोन र बाँसुरी), रविन कार्की ढली (भ्वाइलिन), सुन्दर मानन्धर (तबला), प्रवीण मानन्धर (ड्रम्स), सन्दिप बराइली (लिड गिटार), प्रवीण दास (बेस गितार) र अन्य गितारमा दीपक थापा र सुजिल कर्माचार्य छन्। कार्यक्रममा नव गायिका तृष्णा गुरुङदेखि पुराना गायक दीप श्रेष्ठ सहितका कलाकारले एउटै मञ्चमा आफ्ना प्रस्तुति दिनेछन्।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
