अन्तर्वार्ता/विचारशुक्रबार, आषाढ ११, २०७२
राष्ट्रपतिमा ‘राजा’ नखोजौं
धर्म र जातिविशेषका कतिपय सांस्कृतिक क्रियाकलापमा राजा जस्तै राष्ट्रपतिको सक्रियता गणतन्त्रकै लागि घातक हुन सक्छ।
२०६२/६३ सालको जनआन्दोलनसँगै शुरू भएको मुलुकको राजनीतिक संक्रमणकाल नयाँ संविधानको निर्माणसँगै सकिंदैछ। २५ जेठमा प्रमुख चार दलबीच सम्पन्न १६ बुँदे सहमतिसँगै नयाँ संविधान निर्माणको गत्यवरोध टुंगिएको देखिन्छ र अब चाँडै नै मुलुकले नयाँ संविधान पाउने आशा पलाएको छ।
नयाँ संविधान शाही निरंकुशता विरुद्ध आन्दोलनरत तत्कालीन संसद्वादी दलहरू र विद्रोही नेकपा माओवादीबीच सम्पन्न १२ बुँदे सम्झौताको सुरक्षित अवतरण हो, जसले मुलुकको राजनीतिक र शासकीय पहिचान बदल्न शुरू गर्यो। तर, पछिल्लो राजनीतिक र शासकीय पहिचान दिगो बनाउन नयाँ संविधान मार्फत केही शासकीय सामाजिक र सांस्कृतिक पक्षमा बदलाव ल्याउन जरूरी छ, जसमा अन्तरिम संविधान चुकेको थियो। संविधानसभाबाट बन्ने संविधानमा त्यसलाई नसच्याउने हो भने गणतन्त्र संस्थागत हुने कुरामा शंका गर्न सकिन्छ।
वेलैमा गल्ती सच्याऊ
देशमा सामान्य नागरिकको छोरो राष्ट्रपति भएको पनि सात वर्ष भइसकेको छ। तर, राजतन्त्र र गणतन्त्र भिन्न चिन्तन र राजनीतिक दर्शनलाई प्रतिनिधित्व गर्ने तत्व हुन् भन्ने चेत गणतन्त्रवादी पार्टीहरूमा नै पसेको देखिएन। गणतन्त्र, राजतन्त्रको उत्तराधिकार ग्रहण गर्ने तत्व होइन भन्ने कुरा व्यवहारमा उतार्न हामीले सकेनौं, बरु उल्टै राजाले गरे झैं सबै कार्य राष्ट्रपतिले गरिदिन्छन् भन्ने सन्देश प्रवाह गर्नतिर लाग्यौं। राजाकै पदचिह्नमा राष्ट्रपतिले नबिराइ हिंड्नु परेको पनि देख्यौं। यदि त्यसो हुने हो भने हामीलाई गणतन्त्र नै किन चाहिन्थ्यो?
कुनै निश्चित जात, धर्म, वंश, थर, लिंगविशेषको उत्तराधिकार प्राप्त व्यक्तिले मात्रै राजा हुने अधिकार राख्दथ्यो। हाम्रो राजतन्त्र पनि यसैगरी चलेको थियो। राजा हुँदा ज्ञानेन्द्रका गोडा धोएर पानी अचाउने र शिरमा चढाउने जस्तो कृत्य पनि देखिएकै हो। राष्ट्रपतिले पनि हुबहु वा प्रतीकात्मक रूपमा राजाले जस्तै गर्नुपर्छ भन्ने अपेक्षा नै अनुचित हो। तर हाम्रो व्यवहार बदलिएको छैन। त्यसो गर्नुहुँदैन भनेर कुनै दल बोल्दैन, सामान्य जनतालाई यथार्थ बताउन पनि कोही अग्रसर हुँदैन। तैं चूप, मैं चूप!
राजा कुमारी घर जान्थे, ढोग चढाउँथे। इन्द्रजात्रामा बसन्तपुर दरबारको बार्दलीमा उभिएर नाचिरहेकाहरूमाथि पैसा छर्थे। नवरात्रिको अवसरमा शक्तिपीठ घुमी–घुमी देवीको दर्शन गर्थे। भोटोजात्राको कथाका पात्र बन्थे। त्यसो गर्नु उनको स्वार्थ थियो। त्यही आधारमा उनी हिन्दूसम्राट कहलिन्थे अनि ढोगिन्थे, पुजिन्थे। ‘प्यारा प्रजा गैह्र के यथोचित’ भन्न पाउँथे र भाषणको अन्त्यमा ‘पशुपतिनाथले हामी सबैको कल्याण गरुन्’ भन्थे। र, आफ्ना प्यारा प्रजा गदगद भए भन्ठान्थे।
तर, अब त त्यो एकादेशको कथा भइसक्यो। देशमा राजा होइन, राष्ट्रपति छन्। उनले न राजा जसरी ‘प्यारा प्रजा गैह्र के यथोचित’ भन्न मिल्छन त हिन्दू वर्णाश्रममा आधारित लट्ठी मात्रै टेकेर हुन्छ। हरेक राष्ट्रपतिले इन्द्रजात्रामा पैसा छर्न, भोटोजात्रामा भोटो दर्शन गर्न, कुमारीलाई ढोग टक्र्याउन र शक्तिपीठमा माथा टेक्दै हिंड्न सम्भव छैन/हुँदैन।
अझ् हाँसोलाग्दो त गोरखा दरबार र आसपासका मठ–मन्दिरबाट काठमाडौं ल्याएर दशैंघरमा भित्र्याइने फूलपाती बढाइँ हो। यो शाहहरूका कुलदेव, कुलदेवी, स्थानीयदेव, गृहदेव आदिको प्रसादको रूपमा तिनै देव–देवीलाई गोरखाबाट काठमाडौं ल्याई शाहहरूको पौरखस्वरूप काठमाडौंमा कीर्ति–पताका फैलिएको परिघटनाको बोध गराउँदै रमिता देखाउने उपक्रम हो।
गोरखनाथ र गोरखकालीलाई राष्ट्रदेव या राष्ट्रदेवी जे भनिए पनि फूलपाती बढाइँ गोरखाली शाहवंशको विस्तारको प्रतीकको रूपमा मनाउन थालिएको नितान्त पारिवारिक पर्व हो। तर, राजा नै राष्ट्र र राष्ट्र नै राजा भन्ने उनीहरूले यसलाई पनि राष्ट्रिय रूप दिए। प्रष्ट छ, राष्ट्रपतिले चाहिं यो कुलपूजा धान्ने चाहना राख्नुहुँदैन। यो कुलपूजा न सबै जातिको हो न राष्ट्रको।
नेताहरूलाई विश्वास गर्ने हो भने देशमा ‘गणतन्त्र’ संस्थागत हुने क्रममा छ। संविधान जारी भएपछि नयाँ राष्ट्रपतिको चुनाव हुनेछ। भोलिका राष्ट्रपति देशभित्रका कुनै पनि जात, धर्म, वंश, लिंग, सम्प्रदाय आदिबाट चुनिनेछन्। राष्ट्रपति बौद्धमार्गी, मुसलमान, इसाइ जो पनि हुनसक्छन्। त्यस्तो अवस्थामा भावी राष्ट्रपतिले राजाले राष्ट्रिय पर्व भनेका र राष्ट्रपतिले समेत निर्वाह गरिरहेको भूमिका अस्वीकार गर्न सक्छन् वा आवश्यक नहुन सक्छ। त्यसतर्फ अहिल्यै ध्यान किन नदिने? गणतन्त्र संस्थागत गर्न नगरी नहुने चीज हो, यो।
अहिलेका राष्ट्रपतिलाई शुरूदेखि नै राजाका उचित, अनुचित कामको भारी बोकाएर ल्याउनु नै गलत थियो। राजाले रोबोट शैलीमा ‘प्यारा प्रजा’ भन्दै दशैं टीका प्रदान गरेझ्ैं गर्ने लोभ राष्ट्रपतिमा पनि देखिनु त्यसैको उदाहरण हो। हिजो राजाले र आज राष्ट्रपतिले जे जस्ता धार्मिक–सांस्कृतिक पर्वका भारी बोक्दै आएका छन् ती तत्तत् सम्प्रदाय विशेषका धर्मगुरुद्वारा गरिनुपर्थ्यो।
कतै भनिदिएर वा लेखिदिएका भरमा गणतन्त्रवादी भइँदैन। गणतन्त्र त आचरण, अभ्यास र प्रतिबद्धता हो। नेताहरू राजतन्त्रको दास मनोवृत्तिबाट कुन हदसम्म मुक्त भए भन्ने प्रमाण पनि हो।
(भट्टराई पूर्व प्रशासक हुन्।)