थप समाचारशुक्रबार, आषाढ ११, २०७२
पाकिस्तानः गर्मीले एक हजार बढीको मृत्यु
पाकिस्तानमा गर्मीका कारण मृत्यु हुनेको संख्या एक हजार नाघेको छ ।
स्थानीय मिडियाका अनुसार कराचीमा मात्रै कम्तीमा पनि ९५० जनाको मृत्यु भएको छ । लू र शरीरमा पानीको कमीका कारण हजारौं मानिसहरु अस्पतालमा भर्ना भएका छन् ।
त्यहाँको एक गैर सरकारी संस्थाले लूका कारण मृत्यु हुनेको संख्या १ हजार ५०० सम्म पुग्ने अनुमान गरेको छ ।
भीषण गर्मीले निम्त्याएको संकटबाट पार पाउनका लागि केही काम नगरेको उल्टो लोडसेडिङ बढाएको भन्दै त्यहाँ सरकारको आलोचना भइरहेको छ ।
अहिले रमजानको महिना चलिरहेको र रोजा (ब्रत) का कारण दिनभर पानी नपिउँदा पनि शरीरमा पानीको कमी हुने गरेको छ । यद्यपी केही धर्म गुरुहरुले कमजोर र वृद्धहरुका लागि रोजा नराखे पनि हुने अपील गरेका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार त्यहाँका पसलहरु धार्मीक कानूनको डरले रोजाका बेला बरफ वा पानी बेच्न डराइरहेका छन् ।
अब वर्षा भएपछि त्यहाँको अवस्थामा सुधार हुने अनुमान गरिए पनि अझै वर्षा हुन सकेको छैन ।